सूचनाको शक्ति - The Power Of Information

        

पाँच हजार खसीबोका काठमाडौं पठाउँदै बाँकेका महिला उद्यमी

बाँकेका महिला उद्यमीहरुद्वारा बाँकेको राप्तीसोनारी–९, ढकेरीमा सञ्चालित खसीबोका विक्री केन्द्रमा बडादशैंका लागि राखिएका खसीबोकाहरु ।

बाँकेका महिला उद्यमीहरुद्वारा बाँकेको राप्तीसोनारी–९, ढकेरीमा सञ्चालित खसीबोका विक्री केन्द्रमा बडादशैंका लागि राखिएका खसीबोकाहरु ।

बाँके । बडादशैं नजिकिँदै गर्दा बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका राजधानी पठाउने भएका छन् । दशैको मुखमा बजारमा खसीबोकाको कृतिम अभावको देखाई भारतबाट खसीबोका भित्रिरहेका बेला बाँके र बर्दियाका महिलाले पाँच हजार खसीबोका काठमाडौं र अन्य शहरमा पठाउने भएका हुन् ।

मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले बाँके र बर्दियाका गृहिणी महिलाहरुले व्यवसायीक बाख्रापालनबाट उत्पादन भएका खसीबोका व्यावसायीकरुपमा काठमाडौं तथा अन्य शहर पठाउन थालिएको हो । दशैं र तिहारलाई लक्षित गरि विभिन्न सहकारीमा आवद्ध महिलाले पाँच हजार खसीबोका काठमाडौं लगायतका अन्य शहरमा पठाउन लागेको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष गंगा चन्द ठकुरीले जानकारी दिइन् ।


केही व्यवसायीले बजारमा कृतिम अभावको अवस्था सृजना गरेर भारतीय खसीबोका भित्र्याउने चलखेल गरेको भन्दै अध्यक्ष ठकुरीले भनिन्, ‘अहिले बजारमा खसीबोका छैनन् भनेर कृतिम अभाव देखाउने र चर्को मुल्यमा भारतबाट ल्याइएका खसीबोका बेच्ने दाउमा केही व्यपारी हुनुहुन्छ । अहिले पनि हामीसँग ५०० बढी खसीबोका ‘हाम्रो ढकेरी बिक्री कक्ष’मा छन् । हामी ५ हजार खसीबोका विक्री गर्दैछौं ।’

उनले उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आवद्ध बाँकेका १५ वटा र बर्दियाका ४ वटा सहकारीका सात हजार बढी सदस्य महिलाले उत्पादन गरेका चार हजार खसीबोका काठमाडौं र एक हजार नेपालगन्ज, बुटवल, तुलसीपुर लगायतका सहरमा पठाउन लागिएको जानकारी दिइन् । उनले राज्यले व्यवसायमुखी वातावरण बनाउन सके बाँके र बर्दियाका महिलाले उत्पादन गरेका खसीबोका पठाएर काठमाडौंमा खसीबोका अभाव कम गर्न पहल गर्ने बताइन् ।

उद्यमी महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौं लगायतका सहरमा पठाउने गरेका छन् । उनले पछिल्लो समयमा भारतबाट अवैधरुपमा भित्रिने खसीबोकाका कारण आफुहरुले गरेको उत्पादनले बजार नपाउने अवस्था हाल केही सुधार भए पनि प्रहरी प्रशासनले कागज हुँदाहुँदै पनि अनावश्यक दुख दिने गरेको गुनासो गरिन् ।

उनले जिउँदो खसी प्रतिकिलो रु.४५० देखि रु.५१५ का दरले खरिद गर्दै आएको र रु.५०० सयदेखि रु.५५० सम्ममा बिक्री गर्ने गरेको बताइन् । दशैलाई लक्षित गरी किसानको घरघरबाट संकलन गरिएका ५०० भन्दा बढी खसीबोका संघको बिक्री केन्द्र ढकेरीमा राखिएको सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेले जनाएको छ । संघका अनुसार घटस्थापनासम्म २ हजार बढी खसीबोका बिक्री केन्द्रमा जम्मा गरिनेछ ।

सामाजिक उद्यमी महिला सहकारी जिल्ला संघ बाँकेकी अध्यक्ष ठकुरीले सरकारले गत फागुन ३ गतेदेखि नेपालमा भारतीय खसीबोकाको आयातमा कडाई गरेपछि नेपाली कृषकहरुलाई राहत भएको बताइन् । उनले भनिन्, ‘सरकारले भारतीय खसीबोका ल्याउन बन्देज लगाउँदा पनि आन्तरिक उत्पादनले बजारको माग धान्न सक्छ । यसका लागि सरकारले अब कृषकहरुका लागि प्रोत्साहनका कार्यक्रमहरु ल्याउनुपर्छ ।’

पशु क्वारेन्टाइन मापदण्डअनुसार स्वस्थता प्रमाणपत्रका आधारमा मात्रै खसीबोका भित्रिन दिने सरकारी नीतिले पशुपालक कृषकलाई थप हौसला मिलेको छ । व्यापारीले यस्तो प्रमाणपत्र ल्याउन नसक्दा भारतीय खसीबोका नेपाल भित्रिएका छैनन् । भारतीय क्वारेन्टाइनको स्वस्थता, सेनेटरी प्रमाण र ल्याब रिपोर्ट नल्याए खसीबोका भन्सार पास हुँदैनन् । सरकारको यस कदमले आफुले पालेका खसीबोकाले बजार पाउँछन् भन्नेमा नेपाली कृषकहरु ढुक्क बनेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतवार ०८:२६