एक उपसचिवको कथा : पिएचडीको सर्टिफिकेट बोकेर वृद्धाश्रममा (भिडियोसहित)
नेहा शर्मा ।
नेहा शर्मा । काठमाडौं । ‘आइएम गोइङ टु फ्रान्स ! नेक्स्ट विक,’ केही समयअघि भक्तपुरस्थित ‘मानव कल्याण समाज सेवा’ को कार्यालयमा रिपोर्टिङका लागि पुग्दा ह्विलचेयरमा टाउको लत्र्याएर बसेकी एक वृद्ध महिला भन्दै थिइन् । उनको आवाज मेरो कानमा ठोकिने बित्तिकै मेरो ध्यान उनीतर्फ मोडियो ।
भक्तपुरमा कार्यालय रहेको ‘मानव कल्याण समाज सेवा’ को काम हो, सडकपेटीमा वेवारिसे अवस्थामा भेटिएका मानिसहरूलाई आश्रय दिनु । मेरो ध्यान किन पनि ती वृद्धातर्फ मोडियो भने ‘मानव कल्याण समाज सेवा’ को त्यो भवनमा अरूभन्दा केही सुकिलो लुगामा उनी बसेकी थिइन् । कुलिन झैं लागिने ती बृद्धाको अंग्रेजी भाषाको उच्चारण दमदार थियो ।
उनको अनुहारले मलाई निकै आकर्षित गर्यो र आश्रममा बसेका अन्य ४९ वृद्धवृद्धालाई छोडेर म उनैको नजिकै पुगेँ । उनीतर्फ जाँदै गर्दा सेवा घरकी सञ्चालिका सुमी मानवले रोक्न नखोजेकी होइनन्, भन्दै थिइन्, ‘उहाँ कसैसँग बोल्न मन गर्नुहुन्न । बेकारमा गएर के गर्नुहुन्छ ?’ तर, मनले मानेन ।
सुमीले थप जानकारी दिइन्, ‘उहाँलाई परिवारसँग जोडिएको कुरा गर्दा टाउको बटार्नुहुन्छ । आफू सम्पन्न परिवारमा जन्मिएको र परिवारकै कारण आज अनाथ र अपाङ्गको जीवन बिताउन बाध्य भएको सुनाउनुहुन्छ ।’ सुमीले मलाई यो कुरा बताइरहँदा ती वृद्धा भने टाढैबाट हामीलाई नियालिरहेकी थिइन् । नजिकै पुगेपछि मसँग रहेको क्यामेरा देखिन् र सोधिन्, ‘तपाईहरू समाचार लेख्ने मान्छे हो? मेरो बारेमा मिलाएर लेखिदिनुहोला है ।’
हेर्दै घरानीया लाग्ने ती वृद्धा हामीसँग कुरा गर्दा उनको शरीर थरथरी कामिरहेको थियो । खुट्टा बुङ्बुङ् सुन्निएका थिए । पछि बुझ्दै जाँदा पो थाहा भयो, ‘प्यारालाइसिस’ का कारण उनको आधा शरीर नचल्ने भइसकेको रहेछ । उनलाई गतवर्ष उनकै घरको कोठाबाट उद्धार गरेर भक्तपुर ल्याएको रहेछ ।
को हुन्, ती महिला ?
विगत एक वर्षदेखि भक्तपुरको मानव कल्याण समाजमा आश्रय लिँदै आएकी यी बृद्धाको नाम हो, डाक्टर शान्तिप्रिया उपाध्याय । नागरिकतामा उनको स्थायी ठेगाना लेखिएको छ, लाजिम्पाट । जन्म मिति २००७ साल साउन १९ गते । उनलाई कुपण्डोलबाट उद्धार गरिएको थियो । शान्तिप्रियाको बुवाको नाम हो, रामेश्वर पौडेल र आमा यशोदा ।
उनले त्रिचन्द्र कलेजबाट केमेस्ट्रीमा स्नातकोत्तर गरेकी थिइन् । जडिबुटीमा उनले फ्रान्सबाट पिएचडी गरेकी हुन् । ६९ वर्षीय शान्तिप्रिया जडिबुटी अनुसन्धान विभागमा पिएचडी गर्ने एक मात्र कर्मचारी हुन् । उनीबाहेक हालसम्म कसैले पिएचडी नगरेको उनकै सहकर्मी सरिता श्रेष्ठ बताउँछिन् । ‘२०४४ सालमा म जागिरे भएर आउँदा उहाँ विभागमै हुनुहुन्थ्यो,’ सरिता भन्छिन्, ‘उहाँ निकै मिहिनेती र अनुशासनप्रेमी कर्मचारी हो ।’ शान्तिप्रियाका बुवा र आमा दुबै सरकारी जागिरे थिए ।
कान्छा काका ठाकुरनाथ शर्मा रेडियो नेपालका अवकाशप्राप्त कर्मचारी । उनी आफैं वन मन्त्रालयअन्तर्गत वनस्पति विभागको प्राकृतिक अनुसन्धान शाखामा वरिष्ठ अनुसन्धान अधिकृत अर्थात उपसचिव थिइन् । अवकाशपछि उनले कुपण्डोलस्थित आफ्नै घरमा वनस्पति रिसर्च सेन्टर खोलेकी थिइन् । उनी त्यहाँ साबुन, अत्तरलगायतका समान उत्पादन गर्थिन् । गतवर्ष कुपण्डोलका स्थानीयलगायत वडा कार्यालयका अधिकारीले शान्तिप्रियाको बिजोगको विषयमा मानव कल्याण समाजलाई जानकारी दिएका थिए ।
यस्तो थियो, उनको अवस्था
मानव कल्याण समाजका पदाधिकारी उद्धारका लागि कुपण्डोलस्थित शान्तिप्रियाको घर पुग्दा उनको अवस्था निकै दयनीय थियो । बाहिरबाट घर निकै सुन्दर र चिट्टिक्क परेको देखिन्थ्यो । तर, घरभित्रको माहोल राम्रो थिएन । शान्तिप्रिया लट्टा परेको कपाल, शरीरको एउटा पाटो नचलेर ह्विलचेयरमा थलिएको अवस्था र पुरै शरीर गन्हाइरहेको अवस्थामा एउटा कोठामा थुनिएर बसेकी थिइन् ।
उनको त्यो हालत देखेर मानव कल्याणकी सञ्चालिका सुमी मानवको आँखा पनि रसाएका थिए । ‘मूलत हामी सडकपेटीमा हुने वृद्धवृद्धालाई मात्र आश्रममा उद्धार गरेर ल्याउछौं । तर, उहाँ (शान्तिप्रिया) को अवस्था देखेपछि घरमा छोड्न मन लागेन । त्यसैले आफैसँग लिएर आयौं,’ सुमीले बिएल नेपाली सेवासँग भनिन् । शान्तिप्रियाको घरभन्दा आश्रम निकै सानो छ ।
तर, उद्धार भएर आएको रात आफू बर्षौपछि मस्तले ओछ्यानमा सुतेको शान्तिप्रियाले आफूलाई भनेको सुमी बताउँछिन् । सुमीले आफ्नो जीवनमा थुप्रैलाई उद्धार गरिसकेकी छिन् । तर, उनी पढाईमा डाक्टरी गरिसकेको, राम्रो कूल खान्दान भएको, धनसम्पत्ति पनि प्रशस्त भएको र नेपाल सरकारको उच्च तहमा बसेर काम गरिसकेको व्यक्ति यो हदसम्म पीडित भएको आफूले पहिलोपल्ट भेटेको बताउँछिन् । ‘मलाई लाग्छ, यो औंलामा गन्न भ्याउने घटना होला,’ उनी भन्छिन् ।
शान्तिप्रियाको जागिर जीवन
शान्तिप्रिया जागिरमा पनि अब्बल मानिन्थिन् । पुरूष हावी भएको समाजमा विदेशमा पढेर पिएचडी गर्दै नेपाल सरकारको उपसचिव पदसम्म पुग्नु चानचुने कुरा पक्कै होइन् । शान्तिप्रियाले जागिरकै क्रममा विश्वका धेरै देश घुमिसकेकी छिन् । उनलाई अहिलेसम्म घुमेको देशहरूमा जापान औधि मनपर्छ । उनलाई घरबाट उद्धार गरिँदा पनि जापानको नाम लिनुपरेको थियो । ‘उहाँ हिँड्न नमानेपछि हामीले एक जना जापानी भाषा बोल्ने मानिस लगेर तपाईँलाई जापानिज अस्पतालमा उपचार गराएर ल्याउने प्रलोभन देखाएका थियौं,’ सुमी भन्छिन् ।
हाल घरको अवस्था
मानव कल्याण आश्रममा उनको अवस्था देखेपछि मलाई उनको घर र परिवारको विषयमा जान्ने कौतुहलता बढ्यो । म भोलिपल्टै कुपण्डोलस्थित उनको घर पुगेकी थिए । कुपण्डोलमा नाइटिंगेल स्कुलको नजिकै उनको घर रहेछ । घरमा सबैतर्फ ताल्चा लगाइएको छ । तर, घरको बाहिरी भित्तामा २ वटा बोर्ड टाँगिएको छ । जसमा लेखिएको छ, ‘डा. शान्तिप्रिया उपाध्याय ।’
शान्तिप्रियाको छिमेकबाट उनको विषयमा धेरै कुरा थाहा पाउने अवसर प्राप्त भयो । उनी रामेश्वर पौडेलकी जेठी श्रीमति पट्टिकी एक मात्र सन्तान हुन् । आमा स्वर्गवास नहुँदै बुवाले कान्छी बोकेर ल्याएछन् । यसपछि यी दुबै आमा–छोरीको बिजोग भयो । बुवाको व्यवहारबाट खुम्चिएकी शान्तिप्रियाले बिहे गरिनन् । उनी आमाकै सेवा गरेर बसिन् । ६ वर्षअघि उनलाई अर्को दुःखले घेर्यो ।
वनस्पति विभागको हलमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्तालाई पढाउने क्रममा उच्च रक्तचापले उनी एक्कासी ढल्न पुगिन् । यसपछि उनको शरीरको एउटा भागमा पक्षघात भयो । आफूलाई सेवा गर्ने छोरी नै ‘प्यारालाइसिस’का कारण ओछ्यानमा परेपछि आमाको पनि बिजोग भयो र त्यही साल निधन भयो । आमाको निधनपछि झन् एक्लिएकी शान्तिप्रिया केही वर्ष सुसारेको भरमा कुपण्डोलको सिंगो घरमा बसोबास गर्दै आइरहेकी थिइन ।
उनलाई सेवा गर्ने सुसारेको व्यवहार त्यति राम्रो थिएन । उनी बिहान खाना दिन घर आउँथिन् र दिउँसो भरी उनलाई कोठा बाहिर निकालेर जान्थिन् । साँझ परेपछि फेरि कोठामा हुलेर बाहिरबाट ताल्चा लगाएर घर फर्किने गर्थिन् । यसले शान्तिप्रियाको शारीरिक मात्र होइन, मानसिक पीडा पनि बढ्दै गइरहेको थियो । राती कोठामा थुनिनु पर्दा कैयौं रात उनले ह्विल चियरमै दिसापिसाब गर्नुपरेको थियो । उनको उद्धार गर्न जाँदा कोठा दिसापिसाबले गन्हाएको सुमी बताउँछिन् ।
शान्तिप्रियाको कुपण्डोलको हालको घरजग्गाको लालपुर्जा ललितपुर वडा कार्यालयमा सुरक्षित छ । तर, घरको साँचो कोसँग छ? त्यो कसैलाई थाहा छैन । ललितपुर वडा नं १ का वडाध्यक्ष निर्मल तण्डुकार भन्छन्, ‘उहाँको घरको लालपुर्जा वडामा सुरक्षित छ । तर, घरको ताल्चाको विषयमा हामी अनभिज्ञ छौं । सायद त्यही सुसारेसँग छ कि ?’ शान्तिप्रियाको मानसिक अवस्थामा अहिले पनि सुधार हुन सकेको छैन ।
त्यसैले उनी धेरै कुरा ठम्याउन असमर्थ छिन् । तर, उनलाई एउटा कुरा अझै याद छ, आफ्नो घर बाहिर टाँगिएको दुई वटा बोर्ड, जसमा लेखिएको छ–‘डा शान्तिप्रिया उपाध्याय’ । उनी भन्छिन्, ‘मेरोमा विदेशीहरू रिसर्च गर्न आउँछन् । उनीहरूलाई घर चिन्न सजिलो पर्छ । त्यसैले ‘डा. शान्तिप्रिया उपाध्याय’ लेखिएको बोर्ड यहाँ ल्याइदिनु पर्यो ।’
नेहा शर्मा ।