सूचनाको शक्ति - The Power Of Information

        

शहरी विकास मन्त्री राईले भने, ‘नेपालगन्जको धार्मिक विशिष्टताले सामाजिक सद्भाव बलियो’

बाँके । गुरुनानकको ५५० औं जन्म जयन्तीका अवसरमा काठमाडौंबाट सुरु भएको शोभायात्रा नेपालगन्ज हुँदै भारततर्फ लागेको छ । शोभायात्रालाई शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आज नेपालगन्जमा स्वागत गरेका छन् ।

काठमाडौंदेखि भारतको पञ्जावसम्मका लागि शुरु गरेको शोभायात्राको टोलीलाई स्वागत गर्दै मन्त्री राईले संविधानले सबै धर्मावलम्बीहरुलाई समानताको अधिकार दिएको भन्दै विविधतायुक्त मुलुक भएका कारण यहाँ धार्मिक विशिष्टता रहेको बताए । धार्मिक विशिष्टताकै कारण यहाँको सामाजिक सद्भाव बलियो बनेको उनको भनाई छ ।

उनले भने, ‘यहाँ विभिन्न धर्मका नागरिकहरुको बसोबास छ, एक सयबढी भाषाभाषी बोलिन्छ । भौगोलिकरुपमा तराई, पहाड, हिमाल र मधेश भए पनि सबै मिलेर बसेको शहर नेपालगन्ज हो । नेपालगन्जले धार्मिक तथा सामाजिक सद्भावको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको छ ।’

काठमाडौंबाट सुरु भएको गुरुनानक शोभायात्रा नेपालगन्ज हुँदै आजै भारततर्फ प्रस्थान गरेको छ । शोभायात्रा बहराइच, लखनउ, आग्रा, नयाँ दिल्ली, पानीपथ, सोनीपथ, सुल्तानपुर, लोधी हुँदै पञ्जावमा गएर टुङ्गिने श्री गुरुनानक देव सेवा सोसाइटी इन्टरनेशनलका सल्लाहकार सरदार हरनान सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १४:४६