सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई १५ बुँदे मागपत्र

सत्यराज सिंह । बझाङ । जिल्ला समन्वय बझाङको तेस्रो जिल्ला सभा तथा बार्षिक समिक्षा गोष्ठीको उदघाटन गर्न बझाङ पुगेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसमक्ष बझाङबासीका तर्फबाट जिल्ला समन्वय समितिका प्रमुख खडक खड्काले १५ बुदे माग पत्र बुझाएका छन् ।

बझाङ जिल्लाको विकाससँग खप्तड पर्यटन पवर्धन पदमार्गमा निर्माणमा जोड दिई पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्ने, सुनिगाड, तल्कोटी गाढ, बाउली खोला, सेती नदीजस्ता नदीबाट विजुली निकाल्न ध्यान दिनुपर्ने, बझाङबाट भारत लगायत अन्य देशमा युवाहरु पलायन भइरहेकोले स्थानीयस्तरमा युवा रोजगार कार्यक्रममा जोड दिनुपर्ने, बझाङ ताक्लाकोट सडक निर्माणका लागि कुटनीतिक पहल र प्रयास गरिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

यता तेस्रो जिल्ला सभाको उद्घाटन सभामा बोल्दै सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारले विशेष गरेर कृषि, जलस्रोत, जडिबुटि, पर्यटन लगायत चार वटा क्षेत्रलाई प्राथमिकताको रुपमा राखेको बताउँदै बझाङ जिल्ला कृषि, जलस्रोत, जडिबुटि, पर्यटन क्षेत्रको धेरै सम्भावना भएकाले यसतर्फ प्रदेश सरकारले संवेदनशील भएर स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा अघि बढ्ने बताए । साथै यसबर्ष पनि एउटा स्थानीय तह एउटा उत्पादन एउटा प्रशोधन केन्द्र लगायतका कार्यक्रम रहेको बताए ।

कार्यक्रममा बोल्दै सुदुरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले स्थानीय सरकारले समेत बझाङ जिल्लाको विकासका लागि जोड दिनुपर्ने भन्दै स्थानीय ऐन विधेयक र कानुन बनाउनतर्फ ध्यान दिनुपर्ने र त्यस अनुसार प्रदेश सरकारसमेत अघि बढेको बताए । हिजोदेखि सुरु भएको जिल्ला समन्वय बझाङको तेस्रो जिल्लासभा सदरमुकाम चैनपुरमा आज पनि जारी रहनेछ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार ०७:२९