एजेन्सी । ऊ पाँच वर्षको भयो । एकदम चंख देखिन्छ । उसका आँखा तेजिला र राता छन् । उसको घाँटी चम्किलो हरियो र गुलाबी रङको छ । ऊ ‘च्याम्पियन’ हो । उसले तीनवटा च्याम्पियनसिप जितिसकेको छ । गत वर्ष राष्ट्रियस्तरको युरोपियन र ओलम्पिकमा स्वर्ण पदक जितेको थियो । उसको नाम हो, अर्मान्डो ।
पदक जितेपछि अर्मान्डोलाई अनलाइन सपिङ वेबसाइटमा बिक्रीका लागि राखियो । संसारभरको ध्यान खिचेको अर्मान्डो बेल्जियमको हो । उसलाई एक चिनियाँ व्यक्तिले १६ करोड रूपैयाँभन्दा बढी मूल्यमा किने । यो अर्मान्डोका ‘साथी’हरूको बिक्री मूल्यभन्दा तीन गुणा बढी हो । सोच्नुहोला, यतिका धेरै मूल्य तिरेर किनिएको अर्मान्डो को हो ?
अर्मान्डो भनेको ‘रेसिङ’ परेवा हो । अर्थात्, दौड प्रतियोगिताहरूमा भाग लिने धावक परेवा । सन् २०१८ मा ‘एस पिजन च्याम्पियनसिप’ र २०१९ मा ‘ओलम्पियाड’ तथा ‘एंगोलोमी’ प्रतियोगिता जितेको अर्मान्डो संसारकै महँगो धावक परेवा हो । यसअघि सबभन्दा धेरै मूल्यमा बिक्री भएको परेवाको नाम ‘नादिन’ थियो । उसको भाउ झन्डै पाँच करोड थियो ।
अर्मान्डो ‘जोएल भर्सुट’ भन्ने व्यक्तिको स्वामित्वमा थियो । उनले अर्मान्डोलाई बिक्रीमा राख्दा यति धेरै मूल्यमा बिक्ला भनेर कसैले कल्पना गरेका थिएनन् । जोएलले अर्मान्डोअघि थुप्रै परेवा बेचिसकेका छन् । अर्मान्डो बेच्दा पनि उनले १७८ वटा परेवा सँगसँगै बेचेका थिए । यस्ता धावक परेवा ‘पिजन प्याराडाइज’ नामको वेबसाइटमा पाइन्छन् । के तपाईंलाई थाहा छ, यस्ता सम्भ्रान्त चराहरू किन यति महँगा हुन्छन् ?
यसबारे थाहा पाउन ‘पिजन रेसिङ’बारे थोरै जानकारी हुनुपर्छ । परेवा दौडको इतिहास बेल्जियमसँग जोडिन्छ । धेरै शताब्दीअघिदेखि परेवालाई सन्देशवाहकका रूपमा प्रयोग गर्न पालिँदै आएको थियो । संसारको पहिलो लामो दुरीको परेवा दौड बेल्जियमबाट १९ औं शताब्दीमा सुरू भएको हो । बेल्जियममा त्यो बेलादेखि नै परेवामा आकर्षित मान्छेहरू थिए । दोस्रो विश्वयुद्धपछि बेलायतमा परेवा दौड एकदमै चर्चित खेल बन्यो ।
त्यो बेला झन्डै ५ लाख परेवा दौडमा सक्रिय थिए । बेलायत, नेदरल्यान्ड्स, उत्तरी फ्रान्स, बेल्जियम लगायत देशमा परेवाहरूको दौड गराइन्छ । पछिल्लो समय यो क्रम घट्दो छ । धावक परेवाहरू सडकमा पाइने अरू परेवाजस्ता हुँदैनन् । उनीहरूको उडान गतिसँगै रूपमा पनि विशेष ध्यानमा राखिन्छ । परेवाका झन्डै ८०० प्रजातिमध्ये केही अत्यन्त सुन्दर मानिन्छन् । यस्ता आकर्षक परेवाहरूको प्रदर्शनी पनि गरिन्छ ।
रोमन लेखक प्लिनी द एल्डरको ‘न्याचुरल हिस्ट्री’ नामक किताबमा उनले केही मान्छेमा परेवाको अति धेरै मोह हुने लेखेका छन् । ईशापूर्व ५० तिर एक जोडी परेवा ४०० दिनारीमा बिकेको उल्लेख गरेका छन् । दिनारी भनेको प्राचीन रोममा चल्ने चाँदीको सिक्का हो । त्यो बेलाको चार सय दिनारी भनेको रोममा एक सैनिक जवानको दुई वर्षको तलब थियो । पछि परेवाहरू लामो दुरीमा सन्देशवाहकका रूपमा प्रयोग हुन थाले ।
त्यो बेला परेवाहरू १६ सय किलोमिटरसम्म उड्न सक्थे । कम दुरीमा उनीहरूको गति झन्डै डेढ सय किलोमिटर प्रतिघन्टा हुन्थ्यो । विश्वयुद्धहरूमा परेवाको भूमिका महत्वपूर्ण रह्यो । तर, उनीहरूको भूमिका सन्देशवाहका रूपमा मात्र सीमित भएन । सन् १९०७ मा जर्मनीका फार्मा्सिस्ट जुलियस न्युब्रोनरले औषधि र्पुयाउने काममा परेवा प्रयोग गरे । उनले सानो आकारको क्यामरा बनाएर परेवाको शरीरमा जोडिदिए ।
यसले खिचेका फोटाहरू युद्धमा निकै प्रयोग भए । अचेल परेवाहरूले सन्देशवाहकका रूपमा काम गरेको पाइँदैन । यिनीहरूको प्रयोग दौड प्रतियोगितामा हुन्छ । दौडका लागि बेल्जियमका चराहरू संसारकै उत्कृष्टमध्ये पर्छन् । यसको कारण ती चराको राम्रो स्याहार र हुर्काइ हो । बेल्जियम महँगा चराहरू जन्मिने र हुर्किने ठाउँ हो भने यिनीहरूको ठूलो र महँगो बजार चीन हो । पहिले–पहिले सामान्य मान्छेले पनि धावक परेवा किन्न सक्थे ।
केही वर्षयता भने चीनकै कारण यो एकदमै महँगो भएको छ । अर्मान्डोसहित नादिन, बोल्ट (करिब चार करोड रूपैयाँ), न्यु ब्लिकसेम (साढे चार करोड रूपैयाँ)जस्ता महँगा परेवा किन्नेहरू सबै चिनियाँ हुन् । सामान्य धावक परेवाको मूल्य तीन लाख हाराहारी हो । जबकि, अर्मान्डोको मूल्य धेरै हुनुमा दुई चिनियाँ बिक्रेताहरूको प्रतिस्पर्धालाई मुख्य कारण मानिन्छ । चीनमा परेवा दौडका लागि लाखौं खर्चेर पूर्वाधार बनेका छन् ।
बेइजिङस्थित ‘द पायोनियर इन्टरनेसनल क्लब’ले यस्ता दौड प्रतियोगिता आयोजना गर्छ । यसमा परेवाहरू ५०० किलोमिटरसम्म उड्छन् र विजेताले लाखौं डलर पाउँछ । संसारका अरू देशमा परेवामा लोभिनेहरूको संख्या घटेका बेला एसियाली मुलुकहरूमा बढ्दो छ । अहिले चीनमा परेवा खरिदकर्ताहरू एक लाखभन्दा बढी छन् भने बेलायतमा जम्मा २१ हजार छन् । ताइवानमा ५ लाख हाराहारी छन् र यो संख्या बढ्दो छ ।
इराकमा पनि परेवा दौडको आकर्षण बढ्को छ । हालै इराकमा एक करोड हाराहारीमा धावक परेवा बिक्री भएको थियो । धावक परेवाको बढ्दो मूल्यले समस्या पनि निम्त्याएको छ । सन् २०१८ मा दुई व्यक्तिले पुरस्कारको रकम जित्न उनीहरूका परेवालाई ‘बुलेट ट्रेन’ मा राखेका थिए । त्यस्तै ताइवानका पाँच जना व्यक्तिको समूह महँगा परेवा अपहरण गरेको आरोपमा पक्राउ परेको थियो ।
एसियाली मुलुकमा परेवाको दौडलाई शानका रूपमा लिइन्छ । तर धेरै वर्ष यसमा लागिपरेका अरू देशका व्यक्तिहरूका लागि पैसाभन्दा खेलप्रतिको मोह ठूलो कुरा हुन्छ । चीनमा सांस्कृतिक क्रान्ति बेला परेवा पाल्न छुट भए पनि दौड प्रतिबन्धित थियो । यसलाई पुँजीपतिहरूको खेल मानिन्थ्यो । केही समयअघि मात्र यो खेल खुला भएको हो । यस वर्ष भने अमेरिका–चीन व्यापार युद्धले यो खेल प्रभावित भएको छ ।
धनाढ्य व्यापारीहरूले अमेरिकासँगको बिग्रँदो सम्बन्धलाई हेरेर अनावश्यक खर्च कटौती गर्न थालेकाले परेवा दौड प्रभावित भएको हो । यति हुँदाहुँदै संसारमै सबैभन्दा बढी मूल्य हालेर अर्मान्डो खरिद गर्ने चिनियाँ व्यापारी नै हुन् । उनको परिचय भने खुलाइएको छैन । महँगो मूल्यमा किनिएको परेवालाई अब सुरक्षित राखिनेछ । उसलाई सुहाउँदो पोथी परेवा खोजेर गर्भाधान गराउन प्रयास गरिनेछ ।
यसबाट जन्मिने नयाँ परेवाहरूमा पनि अर्मान्डोका गुण सर्नेछन् भन्ने आशा छ । अर्मान्डो र ऊजस्तै धावक परेवाले लामो दुरीको दौडमा भाग लिने समय पनि अब धेरै छैन । यस्तो दौड अर्मान्डोजस्ता अनुभवी परेवाका लागि पनि जोखिमपूर्ण मानिन्छ । यसले परेवा दौडको भविष्य अनिश्चित छ । (बिजनेस इनसाइडर, द टेलिग्राफ, द इकोनोमिस्ट लगायत विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको सहयोगमा तयार पारिएको)
सत्यपाटी - ।