सूचनाको शक्ति - The Power Of Information

        

१२ घन्टा बस चढेर ५० पैसाको खोजीमा !

सुर्खेत । प्रदेश २ बाराका मोहम्मद हासिम यतिखेर सुर्खेतमा छन् । घरबाट बस चढेर यहाँ आइपुग्न उनलाई १२ घन्टाभन्दा बढी समय लाग्छ । बारा, सिम्रौनगढ नगरपालिका–१०, देवापुरटेटाका ३२ वर्षीय मोहम्मद वीरेन्द्रनगरमा कवाड संकलनको काम गर्छन् । असारमा वीरेन्द्रनगर आएका उनी वीरेन्द्रनगरका घर–घरबाट कवाड संकलन गरी स्थानीय अमन स्पेयर सेन्टरलाई बेच्छन् ।

उनीलगायत तीनजना कवाड संकलक वीरेन्द्रनगर–३ स्थित एउटा भाडाको कोठामा बस्छन् । बिहान कोठामै रोटी खाएर उनी काममा निस्कन्छन् । दिउँसोभरि कवाडी सामान संकलन गर्छन् । त्यसबाट आउने दुई–चार पैसाले उनी गुजारा चलाउँछन् । कवाड संकलनका लागि साहुले साइकल र बोरा दिएका छन् । हो, त्यही साइकल डो¥याएर उनी टोलटोल पुग्छन् ।

उनले दैनिक ५ देखि १० केजी फलामलगायत सामग्री संकलन गर्दै आएका छन् । उनले भने, ‘५–१० केजी उठाउँछु होला । के कमाउनु? एक रुपैयाँ ५० पैसामा खाली सिसी खरिद गर्छु, दुई रुपैयाँमा साहुलाई बेच्छु । आखिर नाफा आउने त ५० पैसा हो । यही ५० पैसाका लागि टोल–टोल हिँडेर पुराना सामान संकलन गर्छौ ।’ उनी दिनहुँ वीरेन्द्रनगरको बामेखोला, रहरपुर, अलायचौर, लाटीकोइली, तातापानी, धुलियाबिटलगायत ठाउँमा जान्छन् ।

उनी दैनिक १५–२० किलोमिटर हिड्ने गर्छन् । सुर्खेतको चौकुने गाउँपालिका, लेकबेसी नगरपालिका, पञ्चपुरी नगरपालिका, गुर्भाकोट नगरपालिका, भेरीगंगा नगरपालिकालगायत ठाउँ पनि पुग्छन् उनी । उनी भन्छन्, ‘वीरेन्द्रनगरबाहिर सातामा एकपटक कवाडी उठाउन जान्छु । सधैँ वीरेन्द्रनगर बाहिर जान सम्भव छैन । अरु दिन वीरेन्द्रनगरमै कवाडी उठाउँछु ।’ बिहान कोठामा खाएको रोटीको भरमा उनी दिनभर कवाडी उठाउँछन् ।

‘अलि कमाइ भयो भने चिया पाउरोटी खान्छु । तर, घरको आर्थिक अवस्था सम्झदा त्यो खान पनि मन लाग्दैन,’ उनी भन्छन् । महम्मदको घरका चारजना सदस्य उनकै आम्दानीको भरमा बाँचिरहेका छन् । उनका श्रीमती, एक छोरा र दुई छोरी छन् । ६ वर्षको जेठो छोरोमात्र विद्यालय जान्छ । ठूली छोरी तीन वर्ष र कान्छी छोरी दुई वर्ष पुगेका छन् । पाँच कट्ठा जग्गामा धान रोपाइँ सकिएसँगै रोजगारीका लागि उनि वीरेन्द्रनगर आएका हुन् ।

उनले भने, ‘अब असोजमा घर जाने हो, धान काटेर फेरि आउनुपर्ला । बुढीलाई यसो घरखर्च पनि छाडिदिनु प¥यो ।’ उनीहरू तीनजना कोठाभाडामा बसेका छन् । मासिक तीन हजार कोठाभाडा तिर्छन् । ‘४–५ हजार खानामै खर्च हुन्छ । उता घरमा पनि मासिक ८–९ हजार जति खर्च चाहिन्छ,’ उनी भन्छन् । सन् २०१३ मा तीन वर्ष कतार र २०१६ मा दुई वर्ष साउदी गएर काम गरेर फर्किएका महम्मदको अब विदेशिने सोच छैन ।

उनले भने, ‘त्यत्रो पाँच वर्ष समय विदेशमा बिताए । दोस्रो पटक गएको पैसाले गाउँमा घरसम्म बनाए । पहिलोपल्ट कम्पनीनै खराब भयो । अब जाँदिनँ होला ।’ उनले दैनिक चार–पाँच सय रुपैयाँ आम्दानी गर्छन् । उनका लागि कवाड संकलन परिवारको खर्च धान्ने र परिवारसँगै आफ्नै देशमा समय बिताउने बाटो बनेको छ । महम्मदसँगै उनकै घर नजिकैका ३१ वर्षीय फिरोज आलम पनि सँगै आएका छन् ।

गाउँमा भएको तीन धुर जग्गामा भएको घरमा आमा वुबालगायत बसिरहेका छन् । दुई छोरा र दुई छोरीसहित श्रीमतीलाई गाउँमै भाडाको कोठामा राखेरै उनले कवाडी संकलन गर्न थालेको १० वर्षभन्दा बढी भइसक्यो । उनी सम्झन्छन्, ‘१० वर्षभन्दा धेरै भइसकेछ । पहिलेजस्तो आम्दानी छैन, तर गुजारा चलिरहेको छ ।’ सडकको बिस्तार, बढ्दो सहरीकरणले फिरोज र महम्मदलगायतका कवाड उठाउनेलाई सजिलो भएको छ । विशेषगरी फलामको खरिदमा ग्राहकसँग मोलमोलाइ हुने उनीहरूको अनुभव छ ।

फलाम साहुलाई २२ रुपैयाँ केजीको दरले बेच्छन् । ग्राहकसँग यसैबारे मोलमोलाइ गर्नुपर्ने हुन्छ । ‘शुद्व फलाम मात्र भएको कवाड २० रुपैयाँ केजीका दरले खरिद गर्दै आएका छौं । तर, पनि मानिसहरू हामीले ठग्यौं भन्छन् । हाम्रो बाध्यता भने उनीहरूले बुझ्दैनन्,’ फिरोजले भने । रबरजस्ता अन्य पदार्थ मिसिएका कुर्ची लगायतको फलामको मूल्य चाहिँ १५ रुपैयाँ केजीदेखि सुरु हुन्छ । जाँडरक्सी खाएका मानिस भएको ठाउँमा कवाडी खरिद गर्न जानु गल्ती हुने फिरोजको अनुभव छ ।

उनले भने, ‘उनीहरू सानो कुरामा पनि रिसाइरहेका हुन्छन्, हामीलाई हेप्न थाल्छन् । २५ रुपैयाँ केजीसम्म फलाम बेच्न खोज्छन्, फर्किनुवाहेक अन्य विकल्प नै हुँदैन ।’ फिरोज, मोहम्मदसँगै २१ वर्षीय भारत मोतिहारीका फरमुल्लाह मियाँ पनि वीरेन्द्रनगरमा कवाडी संकलन गरिरहेका छन् । १० वर्षको उमेरदेखि सिरक डसना बनाउन नेपालका विभिन्न जिल्लाहरुमा हिँडेका फरमुल्लाह गर्मी समयमा कवाडी उठाउने र जाडोको समयमा सिरक/डसना बनाउन हिँड्छन् । वीरेन्द्रनगरमा हाल सञ्चालनमा रहेका सात कवाड संकलन केन्द्रमा ७० भन्दा धेरै संकलक छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार १३:४६