सूचनाको शक्ति - The Power Of Information

        

‘गौहत्या गरिएको भन्ने हल्ला निराधार’

फाइल तस्वीर

बाँके । नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलसम्शेर राणाले यहाँस्थित काञ्जी हाउसमा रहेका गाईहरु दैलेखको श्रीस्थानको जङ्गलमा उपमहानगरपालिकाले नै पठाएको बताएका छन् । मेयर राणाले भने, ‘त्यहाँका स्थानीयले गाईपालनमा चासो देखाई उपमहानगरपालिकामा गाई पाउँ भनि निवेदन दिएका कारण केही गाई किसानहरुका लागि र केही श्रीस्थान जङ्गलमा छोड्न पठाइएको हो ।’

बिहीबार राती दैलेख लैजाने क्रममा सुर्खेतको कट्कुवा जङ्गल नजिक ट्रकमा लोड गरिएका गाईहरु मरेको जिकिर गर्दै मेयर राणाले भिरबाट खसालेर गौहत्या गरिएको भन्ने कुरा निराधार भएको दावी गरेका छन् । यहाँबाट ट्रकमा पठाइएको र उपमहानगरपालिकाका कर्मचारीसमेत साथमा गएको हुँदा त्यसरी भिरबाट खसाएर गौहत्या गरिएको हुनै नसक्ने उनको भनाई छ । सुर्खेतको कट्कुवामा विहीबार राती नेपालगन्जबाट दैलेखका लागि लगिएका करिब ३०० गाईमध्ये २३ वटा गाई मृत भेटिएका थिए ।

कर्णाली प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायव महानिरीक्षक पूर्णचन्द्र जोशीका अनुसार दैलेख लैजान लागिएका ठूलो मात्रका गाई कटकुवा क्षेत्रमा शुक्रबार साँझसम्म छरपस्ट देखिएका छन् भने मरेका गाईको प्रारम्भीक अनुसन्धान गर्दा भिरबाट खसाएको हुनसक्ने देखिन्छ । विरेन्द्रनगर नगरपालिका अन्तरगतको पशुसेवा शाखाका चिकित्सकहरुले मरेका गाईको पोस्टमार्टम गर्ने काम गरिरहेको प्रहरी नायव महानिरीक्षक जोशीले बताए ।

उनका अनुसार पशुसेवा शाखाका चिकित्सक नारायण न्यौपानेका अनुसार कट्कुवामा भिरबाट खसाई मारिएका भनिएका गाईको पोस्टमार्टम पछि आउने रिपोर्टका आधारमा घटनाका बारेमा यकिन थाहा हुनेछ । गौहत्याका विषयमा चौतर्फी आलोचना भएपछि नेपालगन्ज उपमहानगरपालिकाले प्रेस विज्ञप्ती नै जारी गरेरसुर्खेतमा भिरबाट खसाई गौहत्या गरिएको नभई रोगी, विरामी र अशक्त गाईको स्वभाविक निधन भएको बताएको छ ।

विज्ञप्तीमा दैलेख स्थित श्रीस्थान जङ्गलमा पठाइएका गाईको विच बाटोमै मृत्यु भएको घटनाले दुखी बनाएको उल्लेख गर्दै उक्त घटनाको सत्यतथ्य छानविन गरि दोषिमाथि कारबाहीका लागि माग गरिएको छ । उपमहानगरपालिकाका कार्यबाहक मेयर सुनिलसिंह हमालद्वारा शुक्रबार जारी विज्ञप्तीमा नेपालगन्जमा पशुचौपाया नियन्त्रण एकदमै चुनौतीका रुपमा रहेको उल्लेख गर्दै यहाँबाट पठाइएका गाईको हत्या नभएको दावी गरिएको छ ।

विज्ञप्तिमा गाईहरु अशक्त, रोगी भएर स्वभाविक मृत्यु भएका हुन् वा अन्य कारणले भन्ने विषयमा यथार्थ छानविन गर्न छानविन समिति गठन गरिने उल्लेख गरिएको छ । छाडा पशुचौपायाका कारण दिनहँुजसो हुने सवारी दुर्घटनाको न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनका लागि सुरक्षित स्थानमा स्थानान्तरण अत्यावश्यक रहेकाले स्थानीय प्रशासनको समन्वयमा काञ्जी हाउसमा रहेका गाईलाई सुर्खेत हुँदै दैलेखसम्म सुरक्षित स्थानमा पुर्याउने उद्देश्य बमोजिम सुरक्षित साथ पठाइएको विज्ञप्तिमा भनिएको छ ।

‘नेपालको संविधान अनुसार, गाई राष्ट्रिय जनावर भएको, हिन्दु धर्मावलम्बीले माताको रुपमा पुजा र सम्मान गर्ने भएकाले गाईलगायत अन्य पशुको उचित संरक्षण र व्यवस्थापनका लागि उपमहानगरपालिका सदैव सचेत र संवेदनशिल रहँदै आएको छ र रहनेछ,’ विज्ञप्तीमा भनिएको छ । गौहत्या घटनाले चर्को रुप लिएपछि शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले पनि एक विज्ञप्ती निकाल्दै गौहत्या घटना क्रुर भएको भन्दै घटनामा संलग्नमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

उनले यस घटनामा तत्कालै प्रभावकारी रुपमा छानविन तथा अनुसन्धान अघि बढाईनुपर्ने बताए । केही साताअघि उपहानगरपालिकाका मेयर राणाको अध्यक्षतामा छाडा पशुचौपाया व्यवस्थापन समिति गठन भएको थियो । छाडा पशुचौपाया व्यवस्थापन गर्न गठन गरिएको समितिका सचिव समीरमान श्रेष्ठले यहाँबाट गाई अन्यत्र पठाउँदा नेपालगन्ज उपमहानगरपालिकाले कुनै जानकारी नदिएको भन्दै राजिनामा दिएका छन् ।

एक महिनादेखि गाई बचाऊ अभियानमा सक्रियरुपमा लागेका नेपालगन्ज ग्यालरीका पदाधिकारीहरुलाई कुनै जानकारी नदिएको र गौहत्यामा संलग्न जो कोहीलाई कानूनी दायरमा ल्याउन माग गर्दै भन्दै सचिव समीरमान श्रेष्ठले राजिनामा दिएका हुन् । स्मरणहोस्, गाई बचाऊ अभियानकै सदस्य तथा नेपालगन्ज मेडिकल कलेजका डा.विनोद कर्णले आफ्ना सामाजिक सञ्जाल फेसबुकमा नेपालगन्जको काञ्जी हाउसबाट दैलेखको लागि गाई पठाएको दावी गरेका छन् ।

उनले फेसबुक स्टाटसमा लेखेका छन्, ‘कान्जी हाउसमा रहेका करिब ३ सयको हाराहारीमा गाई बाच्छाबाच्छीलाई दैलेख पठाइयो । अब सडकमा रहेका छाडा चौपायालाई कान्जीहाउस लाने तयारी ।’ नेपालगन्जबाट दैलेखको श्रीस्थानकालागि लगिएका गाईहरु सुर्खेतको जंगलमा मृत भेटिएपछि सामुहिक गौहत्या भएको भन्दै चौतर्फी बिरोध भइरहेको छ । गाईको मृत्युको विषयलाई लिएर सामाजिक सञ्जालमा नेपालगन्ज उपमहानगरपालिकाको कडा आलोचना गर्दै छानविन गर्दै दोषीलाई कारवाही माग गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गाई मृत्युको घटनामा अनुसन्धान गरिरहेको छ । वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री भएको सहायक प्रहरी निरीक्षक प्रमोदसिंह ठकुरीले सञ्चारमाध्यमलाई बताएका छन् । तीमध्ये ना६ख ९९०५, ९१७७, ४९४९ र ना५ख १०१५ नम्बरका ट्रक जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले असल नियतका साथ गाई दैलेख पठाइएको भन्दै के कति कारणले यो अवस्था आयो सम्बद्ध निकायबाट बुझ्ने काम भइरहेको बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७६, शनिबार ०७:४५