सूचनाको शक्ति - The Power Of Information

        

भारतको महत्वकांक्षी चन्द्रयान–२ असफल, प्रधानमन्त्री मोदी निराश

नयाँ दिल्ली । भारतको महत्वकांक्षी अन्तरिक्ष अभियान चन्द्रयान–२ अन्तिम चरणमा आएर असफल भएको छ । चन्द्रयान–२ को विक्रम ल्याण्डर नेपाली समय अनुसार शनिबार बिहान पौने दुईदेखि पौने तीन बजेको बिचमा चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो ।

तर चन्द्रयान–२ को विक्रम ल्याण्डरको सम्पर्क बैंग्लोरमा रहेको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)को नियन्त्रण कक्षसँग अवतरणको केही समय पूर्व टुटेको हो । इसरोका अध्यक्ष के सिवनले भनेका छन्, ‘विक्रम ल्याण्डर योजना अनुसार नै अवतरणको क्रममा थियो, चन्द्र सतहबाट २.१ किलोमिटरको दूरीसम्म सबै सामान्य थियो । तर त्यसपछि सम्पर्क टुट्यो । हाल डेटाको समीक्षा भइरहेको छ ।’

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी प्रत्यक्ष अवलोकन गर्न र हौसला बढाउनका लागि प्रधानमन्त्री नरेन्द्र मोदी बैंग्लोरमा रहेको इसरोको मुख्यालयमा गएका थिए । सबै राम्रो भइरहेको थियो, तर अन्तिम समयमा इसरोको केन्द्रमा तनावको अवस्था सिर्जना भएको र वैज्ञानिक चिन्तामा देखिएका थिए ।

केही समयपछि इसरोका अध्यक्ष प्रधानमन्त्री मोदी नजिक गए र अवतरण असफल भएको जानकारी दिए । प्रधानमन्त्री मोदी फर्किन लाग्दा इसरोका पूर्व अध्यक्ष के कस्तुरीरंगन र के राधाकृष्णनले उनको काँधमा हात राखेर सान्त्वना दिएका थिए । त्यसको केही समयपछि इसरोका अध्यक्षले वक्तव्य जारी गरेर इसरोसँग सम्पर्क टुटेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुसँग भने, ‘जीवनमा उतार चढाव आउँछन् । सम्पर्क टुट्ने बेलासम्म मैले देखिरहेको थिएँ । प्राप्त भएको उपलब्धी पनि सानो होइन । देशले तपाईँहरुसँग गर्व गरेको छ । यो अभियानले धेरै कुरा सिकाएको पनि छ ।’

विक्रम ल्याण्डरलाई पहिलो चन्द्रमाको कक्षमा रहेको अर्बिटरबाट अलग गर्नु पर्ने थियो र त्यसपछि सतह तर्फ लैजानु पर्ने थियो । ल्याण्डरमा रहेको प्रज्ञान नामक रोबर अवतरणपछि बाहिर निकाल्ने योजना थियो । चन्द्रयान–२ लाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने तयारी गरिएको थियो ।

प्रकाशित मिति : २१ भाद्र २०७६, शनिबार ०७:४३