सूचनाको शक्ति - The Power Of Information

        

प्रहरी, म अनि तपाईं आन्दोलनकारी

तपाईले हानेको ढुङ्गाको टुक्राले
मेरो गर्धनमा लाग्दा
तपाईं कति खुशी हुनुभो ।
तपाईलाई तपाईको जीत भएको आभाष भो है ?
तपाईले हानेको ढुङ्गा नलागोस भनेर
म कुक्रुक्क परेर प्लास्टिकको सिल्डमा छेकिदा
तपाईं झनै हौसिँदै अर्को ईटाको टुक्रा प्रहार गर्नुहुन्छ ।
तपाईं स्वतन्त्र हुनुहुन्छ
स्वतःस्फुर्त हुनुहुन्छ ।
तर,
मलाई तपाईंसँग प्रतिकार गर्न पनि आदेश चाहिन्छ
मा……..थीको आदेश ।
म चुपचाप तपाईले प्रहार गरेका ढुङ्गाका बर्षादहरु सहिदिन्छु ।
किनकी,
मैले तपाईलाई एक लाठी हान्दा,
मानवअधिकारको उल्लङ्घन हुन्छ ।
शक्तिको दुरुपयोग हुन्छ ।
कयौं क्यामेराका लेन्सहरु मेरो अगाडि तेर्सिन्छन् ।

भीड नियन्त्रणको गह्रुँगो ड्रेसमा
हातमा लाठी र सिल्ड लिएर
तपाईले हानेका ढुङ्गा र ईटाका टुक्राहरु छेकिरहँदा
तपाईले कहिल्यै सोच्नुभएन कि
म बिहानैदेखि भोको पेटमा तपाईका प्रहारहरु सहिरहेछु ।
तपाईका सुन्नै नसकिने गालीहरु सहिरहेछु ।
चुपचाप चुपचाप….

महाशय !
तपाईको बिषय अरुसँग हुन्छ
तपाईको रिस अरुसँग हुन्छ
तर त्यो रिस मलाई पोख्नुहुन्छ
थाहा छ, तपाईं कुरा बुझ्नुहुन्छ
तर बुझेर पनि बुझ पचाउनुहुन्छ ।

के तपाईलाई थाहा छैन र ?
मेरो पनि त परिवार छन्
घरमा बुढा रोगी बा आमा छन्
साना साना लालाबाला छन्
जिम्मेवारी बोकेकी जहान छिन्
यी सबैलाई छाडेर तपाईकै रक्षार्थ खटिएको हु महाशय ।

परार भूकम्प गयो
भूकम्पले मेरो पुरै घर भत्कियो ।
म घर जान पाइन ।
किनकी,
मलाई तपाईको घरमा पुरीएका सामानहरु निकाल्नु थियो ।
पोहोर बाढी आयो
मेरो पुरै घर बाढी पसेर तहसनहस भो ।
तै पनि म घर जान पाइन ।
किनकि,
मैले तपाईको घरमा पसेको बाढीबाट तपाईको परिवार बचाउनु थियो ।
हरेक साल दशैं आउँछ
तिहार आउँछ
तपाईं हाँसी खुशी परिवारसँग चाडबाड मनाउनु हुन्छ
म त्यो चाडबाड मनाउन पाउन्न ।
किनकी
त्यो बेला झनै चनाखो भएर
तपाईहरुलाई नै केही होलाकी भनेर
राती पनि नसुतिकन चोकचोक कुद्नुपर्छ ।

के रिस तपाईलाई मात्र उठ्छ ?
के हृदय तपाईको मात्र छ ?
महाशय एकपटक सोच्नुस त !
म पनि तपाईं जतिकै उत्तेजित भए भने के होला ?
म पनि तपाईं जत्तिकै असंयमित भए भने के होला ?
तपाईंसँग भएका ढुङ्गाका टुक्राहरु मलाई बर्साइरहँदा
मसँग भएको राईफलको ट्रेगर दबाए भने के होला ?

 

#कविन्द्र घिमिरे, ककनी–२ नुवाकोट

प्रकाशित मिति : १२ भाद्र २०७६, बिहीबार ०८:२३