सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज शहरमा अझै बनेनन् सीसी क्यामेरा

बाँके । असोज ४ गते नर्सिङहोम अगाडि दाङकी सीता चौधरीलाई मोटरसाइकलले ठक्कर दियो । वीपीचोकदेखि दक्षिणतिर जादै गरेको मोटरसाइकलले चौधरीलाई ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट चौधरीको मृत्यु भयो । घटनापछि विद्यार्थीले दोषीलाई कारबाहीको माग राख्दै प्रदर्शन गरे । प्रहरीमाथि दबाब बढाए । ठक्कर दिने मोटरसाइकलको भने अहिलेसम्म नम्बर खुल्न सकेको छैन ।

चौधरीलाई ठक्कर दिने मोटरसाइकलको किन पहिचान हुन सकेन ? बाँकेका एसपी बीरबहादुर वली भन्छन्, ‘सडकमा राखिएका सीसी क्यामेरा बिग्रिएकाले मोटरसाइकलको नम्बर पत्ता लाग्न सकेन ।’ यो घटनापछि प्रहरीले सीसी क्यामेरातर्फ ध्यान दियो । बडो उत्साहका साथ जडान गरिएका सीसी क्यामेरा बिग्रिदा कसैले चासो दिएका थिएनन् । चौधरीको जस्तो ‘हिट एण्ड रन’का घटनालाई मध्यनजर राखेर प्रहरीले सीसी क्यामेरा मर्मत थालेको छ ।

नेपालगञ्जका सडकमा जडित ५६ वटा सीसी क्यामेराले अझै काम गरिसकेका छैनन् । चौधरीको घटना हुँदा सडकका ५६ मध्ये ९ वटा क्यामेराले काम गरेका थिए । एपसी वलीका अनुसार, काठमाडौंबाट प्राविधिक बोलाएर ३३ वटा क्यामेरा मर्मत गरिएको छ । अझै २३ वटा मर्मत गर्न बाँकी रहेको छ । अपराध गरेर भाग्ने व्यक्ति र सवारी साधनलाई पत्ता लगाउन र पक्राउ गर्न सहज होस् भनेर सडकमा सीसी क्यामेरा राखिएका हुन् । ५६ वटा सीसी क्यामेरा जडान गर्दा नेपालगन्ज उद्योग बाणिज्य संघको ठूलो योगदान थियो ।

मर्मत गर्न भने उसले उदासिन देखाएको पाइएको छ । नगरमा ५६ बाहेक प्रदेश सरकारले बाँकेको सबै नाकामा १३ वटा सीसी क्यामेरा जडान गरिदिएको छ । एसपी वलीले अझै एक दर्जन ठाउँमा सीसी क्यामेरा जडानको आवश्यकता रहेको बताए । ती ठाउँहरुको पहिचान गरिसकिएको छ । हिट एण्ड रनका घटनाका अभियुक्तलाई उम्किन नदिन बाँके प्रहरीले नम्बर प्लेट स्पष्ट बनाउने अभियान थाल्यो । ४६९ वटा सवारी साधनमा नयाँ नम्बर लेखाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार ०७:३५