सूचनाको शक्ति - The Power Of Information

        

कर्मचारी अभावमा तीन बर्षदेखि बर्थिङ सेन्टर बन्द, स्थानीय मर्कामा

सत्यराज सिंह । बझाङ । गाँउमा नै बर्थिङ् सेन्टरको स्थापना हुने भनेपछि मष्टा गाँउपालिका–४ का सबै स्थानीयबासी खुशीले दंग भए । पुरुषभन्दा बढी महिलाहरुमा खुसियाली छायो । टोलटोल, मेलापात जाँदा पनि बर्थिङ सेन्टरकै चर्चा गर्दै खुसी साटासाट गर्न थाले । तीन–चार घण्टाको पैदल यात्रा हिडेर सदरमुकाम र मष्टा गाँउपालिका पुग्नुपर्ने झन्झट हट्ने भन्दै स्थानीयहरु खुसी भए ।

२०७४ सालमा नै बथिङ् सेन्टरका लागि स्थानीय बासिन्दा मंगल कठायतले निशुल्क जग्गा दान गरे । यहाँका जनताले सेवा सुविधा पाउने आशले उनले आफ्नो खेतियोग्य जमिनको माया मारेर बर्थिङ् सेन्टरलाई जग्गा उपलब्ध गराए । २०७४ सालमै बर्थिङ् सेन्टरको निर्माण सम्पन्न भयो । यहाँका सबै महिलाहरुले खोलबाट ढुंगा, माटो बोकेर र पुरुषहरुले ढुंगा फुटालेर एक महिनाभित्रै बर्थिङ् सेन्टरको निर्माण सम्पन्न गरे ।

निर्माण भएको एक बर्षपछि २०७५ सालमा वडा कार्यालयले आधिकारिकरुपमा तामझामका साथ उद्घाटन गर्यो । उद्घाटन भएको दोस्रो दिनमै बर्थिङ् सेन्टमा ताला लाग्यो । त्यसयता अहिलेसम्म बर्थिङ् सेन्टर खुलेको छैन । यहाँका स्थानीयबासीले देखेका सबै सपना चकनाचुर बने । अहिले पनि सामान्य उपचारका लागि सबै स्थानीय बासिन्दाहरुले सदरमुकाम चैनपुरमा रहेको जिल्ला अस्पतालमा तीन–चार घण्टाको पैदल हिँडेर पुग्नुपर्ने बाध्यता रहेको ८० बर्षिया हंशादेवी कठायतले बताइन् ।

‘आफ्नोजस्तो दुख छोरी, बुहारी कसैले पनि पाउँदैनन् भन्ने सोचेकी थिए, तर अहिले पनि बर्षौदेखिको समस्या जस्ताको तस्तै रह्यो,’ उनले भनिन्, ‘गाउँमा बर्थिङ सेन्टर निर्माण हुँदा अब ढुक्कले बच्चा जन्माउन पाइन्छ भन्ने आसले पसिना चुहाउदै ढुङ्गा माटो बोकियो, घरमात्र बन्यो । सञ्चालनमा आएन ।’ सबै महिलाका पिडा कसैले नबुझेपछि समस्या जस्ताको तस्तै रहेको मष्टा गाउँपालिकाकी सुनादेवी कठायतले बताइन् । के कति कारणले सब बर्थिङ् सेन्टर सञ्चालनमा नआएको हो ? आफुहरुलाई जानकारीसम्म समेत नभएको उनको भनाई छ ।

अहिले हजारौं रकम खर्च गरेर गर्भवती महिलाहरुलाई बोकेर जिल्ला अस्पतालसम्म लैजानुपर्ने बाध्यता रहेको उनले बताइन् । कतिपय महिलाहरु त ज्यानकै बाजी राखेर घरमा नै सुत्केरी हुने गरेका छन् । यहाँ सुत्केरी हुन नसकेका महिलाहरु मात्रै अस्पतालसम्म जाने गरेको सुनादेवीले बताइन् । सामान्य टाउको दुख्यो, घाउ चोटपटक लाग्दासमेत एक दिन पुरै पैदल विरामीलाई बोकेर सदरमुकाम नै पुग्नुपर्ने अवस्था रहेको स्थानीयहरुको गुनासो छ ।

सब बर्थिङ् सेन्टरमा २४ घण्टा खानेपानीको ब्यवस्था, सोलार, सौचालयसमेत रहेको छ । तर सेन्टरमा बस्ने कर्मचारीको टुङ्गो नलागेका कारण सञ्चालनमा आउन सकेको छैन । वडा कार्यालयको आर्थिक सहयोगमा झण्डै २ लाख रुपैयाँको लागतमा २०७५ सालमा नै आवष्यक औषधि तथा विभिन्न सामाग्रीहरु समेत बर्थिङ् सेन्टरका लागि खरिद गरी सकिएको भए पनि उक्त औषधि तथा सामाग्रीसमेत काम नलाग्ने अवस्थामा पुगेको स्थानीयबासीले बताएका छन् ।

गाँउलेहरुले पटक पटक स्थानीय तह वडा कार्यालयदेखि गाउँपालिकासम्म बर्थिङ् सेन्टर सञ्चालनका लागि अनुरोध गर्दै आएको भए पनि सुनुवाई हुन सकेको छैन । यस महिनामात्रै यस गाउँका चार जना महिलाले जिल्ला अस्पतालमै बच्चा जन्माएका छन् भने केही महिनाअघि तीन जना महिलाले आफ्नो ज्यानकै बाजी राखेर घरमै सुत्केरी भएका छन् । यहाँका महिलाहरुले भगवान भरोसामा बच्चा जन्माउने गरेको स्थानीयबासीको गुनासो छ ।

दश बर्षयता २ जना महिलाको सुत्केरी हुन नसकेर मृत्यु भएको छ । सँगै बनेको अन्य ठाउँका बर्थिङ सेन्टरमा पहिले नै तालिम प्राप्त अनमी भर्ना गरिसकेको बताउँदै स्थानीयबासीले आफुहरुले वडा, गाउँपालिका र जिल्ला अस्पतालमा लिखित तथा मौखिक माग गर्दा पनि सुनुवाई नभएको बताए । यी वडासँगै बनेका ५ र ७ नम्बर वडामा आठ महिना पहिले नै स्वास्थ्यकर्मी भर्ना गरि बर्थिङ् सेन्टर सञ्चालनमा आएका छन् । यहाँ भने जनप्रतिनिधिकै बेवास्ताका कारण नै यहाँको बर्थिङ् सेन्टरमा तीन बर्षदेखि ताला लागेको छ ।

बर्थिङ् सेन्टर सञ्चालनका लागि आफुले पटक पटक गाँउपालिकादेखि कार्यपालिकामा समेत कुरा गरेको भए पनि कुनै सुनुवाई नभएको वडा नं. ४ का अध्यक्ष प्रयागराज उपाध्यायले बताए । उनले भने, ‘स्वास्थ्यकर्मीकोे माग राख्दै बैठक नै बहिस्कार गरेको छु । जनताले नारावाजी गरे अझै सुनुवाई भएको छैन । भवन छ, स्वास्थ्यकर्मी छैनभन्दा आफुलाई लाज लाग्ने गरेको उनको भनाई छ । बर्थिङ् सेन्टर सञ्चालनका लागि मैले प्रयास गरिरहेको छु, कहिले कर्मचारी भर्ना गर्न सकिन्छ थाहा छैन ।’

उनले आफैले उद्घाटन गरेको सेन्टर सञ्चालनका लागि पहल भइरहेको बताए । सहयोगी, अनमी र सिएमए गरी तीन जनाको दरबन्दी छ । मष्टा गाँउपालीकाका अध्यक्ष कर्णबहादुर कठायतले भने स्थानीयबासीको विवादका कारण बर्थिङ् सेन्टर सञ्चालनमा आउन नसकेको बताए । त्यही गाउँमा स्थानीय अनमी छन् । उनलाई राख्ने भनिएको भए पनि यहाँका केही ब्यक्तिहरुले हुन्छ भन्ने र केहीले हुदैन भनेपछि विवाद बल्झिएको उनले बताए ।

यसको समस्या समाधानका लागि गाउँपालिकाले विज्ञापन गरी अबको केही समयमै नै बर्थिङ् सेन्टर सञ्चालनमा ल्याउने बताएका छन् । यस गाउँमा डाँडामा १९ परिवार, डाँडाखर्कमा ८, गाउँमा २०, कौसाडोमा ११, टाँकमा ६, खोलामारामा ७, खात्तणमा १६ परिवारको बसोबास छ । यस्तै जालथौडामा ७, सागणमा ३५ र अन्य गरी झण्डै १२० भन्दा बढी परिवारको बसोबास छ ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार १६:२४