बाँके । नेपालगन्जमा रहेको ऐतिहासिक प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दीरको पर्खाल भत्काएर नयाँ सटर निर्माण गर्न सुरु भएसँगै विवाद बढेपछि विस्थापित भएका पसल सञ्चालकहरु आन्दोलित भएका छन् । उनीहरुले मन्दीरको पर्खाल भत्किएसँगै सटर निर्माणका क्रममा विवाद बढेपछि मन्दीरमा सुरक्षा चुनौति बढेको चिन्तासमेत व्यक्त गरेका छन् ।
घर तथा पसलका सटरहरु भत्काइएपछि विस्थापित बनेका पसलेहरुले सटर निर्माण रोक्न केही व्यक्तिहरु लागिपरेको गुनासो गर्दै आफूहरु पीडित बनेको बताएका छन् । धम्बोझीदेखि त्रिवेणी मोडसम्मको सडक र नाली निर्माणका क्रममा मन्दीरको पर्खाल भत्काइएपछि विस्थापित भएका पसल सञ्चालकहरु सटर निर्माणका क्रममा विवाद बढेपछि रोजीरोटी गुमेको भन्दै चिन्तित बनेका छन् ।
‘सडक र नाली निर्माणका क्रममा भत्केका सटरहरु पुनःनिर्माण गर्ने सहमति अनुसार हामीले अग्रीम भाडा बुझाएका छौं । अहिले केही व्यक्तिहरु निर्माण रोक्न लागेपछि हामी पीडित बनेका छौं,’ एकजना पीडित तेजु केसीले भने, ‘सटर बन्दैमा के हुन्छ, हिजो पनि सटरहरु थिए, आज पनि त्यही ठाउँमा सटर बन्दा किन आपत्ती भयो । मन्दीरको सुरक्षाका हिसाबले पनि सटरहरु आवश्यक छन् ।’
पीडित केसीले भत्किएकै स्थानमा बन्ने सटरले मन्दीरको आयस्रोतसँगै मन्दीरको सुरक्षा पनि हुने भएकाले सटर बनाउनु आवश्यक रहेको बताए । ‘दुई/चार जनाले हल्ला गरेकै भरमा निर्माण रोक्नुहुँदैन,’ केसीले भने, ‘पार्क बनाउन भन्दै अनावश्यक रुपमा हल्ला गरेर मन्दीरजस्तो पवित्र ठाउँलाई ‘डेटिङ्ग’ गर्ने थलो बनाउन खोजिरहेका छन्, यसलाई रोक्नुपर्छ ।’
प्रार्थाना गर्ने ठाउँमा पार्क र बगैचाको माग गर्नु जायज नभएको पीडितहरुको भनाई छ । ‘मन्दीरको पुजा गर्ने ठाउँमा ‘डेटिङ्ग’ गरेर लिला देखाउन पाइँदैन । पवित्र ठाउँलाई अपवित्र बनाउन दुई/चार जना लागिरहेका छन्,’ पीडित सन्तोष श्रीवास्तबले प्रश्न गर्दै भने, ‘बागेश्वरी मन्दीरमा दर्शनार्थीको भीड लगाउने कि ‘डेटिङ्ग’ गर्ने युवा युवतीको भीड लगाउने ?’
डेटिङ्ग गर्ने ठाउँनै चाहिएको हो भने अन्यत्र पर्याप्त पार्कहरु रहेको भन्दै श्रीवास्तवले भने, ‘व्यक्तिगत इगो र स्वार्थकै लागि मनपरी गर्न पाइँदैन । यहाँ पुरानै ठाउँमा सटरहरु बन्नुपर्छ । हामी पीडित भएका छौं, दुई/चार जनाका कारण निर्माण रोकिएको छ । हामीलाई क्षतिपूर्ति कसले दिने ? दुई/चार जनाको स्र्वाथका कारण हाम्रो रोजीरोटी बन्द भएको छ ।’
सडरबाट विस्थापित भएकाहरुले सडक र नाली निर्माणका क्रममा भत्किएका सटरहरु तत्काल निर्माणका लागि पहल गरिदिन माग गर्दै जिल्लास्थित राजनीतिक दल, स्थानीय प्रशासन, मानवअधिकार सम्वद्ध संस्थाहरुलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । ज्ञापन पत्रमा उनीहरुले बाँच्न पाउने अधिकारको शुनिश्चितताका लागि पहल गरिदिन आग्रह गरेका छन् ।
बागेश्वरी गुठी व्यवस्थापन समितिसँग भएको सहमति अनुसार सटर कोठा निर्माण गरी नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र १७ (२) च मा उल्लेख भएको पेशा व्यवसाय रोजगारको हकसमेत सुरक्षित गर्न पहल गरिदिन भन्दै पीडित व्यापारीहरुले माग गरेका छन् ।
वागेश्वरी गुठी व्यवस्थापन समितिसँगको शर्त अनुसार आफुहरुले बैक ऋण गरी धरौटी स्वरुप रकम समितिलाई दिइसक्दा पनि पाँच महिनासम्म पनि सटर निर्माण नहुँदा पसलमा रहेका समानहरु विग्रिएसँगै बैंकको ऋण तिर्न नसकेको व्यवसायीहरुले बताएका छन् । उनीहरुले सटर तत्काल बनाउन माग गरेका छन् । आफुहरुको कुनै अर्को विकल्प नभएको हुँदा आफ्नो सन्तानहरुको भविष्यसमेत अन्धकार हुने व्यवसायीले बताएका छन् ।
विगतमा वागेश्वरी मन्दिरको दक्षिण पश्चिमतर्फ मन्दिरको जग्गामा सडकतर्फ १६ ओटा सटरहरु व्यवसायीकरुपमा सञ्चालनमा थिए । व्यवसायीहरुले गुठी व्यवस्थापन समितिमा तत्काल सटर निर्माण पुरा गरी सहमति अनुसार व्यवसायी सञ्चालन गर्न निवेदनसमेत दिएका छन् । व्यवसायीहरु घनश्याम वैश्य, मदन श्रीवास्तव, कृष्णकुमार गुप्ता, कमला चौधरी, मनिष श्रीवास्तव, रामप्रसाद सापकोटा, सरस्वती थापा लगायतले निवेदन दिएका हुन् ।
सत्यपाटी - ।