बाँके । मोहर्रमको आज अन्तिम दिन, ताजिया विसर्जन गरेर मोहर्रम पर्वको विदाई गरिँदैछ । मुस्लिम समुदायको बाक्लो बसोबास रहेको बाँकेमा करोड बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिकरुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर बनाउने गर्छन् ।
बाँकेमा भने मोहर्रममा केही फरक दृष्यहरु देख्न पाइन्छ । मुस्लिम समुदायको यस पर्वमा हिन्दुहरु पनि सहभागी हुन्छन् । हिन्दु समुदायमा पनि ताजिया राख्ने चलनको सुरुवात हुन थालेको बताउँछन्, शान्ति सद्भाव समिति बाँकेका सल्लाहकार कृष्णप्रसाद श्रेष्ठ । उनले एउटा समुदायको पर्वमा अर्को समुदायको बलियो आस्था रहेको बताए ।
नेपालगन्ज उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका श्रेष्ठले नेपालगन्ज सद्भावको शहर भएकै कारण यहाँ सबै समुदायको चाडपर्वमा सबैको उत्तिकै आस्था रहेको बताए । उनले भने, ‘नेपालगन्ज हिन्दू, मुस्लिम, शिख, इसाई लगायतका समुदाय एक अर्काका धर्म, संस्कृति र परम्परासँग जोडिन्छन्, सबैको आस्था सबै धर्मसँग जोडिएको शहर नेपालगन्ज नै हो ।’
आज मुस्लिम समुदायहरुले बाजागाजासहित नेपालगन्ज लगायतका विभिन्न स्थानमा कर्बलामा ताजिया विसर्जनका लागि तयारी गरिरहेका छन् । यसमा हिन्दू समुदायका व्यक्तिहरुको उत्तिकै साथ रहेको छ । मोहर्रमको विशेष दिन भएकाले व्रत बस्ने, गरिब गुरुवालाई खाना खुवाउने, नमाज पढ्ने र राम्रो कपडा लगाउने प्रचलन छ । आज हिन्दु र मुस्लिम समुदायका व्यक्तिहरुले शुभकामनासमेत आदाप्रदान गरिरहेका छन् ।
शान्ति सद्भाव समिति बाँकेका अध्यक्ष नन्दलाल वैश्यले नेपालगन्ज नेपालकै मिश्रित समुदायको बसोबास रहेको शहर भएकै कारण यहाँ सबै धर्मप्रति सबैको आस्था र सम्मान कायम रहेको बताए । ‘एउटा धर्मको व्यक्तिले अर्को धर्मप्रति आस्था राख्नु एकअर्काप्रतिको उच्च सम्मान र आदर हो । यो नेपालगन्जमा सदियौंदेखि चलिरहेको छ,’ नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका वैश्यले भने ।
मुस्लिम समुदायका अगुवा अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले आज विहानैदेखि ताजिया विसर्जनको तयारी भइरहेको बताए । नेपालगन्ज उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्षसमेत रहेका चुन्नाले भने, ‘आज विहानैदेखि हिन्दू समुदायका साथीहरुले फोन, एसएमएसमार्फत शुभकामना दिइरहनु भएको छ । यसले नेपालगन्जमा रहेको धार्मिक एकता र सन्देशलाई प्रवाह गरिरहेको छ । यहाँ सबै धर्म र समुदायका चाडपर्वमा सबैको बलियो आस्था रहन्छ ।’
इस्लामिक नयाँ वर्ष ‘हिजरी सम्वत् १४४१ को १० औं तारिखका दिन मोहर्रम मनाउने गरिन्छ । मोहर्रम हिजरी सम्वतको पहिलो महिना हो । हिजरी सम्वतको ५ तारिखदेखि सुरु हुने मोहर्रमको १० औं दिन आज विशेष महत्वको हुने गर्दछ । इराकको कर्वला शहरमा पैगम्बर मोहम्मदका नातिसहित परिवारका सदस्य र अन्य शहीद भएको सम्झनामा मोहरम मनाउने प्रचलन छ ।
नेपालगन्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले आ–आफ्नो घर अगाडि ताजिया राखेर रातभरि जागरण बसेर ताजियादारी गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ । ताजिया विसर्जन भएको दुई दिनपछि हुने विशेष फातियामा गरिब तथा विपन्न समुदायका व्यक्तिहरुलाई खाना पकाएर खुवाउने प्रचलन रहेको छ ।
सत्यपाटी - ।