सूचनाको शक्ति - The Power Of Information

        

महरालाई विप्लवको पत्र, ‘संसदीय व्यवस्थाले तपाईंको जीवन उदाङ्गो पारिदियो’

प्रिय महरा सर,
क्रान्तिको समरबाट अभिवादन । हामी तपाईका चेलाहरु आज निशब्द छौ । पत्याउनै गाह्रो भो । तपाइको भद्र स्वभाबले यस्तो छुद्र कार्य कसरी गर्यो होला भनेर मान्नै गाह्रो छ । महरा सरको त्यो स्कुलिङ्गमा युद्दको एउटा आदर्श थियो, जहाँ केवल एक जनासँग मात्रै प्रेम बिबाह अनि यौनको स्कुलिङ्ग दिन्थ्यो । अन्य पराय बिबाहित महिलासंगको शारीरिक सम्बन्धलाई अनैतिक सम्बन्ध भन्थ्यो ।

सर, तपाईंको आदर्श आज डगमगाएको छ । तपाइको कमजोरीमाथि बर्गबैरिहरु दशैँ मनाई रहेका छन् ! घर जलेको त्यो दिन एकपटक फेरी निसास्सिएको छ । जुनेली रातका जुनाताराहरुको उजेली मधुर बनेको छ । क्रान्तिको आवेग हच्किएर तपाईंलाई चियाएर हेर्यो अनि बन्दुकको निसानी फेरी एकपटक सल्बलाएको छ । तर, ढिला भैसकेको छ महरा सर । मलाई आज कामरेड भनेर सम्बोधन गर्ने गाह्रो भयो । मसँग सरको सम्बोधन बाहेक अरु केही रहेन ।

म क्षितिज पारि पर्खिरहेको परिवर्तनको उषा किरणसंगै छु । उज्यालो उषा किरण बोकेर धर्तीमा ल्याउने दुस्साहस गर्दै गर्दा सायद मेरो भौतिक शरीर जलेर उसासंगै नष्ट हुनसक्छ तर बिचार जिबित रहनेछ, म नभएर के भयो र ? आखिर बिचार त बाँचिरहनेछ । अँ साँच्ची संसदीय व्यवस्थाले तपाईंको जीवन उदाङ्गो पारिदियो । कमजोरी तपाईबाट भयो होला तर त्यसको अन्तर्नि्हित कारक तत्व संसदीय व्यवस्था हो । यो व्यवस्थाले अन्तर्नि्हित सुन्दरताको हरण गरेर देखावटी रुपको बिज्ञापन गर्छ । आदर्शको सत्यानास पारेर नैतिक हिनहरुको संगत गराईदिन्छ ।

किनकी संसदीय थलोमा खसीको टाउको झुण्ड्याएर कुकुरको मासु बेचिन्छ । हो महरा सर त्यही भएर आज तपाई आदर्शको चुलीबाट गर्ल्याम्म ढल्नु भएको हो । दोष त तपाईंको थिएन, थियो त केवल त्यही व्यवस्थाको थियो । सर्बहाराले देखेको कुरा हो, हुस्कीको चुस्कीले मात लगाउँछ, मात लागेको मनले उत्तेजित बनाउँछ । आखिर धन सम्पती न हो दम्भ देखाउँछ । फोकटमा पाएको सुख सुबिधाले त झनै आदर्शको हिमशिखर बिलाई खल्बल्लिएको मस्तिस्क हुँदै दरिद्र आत्मा भएर अनैतिक कार्यशैलीमा छछल्किन्छ, अनि पोखिन्छ ।

हो त्यस्तै भएको हो तपाईंको आदर्शको जिन्दगी, यो दोष पनि त्यही पातकी संसदीय व्यवस्था हो । कसैको घर उजाड बनायो, कसैको नैतिकता हरण गर्यो, कसैको उठिबास लगायो, यो सब व्यवस्थाकै कारण हो । मैले यतिबेला सम्झिरहेको छु । चुनबाङ्ग बैठकपछि प्रचण्ड कामरेड र बैद्य कामरेडको बैचारिक धार विभाजन हुँदा तपाईं मौन भएर दोसाँधमा उभिनुभएको थियो । नत प्रचण्डको बिचारमा तपाईंको अडान थियो नत बैद्य कामरेडको बिचारमा थियो । तर अन्ततः तपाईं प्रचण्ड कामरेडको संसदीय बाटो पकड्नुभयो ।

जसको फलस्वरूप आज इनाम पाउनुभयो, म निकै दुखी छु । मेरा युद्दकालिन मित्र बादलले हत्कडी लगाएर आज हिरासत पठाए, त्यो उनले नुनको सोझो गर्ने कर्तब्य थियो । आशा गर्छु, छानबिनपछि अडिक आदर्श सहित मेरा आदरणीय महरा सर फर्किनुहुनेछ र फेरी भन्नुहुनेछ ‘माननीय सदस्यहरु हुन्छ भन्नेले हुन्छ भन्नुस्, हुन्न भन्नेले हुन्न भन्नुस् ।’

 

क्रान्तिकारी अभिबादनसहित !
उही कमरेड विप्लव

प्रकाशित मिति : २३ आश्विन २०७६, बिहीबार ११:३३