सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा जिकेएफसी रेष्टुरेन्ट, विश्व चर्चित केएफसीको स्वाद अब नेपालगन्जमै

बाँके । विश्वकै चर्चित ब्रान्ड केएफसीको स्वाद अब नेपालगन्जमै पाइने भएको छ । नेपालगन्जको चर्चित होटल होटल द ग्यालेक्सी दरबार प्रालिले जिकेएफसी रेष्टुरेन्टको सुरुआत गरेसँगै केएफसी स्वादको झल्को नेपालगन्जमै पाइने भएको हो ।

करिब २ करोड लगानमा सञ्चालनमा आएको रेष्टुरेन्टमा अमेरिकन प्रविधिको प्रयोग गरिएको होटल द ग्यालेक्सी दरबार प्रालिका अध्यक्ष तेजप्रसाद रेग्मीले बताए । नेपालगन्जका उपभोक्ता र पश्चिम नेपाल गुम्न आउने पर्यटकलाई जिकेएफसीले नयाँ र गुणस्तरीय स्वादमा सेवा उपलब्ध गराउने लक्ष्यसहित जिकेएफसीको सुरुआत गरिएको अध्यक्ष रेग्मीले बताए ।

नेपालमा केएफसीलाई मासु उपलब्ध गराउँदै आएको काठमाडौंको भ्याली कोल्ड स्टोरले नै नेपालगन्जको जिकेएफसीलाई मासु उपलब्ध गराउने गरेको छ । रेष्टुरेन्टमा हलाल सर्टिफाई मासुको प्रयोग गरिने अध्यक्ष रेग्मीको भनाई छ । अमेरिकन प्रविधिको प्रयोगले उपभोक्तालाई केएफसी र विश्वका अन्य चर्चित ब्रान्डको झल्को दिने गरी सेवा उपलब्ध गराउने तयारी गरेको रेस्टुरेन्ट सञ्चालक तथा होटल द ग्यालेक्सी दरबारका प्रबन्ध निर्देशक प्रशान्त लामिछानेले बताए ।

रेष्टुरेन्टले हलाल चिकेन, विश्वमै चर्चित वास्किना रविन्सो आइसक्रिम र इलि कफी लगायत नयाँ नयाँ ब्रान्डका भेज तथा ननभेज परीकारको स्वाद नेपालगन्जका सेवाग्राहीलाई पहिलो पटक दिन लागेको प्रबन्ध निर्देशक लामिछानको भनाई छ । उनले नेपालगन्जमा मासुका पारखीहरुलाई लक्षित गर्दै रेष्टुरेन्ट सञ्चालनमा ल्याएकोे बताउँदै अन्तर्राष्ट्रियस्तरको केएफसी ब्रान्डका सबै परिकार अब नेपालगन्जमै उपलव्ध हुने बताए ।

रेष्टुरेन्टको सोमबार उद्घाटन गर्दै प्रदेश सभासद कृष्णा केसी ‘नमुना’ले जिकेएफसीको सुरुआतले नेपालगन्जमा होटेल व्यावसाय फस्टाउँदै गएको संकेत गरेको बताइन् । उनले भनिन्, ‘यहाँ सुविधा, नयाँ स्वाद र प्रविधिको प्रयोग गरेर रेष्टुरेन्ट खुल्दै गएका छन् । यसले यहाँको आर्थिक विकास र होटल व्यवसायलाई सहयोग गर्नेछ । नेपालगन्जमा नयाँ ब्यापार र व्यवसायको सम्भावनालाई पनि बढाएको छ ।’

मेयर डा.धवलशम्शेर राणाले जिकेएफसीको सुरुआतले नेपालगन्जलाई महानगरपालिका बनाउने सपनामा सहयोग पुगेको बताए । उनले भने, ‘नेपालगन्जमा जति नयाँ सेवा र सुविधाहरु थपिन्छन् । त्यसले सहरको गरिमा बढाउँछ । एउटा समृद्ध सहर हुने सुविधा नेपालगन्जमा सुरुआत भएको छ । यसमा नगरबासीले खुसी मान्नुपर्छ । यसले आफनो गुणस्तरीय सेवा दिएर ग्राहकको मन जित्न सकोस् शुभकामना ।’

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलवार ०७:०१