सूचनाको शक्ति - The Power Of Information

        

तोडिँदै लैङ्गिक विभेद, छोरीलाई बंश स्वीकार्ने दम्पत्ती सम्मानित

सत्यराज सिंह । बझाङ । छोरीलाई बंशको रुपमा स्वीकार गर्ने आठ दम्पत्तीलाई चैनपुरमा सम्मान गरिएको छ । संघीय सांसद आशा बिकको पहलमा जिल्ला समन्वय समितिले सम्मानित गरेको हो । छोरीलाई मात्र सन्तानको रुपमा लिएको भन्दै आठ वटा दम्पत्तीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा दुर्गाथली गाउँपालिकाका गिरी जप्रेल र डल्लीदेवी जप्रेल, छबिस पाथीभेरा गाउँपालिकाका दमन भण्डारी र प्रमिला भण्डारी, जयपृथ्बी नगरपालिकाका कलक ओली र धौलीदेवी ओली, साइपाल गाउँपालिकाका बलभान बिक र खिउटीदेवी बिक, मष्टा गाउँपालिकाका रामसिंह आग्री र पदमकला आग्री तथा जयपृथ्बी नगरपालिका ऐनबहादुर सिंह र डम्मरादेवी सिंह रहेका छन् ।

वडाध्यक्षसमेत रहेका कलक ओलीले तीन छोरी भएपछि आफुले छोरी छोरासरह नै मानेर परिवार नियोजन गरेको बताए । वडाध्यक्ष वलीजस्तै अन्य दम्पत्तीले पनि छोरीलाई नै छोरासरह मानेर परिवार नियोजन गरेर थिए । बझाङमा छोरा नभए अपुताली (छोरा नभएको) पर्यो भन्ने सामाजिक मान्यताले जरा गाडिरहेका बेला छोरीलाई सन्तानको रुपमा स्वीकार गर्ने दम्पत्तीलाई सम्मान गरिएको सांसद आशा बिकले बताइन् ।

उनले अर्काको घर जाने जात भनेर हेला गर्ने मान्यतालाई तोड्दै छोरीलाई पनि छोरासरह सम्मान गरेर लैगिंक विभेदलाई हटाउन छोरा नभएका दम्पत्तीलाई सम्मान गरिएको सांसद बिकले बताइन् । उनले भनिन्, ‘छोरीमात्रै जन्माएर सन्तानको रहर पुरा हुनु महत्वपूर्ण कुरा हो । यसले छोरीहरुको सम्मान बढ्छ, लैङ्गिक बिभेद पनि हट्दै जाने र छोरी पनि छोरासरह नै हो भन्ने बारेमा संस्कार बसाल्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्दछ ।’

हरितालिका तिजको अवसर पारेर लैङ्गिक असमानता हटाउन पनि यो कार्यक्रमले थप टेवा मिलेको छ । सम्मान कार्यक्रममा सांसद बिक, संविधान सभा सदस्य अफिलाल ओखेडा, जिल्ला समन्वय समितिका प्रमुख खडक खड्कालगायतले दोसल्ला र प्रमाण पत्रसहित सम्मान गरेका थिए । सम्मानले छोरीलाई बंश स्वीकार गर्ने दम्पतीका साथै महिलाहरुको पनि आत्म सम्मान बढेको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार १२:००