सूचनाको शक्ति - The Power Of Information

        

सिमावारि निगरानी, सिमापारि बालबिवाह

प्रतिकात्मक तस्वीर

प्रतिकात्मक तस्वीर


बाँके । ‘हाम्रो सामान्य परिवार हो । बुवा काम खोज्न शहर जानुहुन्छ, आमा घरकै काममा खटिनुहुन्छ । म २० बर्षकी भए, कक्षा ११ मा पढ्छु । चार बर्षअघि मेरो बिहे हुने निश्चित थियो, घरायसी कारणले रोकियो । मेरो लागि राम्रो भयो । अहिले त बालबिबाह रोक्न आफैं बाल क्लवमा आवद्ध भएकी छुँ,’ बाल क्लवमा सक्रिय एक किशोरीको भनाई हो ।

आफु बाल क्लवमा आवद्ध भएपछि बुवा आमालाई चिन्ता थपिएको बताउने गुप्ता थरकी उनले आफ्नो नाम भने खुलाउन चाहिनन् । ‘हामी किशोरीले गाँउमा बालबिबाह रोक्न अभियान चलाएका छौ । यो अभियान सबैलाई मन पर्दैन । केहीले मात्रै हाम्रो कामलाई राम्रो छ भन्छन् तर सहयोग भने गर्दैनन्,’ उनले सुनाइन् ।

गाउँमा हुने बालविवाह रोक्न प्रहरी आए पनि मेरै बुवाको नाम लिएर फलानोकी छोरीले बोलाएको होला, फलानोकी छोरी आजभोली नेता बनेकी छ भन्दै कुरा काट्ने गरेको उनले बताइन् । ‘बुवा आमालाई मेरो बारेमा निकै तनाव छ,’ उनी भन्छिन्, ‘मलाई छिटो बिहे गर्न भन्नुहुन्छ । कतिपयले बुवालाई छोरी तह लगाउ भनेर धम्क्याउँछन् पनि ।’

उनका अनुसार यस्तो समस्या मधेसी समुदायमा अधिक छ । मधेसी समुदायमा अहिले पनि बालविवाह रोकिएको छैन । ‘यही समुदायमा १६ बर्षमै बिहे हुनुपर्ने माग गरिरहेका गर्छन्,’ उनले भनिन्, ‘बुवाआमालाई पनि १६ पुगेपछि छोरीको बिहे गरिदिने हतारो हुन्छ । यसले कानुनलाई नै चुनौती दिएको छ ।’ मधेशी तथा मुस्लिम समुदायमा कम उमेरमा विवाह गर्ने चलन कायमै छ ।

नेपालमा कानुनले नै २० बर्षभन्दा कम उमेरमा बिहे गर्ने छुट छैन । नेपालमा सरकार र सरोकारवाला निकायको निगरानी हुन थालेपछि बाँकेका अभिभावकहरूले भारतमा लगेर आफ्ना बालबालिकाको विवाह गर्ने गरेको पाइएको छ । यहाँ कानुनीरुपमै बालबिवाहमा कडाइं गरिएपछि भारतका मन्दिरमा विवाह गर्ने नेपाली बालबालिकाको सङ्ख्या दिन प्रतिदिन बढ्दो क्रममा रहेको छ ।

बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा एक मुस्लिम किशोरीको विहे भएको खबर चार महिनापछि गाउँभरि फैलियो । ‘न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो,’ वनकट्टीका विनोद बर्मा भन्छन्, ‘घरपरिवार र केही नातेदार मिलेर १८ वर्षकी ती किशोरीको गुपचुपमै भारतीय केटासँग विहे गराइयो ।’ भारतीय भूमिमा लगेर छोरीहरूको गुपचुप विहे गर्ने प्रवृत्ति बाँकेमा मात्र होइन भारतसँग सीमाना जोडिएका अरु जिल्लामा पनि बढेको उनको भनाई छ ।

‘कम उमेरमा विहे गर्दा छिमेकीलाई नै जानकारी हुँदैन,’ उनले भनिन् । गाउँघरमा मात्र होइन, नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरमा एक १४ वर्षिया किशोरीको विहे २१ वर्षका युवासँग हुने पक्कापक्की भइसकेको छ । ‘ती किशोरीको बिहे भारतको मन्दिरमै गर्ने तयारी भइरहेको भए पनि रोक्न गाह्रो छ,’ बाल अधिकारकर्मी खुसी चिडिमारले भनिन्, ‘यहाँ बिहे भए त रोक्न सकिएला, भारतमा बिहे गर्दा रोक्न गाह्रो छ ।’

भारतमा १८ वर्षमै विवाह गर्नसक्ने कानुनी व्यवस्थाका कारण नेपाली अभिभावकले छोरीहरूको विवाह गर्ने थलो उतै बनाउन थालेको बताउँछन्, मधेशी समुदायका अगुवा रामकुमार बर्मा । बालविवाहले केटा पक्षभन्दा केटी पक्ष बढी पीडित हुन्छन् । बर्माले भने, ‘केटा पक्षले विवाह गरेर गौना नगरे पनि निश्चित रकम दिएर उम्किन्छन् । तर, गौना बिग्रेको केटीको विवाह हुन समस्या छ । यस्ता किशोरीले मधेसी समुदायमा न्याय पाउने सम्भावना कम हुन्छ ।’

मधेसी समुदायमा छोरीको सानैमा विवाह गरेर केही समय माइतीमा छोडिदिने र उमेर पुगेपछि पुनः अन्माएर लैजाने प्रचलनलाई गौना भनिन्छ । अभिभावकले चाहेको बेलामा आफ्ना नाबालक छोरीको विवाह गरिदिने परम्पराले किशोरी पीडित छन् । विवाह के हो भनेर नबुझ्दै भएका विवाहले अधिकांश बालिका युवा अवस्थामा पुग्दा अलग हुन बाध्य छन् । पुन्य कमाउने नाममा सानैमा कन्यादान गरिदिने चलनले बालिकाको बिहे चाँडै हुने गरेको उनको भनाई छ ।

तराईमा छोरीको सानैमा विवाह गर्ने अनि गौना गर्ने प्रचलन पुरानै हो । ‘धार्मिक विश्वासमा रहेको यो प्रचलनले मधेसी समुदायका महिला बढी पीडित छन्,’ मटेहिया निवासी पत्रकार विनय दिक्षित भन्छन्, ‘छोरीचेलीको विहेबारे कानुनी कारवाहीमा परिने डरले अभिभावकहरु बोल्न चाहँदैनन् ।’ लगनको नेपालमा बिहे गर्न कानुनी बन्देज भएकै कारण भारतीय मन्दिरमा विवाह गर्ने अधिकांश चेलीहरु नेपाली हुने गरेको पत्रकार दिक्षितको भनाई छ ।

एक वर्षअघि बाँके प्रहरीले बाँकेको विकट मटेहियामा बालविवाह विरुद्ध अप्रेशन चलाएर ११ वटा विवाह रोक्यो । बालबालिकालाई सम्झाएर छाड्यो । त्यसपछि स्थानीयले छोरीहरुको विहे गर्ने स्थान ८ किलोमिटर टाढा रहेको भारतको श्रावस्ती जिल्लाको जगपति मन्दिरलाई बनाए । बालविवाह तराईका दलित तथा विपन्न समुदायमा बढी छ । ‘दाइजो कम दिए पुग्ने भनेर धेरै अभिभावक छोरीको कम उमेरमै विवाह गरिदिन्छन्,’ पत्रकार दिक्षितले भने ।

कतै रजस्वला नहुँदै विवाह गरिदिँदा पुन्य प्राप्ति हुने विश्वासले सानैमा विवाह गर्ने प्रचलन छ भने विपन्न समुदायमा कम उमेरमा विवाह गर्दा कम दाइजो दिए पुग्छ भन्ने बुझाई अहिले पनि ग्रामीण बस्तीहरुमा कायमै छ । उमेर नपुग्दै भारतीय भूमिमा लगेर कतिको विवाह भयो त्यसको एकीन तथ्याङ्क भेटिँदैन । पत्रकार दिक्षितका अनुसार मधेसी समुदायका कतिपय अभिभावकले नागरितामा उमेर बढाएर भए पनि विहे गरिदिने चलन बढेको छ ।

‘जब उमेर बढ्दै जान्छ उनीहरुमा आउने परिवर्तनले समस्या ल्याउँछ,’ पत्रकार दिक्षित भन्छन्, ‘शिक्षा नभएसम्म यो कुप्रथा हटाउन गाह्रो छ, जनचेतना जगाउन सबै लाग्नुपर्छ ।’ उनको भनाई अनुसार बालविवाहले तराईका बालिका शिक्षाबाट वञ्चित छन् भने अभिभावक आर्थिक समस्यामा छन् । बालविवाहले तराईमा बहुविवाह बढेको बताउँदै उनले भने, ‘विवाह भएपछि सिन्दुर लगाउनुपर्ने भएकाले सिन्दुर लगाएर विद्यालय जान मान्दैनन् ।’

नेपाल–भारतबीच सदियौंदेखि रोटीेबेटीको सम्बन्ध छ । यहाँका ५० प्रतिशतबढी छोरीचेलीको बिहे भारतमा हुन्छ भने भारतबाट बुहारी भित्र्याउने क्रम पनि उस्तै छ । अधिवक्ता रामकुमार दिक्षित विवाहबारे किशोरकिशोरीमा सामान्य जानकारी नहुँदै अभिभावकको बाध्यतामा गरिने बिहेले नै समस्या ल्याइरहेको बताउँछन् । पछिल्लो समयमा बालविवाहलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन आएको भए पनि बालविवाह भने रोकिएको छैन ।

बालबिवाहका बारेमा बाँके प्रहरी बेखबर भने छैन । तर अभिभावकहरुले नै प्रहरीको आँखा छलेर विवाह गरिदिन थालेपछि कानुनी दायरामा ल्याउन समस्या भएको बताउँछन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर वली । उनका अनुसार अभिभावक नै बालविवाहका लागि अग्रसर हुन थालेपछि प्रहरीले नियन्त्रण अभियानमा पूर्ण सफलता पाउन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज एवं प्रहरी निरीक्षक दीपक मल्लका अनुसार बालबिवाहको क्रममा बढ्दो छ । कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७१/०७२ देखि २०७४/०७४ सम्म ती वर्षमा प्रतिबर्ष १÷१ वटाका दरले तीन वटा मुद्दा दर्ता भएका छन् भने आव.२०७४/०७५ मा दुई वटा दर्ता भएका छन् । आव.२०७५/०७६ मा मुद्दा दर्ताको संख्या ह्वात्तै बढेको छ । यस आवमा ६ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरी निरीक्षक दीपक मल्लका अनुसार प्रहरीमा दर्ता भएका मुद्दाबाहेक बालविवाह प्रहरीले रोकेको तथ्यांक राख्ने गरिएको छैन । यसले पनि जिल्लामा कति संख्यामा बालबिवाह रोकिएको वा बालबिवाह नगर्न सम्झाईबुझाई गरिएको भन्ने एकीन तथ्यांक नै छैन । प्रहरीले भने आव. २०७३/०७४ देखि हालसम्म उमेर नपुग्दै विवाह गर्ने झण्डै ५५ जनाको बालविवाह रोकेको अनुमान छ ।

शहरमा अभिमुखिकरण, गाउँमा बालविवाह

बालविवाह नियन्त्रण गर्न कानून बनेको छ, सजायको व्यवस्था छ, नीतिगत कुरामा बालविवाह नियन्त्रणको काम राम्रै भएको छ । तर, व्यवहारमा त्यसको ठीक उल्टो भइरहेको छ तर पनि समाजलाई त्यसको चिन्ता छैन । न त चिन्ता अभिभावकहरुलाई नै छ बालविवाह गर्ने जोडीहरुलाई । जिल्लाका गाम्रीण क्षेत्रहरुमा बालविवाहको दर बढेको छ । सिमावारि निगरानी हुन थालेपछि सिमापारि पुगेर बिहे गर्नेको संख्या धेरै छ ।

बालविवाह न्युनिकरणका लागि जिल्ला स्थित सरकारी तथा गैर सरकारी संस्थाहरुले वर्षेनी लाखौँ रकम खर्च गरेपनि अझै बालविवाह नियन्त्रण हुन सकेको छैन । बालविवाह ग्रामीण क्षेत्रमा अधिकांश हुने भए पनि जनचेतनामूलक कार्यक्रमहरु सहरमा हुने गरेको पाइन्छ । जिल्लामा बालविवाह न्यूनीकरणका काम गर्ने सरोकारवाला निकायहरु भने जनचेतनाको अभावले बाल विवाह हुने गरेको बताउँछन् ।

बालविवाह न्यूनीकरण सम्बन्धी अधिकांश जनचेतनामूलक कार्यक्रमहरु शहरमुखी मात्र हुने गरेको बाल अधिकारकर्मी खुसी चिडिमारले बताइन् । ‘शहरका एक÷दुई वटा विद्यालयमा जनचेतनामूलक कार्यक्रम गरेर मात्र कसरी बालबिवाह न्यूनीकरण हुन्छ ?’ उनले भनिन्, ‘यस्ता कार्यक्रमलाई स्थानीय तहहरुले गाउँगाउँमा सञ्चालन गर्नुपर्छ ।’ उनका अनुसार जिल्लामा हुने कुल बालबिवाहमध्ये ९० प्रतिशत ग्रामीण क्षेत्रमै हुने गरेका छन् ।

प्रविधिको दुरुपयोगले पनि बालविवाह

प्रविधिको दुरुपयोगले पनि बालविवाह हुने गरेको पाइन्छ । फेसबुक ट्वीटरजस्ता सामाजिक सञ्जालको दुरुपयोग पनि बालविवाहको कारण रहेको बाल अधिकारकर्मीहरुको भनाई छ । सामाजिक सञ्जालको सहिरुपमा सदुपयोग नगर्दा शहर क्षेत्रहरुमा बालबिवाहको जोखिम बढ्दो छ । अभिभावकहरुले बालबालिकालाई निगरानीमा राख्न नसक्दा बालबिवाह जोखिमपूर्ण बन्दै गइरहेको बताउँछन्, बालअधिकारका क्षेत्रमा काम गर्दै आइरहेका पत्रकार विजय मल्ल ।

‘अर्को बालविवाह हुने सबैभन्दा ठुला कारण जनचेतनाको अभाव नै हो,’ पत्रकार मल्ल भने, ‘ग्रामीण भेगमा बालबिवाहका बारेमा जनचेतनाको अभाव छ ।’ उनका अनुसार मधेसी समुदायमा छोरा र छोरीबीचको बिभेद पनि बालबिवाहको कारण हो । छोरालाई पढाउने अभिभावकहरुमा छोरीलाई अरुको घर जाने जात भनेर कमै उमेरमा बिहे गरेर छुटकारा पाउने सोंचले जरा गाडेको छ,’ पत्रकार मल्लले भने ।

छोरा पढाउन ऋण नै खोजेर लगानी गर्ने तयार हुने हाम्रो समाज छोरीलाई पढाउन आफ्नो आर्थिक अवस्था नियाल्छ । ‘हाम्रो समाज छोरा पढाउन जतिसुकै ऋण बोक्न तयार हुन्छ,’ उनले भने । स्थानीय क्षेत्रमा स्थानीय निकायका प्रतिनिधि र विद्यालयका शिक्षकहरुले अभिभावकलाई कानुनी प्रक्रियाका बारेमा जानकारी दिने गरेमा बालबिवाहलाई न्यूनीकरण गर्न सकिने उनको तर्क छ ।

प्रकाशित मिति : १९ भाद्र २०७६, बिहीबार १०:३१