सूचनाको शक्ति - The Power Of Information

        

बिग्रेका डायलासिस मेशिन दशैंलगत्तै मर्मत, डायलासिस यूनिट प्राथमिकतामा

बाँके । बाँकेको भेरी अस्पतालमा मृगौला विरामीको चापसँगै मेशिनको माग पनि बढेको छ । अस्पतालका प्रमुख मेडिकल सुपेरिटेण्डेण्ट डाक्टर रुपानन्द अधिकारीले भेरी अस्पताललाई १० वटा डायलासिस मेशिनको आवश्यकता रहेको बताए । उनका अनुसार यसका लागि स्वास्थ्य मन्त्रालय लगायतका सम्बन्धीत निकायमा पहल भइरहेको छ ।

भेरी अस्पतालका मेसु डा.अधिकारीले अस्पतालमा रहेका चार वटामध्ये अहिले बिग्रेका दुईवटा मेशिन दशैलगत्तै मर्मतको काम थालनी हुने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले दशैलगत्तै मर्मत थालनी गरिने मेशिन तिहारअघिसम्म डायलासिसका लागि तयार हुने बताए । उनले मर्मत गर्ने कमपनीसँग यस विषयमा कुरा भइसकेको र उक्त कम्पनीले दशैंलगत्तै मर्मतका लागि जनशक्ति पठाएर मर्मत सुरु गर्ने आश्वासन दिएको बताए ।

अस्पतालले पछिल्लो समय विरामी बढेसँगै डायलासिस यूनिटलाई बिशेष प्राथमिकतामा राखेको मेसु अधिकारीको भनाई छ । पीडितको उपचारका लागि राखिएका चारमध्ये दुई डायलासिस मेसिन बिग्रदा बिरामी मर्कामा परेका छन् । प्रदेश ५ का बाँके, बर्दिया, दाङ, सुदूर र कर्णाली प्रदेशका सबै जिल्लाका मृगौला रोगबाट पीडित बिरामीको सेवालाई ध्यानमा राखेर सञ्चालनमा आएको उक्त सेवा आवश्यकताअनुसारका मेशिनको अभावमा प्रभावित हुँदै आएको छ ।

दुईवटा मेशिन एउटा वर्ष दिन र अर्को करिब चार महिनादेखि काम नलाग्ने गरी बिग्रिएको डायलासिस यूनिट प्रमुख डाक्टर पारस श्रेष्ठ बताए । बिग्रिएको मेसिनले ब्लड फिल्टर नगर्ने बताइएको छ । अहिले अस्पतालको आन्तरिक स्रोतबाट खरिद भएको दुई वटा मेसिनबाट बिरामीको नियमित डायलासिस हुँदै आएको छ । अस्पतालमा डायलासिस सेवाका लागि आउने बिरामीको संख्या अत्याधिक भए पनि आवश्यकता अनुरुप सेवा प्रवाहमा समस्या भएको छ ।

‘दुई वटा मेसिनबाट दैनिक चार जनाको मात्रा उपचार गर्न सकिन्छ,’ डा.श्रेष्ठले भने, ‘अझै दुई वटा मेसिन थप गर्न सकियो भने न्यूनतम २४ बिरामीलाई मासिक सेवा दिन सकिन्छ ।’ एक जना बिरामीले हप्तामा न्यूनतम दुई पटक डायलासिस गर्नुपर्ने हुँदा सम्पर्कमा आएका सबै विरामीलाई सेवा प्रवाह गर्न नसकिएको डाक्टर श्रेष्ठको भनाई छ । थप दुई वटा डायलासिस मेसिनको लागि अस्पतालसँग माग गरेको उनले बताए । मेशिन नहुँदा तालिम प्राप्त नर्स अस्पतालको आन्तरिक सेवामा खटिनुपरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०७६, शुक्रबार ०७:४८