सूचनाको शक्ति - The Power Of Information

        

मुख्यमन्त्री पोखरेलले भने, ‘नेपालगन्जको विकासमा विशेष चासो’ (फोटोफिचरसहित)

बाँके । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले नेपालगन्जको विकासमा प्रदेश सरकारले विशेष चासो दिएको बताएका छन् । नेपालगन्जमा नवनिर्मित बसपार्कको शनिवार उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को औद्यौगिक शहरका रुपमा नेपालगन्जलाई विकास गर्न प्रदेश सरकार लागि परेको बताए ।

‘केही सरकारी कार्यालयहरु विस्थापन हुँदैमा नेपालगन्जको विकासको गति रोकिँदैन, नेपालगन्ज विकासको प्रक्रियामा गइसकेको छ । अहिलेको अवस्था निराशाजनक अवस्था हुँदै होइन । हाम्रो सोंचमात्रै निराशाजनक भएको हो,’ उनले भने, ‘सरकारी कार्यालयका कारणमात्रै शहरको विकास होइन, शहरका कारण पनि सरकारी कार्यालयको उपस्थिति हुने गर्दछ नेपालगन्ज त्यस्तै शहरमा पर्दछ ।’

उनले प्रदेश राजधानी नभएका कारण र क्षेत्रीय स्तरका केही कार्यालय स्थानान्तरण भएकै कारण नेपालगन्जको विकास रोकियो भन्नु मनोगत टिप्पणी हुने धारणा व्यक्त गरे । उनले नेपालगन्ज विकास प्रक्रियामा प्रवेश गरे पनि केही विकास भएको छैन भनेर नकारात्मक टिप्पणी र आलोचना गर्नु गलत हुने उल्लेख गरे ।

प्रदेश सरकारले विकासको लय समातेको दावी गर्दै मुख्यमन्त्री पोखरेलले निराशावादी मनोवृत्तिले समाजलाई बदल्न नसकिने उल्लेख गर्दै भने, ‘यो नीति समाजमा नेतृत्व गर्ने नीति होइन । यसले काम गर्नेलाई पनि दुरुत्साहन पैदा गर्ने स्थितमात्रै सृजना गर्छ । यो विकासका सन्दर्भमा राम्रो कुरा होइन त्यस सन्दर्भमा हाम्रो समाजलाई सकारात्मक अवस्थामा बदल्नुपर्छ ।’

प्रदेश ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने सवालमा अग्रणी रहेको उल्लेख गर्दै उनले कुल ग्राह्स्थ वृद्धि दरका हिसावले नेपालमा प्रदेश ५ सबैभन्दा माथि रहेको दावी गर्नुभयो । उनले भने, ‘प्रदेश ५ को कुल ग्राहस्थ उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धिदर हो, सबै मिलेर अघि बढ्यौ भने हामी उदाहरणीय बन्न सक्छ । ’

उनले नेपालगन्जमा काठमाडौंपछिकै आधुनिक र भव्य संरचनासहितको बसपार्क सञ्चालनमा आएकोमा खुशी व्यक्त गर्दै यसको संरक्षण र सम्वद्र्धनमा कमी हुन नदिन उपमहानगरपालिकाका प्रमुख डा.धवलशम्शेर राणालाई आग्रह गरे । मुख्यमन्त्री पोखरेलले आजै उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको नगरबसको समेत औपचारिकरुपमा उद्घाटन गरेका छन् ।

 

प्रकाशित मिति : १८ आश्विन २०७६, शनिबार १४:०३