बाँके । बाँकेमा भाइरल ज्वरोका विरामीको संख्या बढेको छ । त्यसै पनि बिरामीको भीड लाग्ने नेपालगन्जका सरकारी तथा नीजि बिरामीको चाप बढेपछि झनै बढी भीड थपिएको छ भने ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा पनि विरामीको उत्तीकै भीड छ । गर्मी र वर्षाको कारण भाइरल ज्वरोका विरामीले अस्पतालका शैय्या भरिएका छन् ।
गर्मी बढेसगै यसक्षेत्रका नीजि तथा सरकारी अस्पतालहरुमा पछिल्लो समय यस्ता बिरामीको संख्या बढ्न थालेको जनाइएको छ । उच्च ज्वरो, रुघाखोकी, घाँटी दुख्ने र खसखस हुने, टाउको दुख्ने, नाक पोल्ने र सिँगान निस्कने लगायतका लक्षण देखिन थालेपछि अस्पतालमा विरामीहरुको भीड लाग्न थालेको छ ।
भाइरल ज्वरोका विरामीको धेरै रहेको भेर अस्पतालका फिजिसियन डा.राजन पाण्डेले जानकारी दिए । उनका अनुसार विरामीको चाप बढेपछि एउटै बेडमा दुई जना विरामी राखेर उपचारसमेत गर्नुपरेको छ । ‘मौसमी ज्वरोको समस्या पनि देखिएको छ,’ उनले भने, ‘फाट्टफुट्ट रुपमा स्क्रब टाइफसको समस्या पनि देखिएको छ ।’
‘अहिले औषतमा हरेक दिन भेरी अस्पतालमा ४०/५० जना भाइरल ज्वरोका बिरामी आउने गरेका छन्,’ डा.पाण्डेले भने, ‘बिरामीको चाप धेरै भएकोले कुनै पनि वार्ड खाली छैन ।’ अस्पतालको आकस्मिक कक्षमा समेत एउटै शैय्यामा दुई÷तीनजना बिरामी राखेर उपचार गराउनुपर्ने अवस्था रहेको छ ।
यी समस्याबाट सबैभन्दा धेरै गर्भवती, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरु प्रभावित भएको उनले बताए । बिरामीको चाप धेरै भएकै कारण अस्पतालमा बिरामी थपिए भर्ना गरेर राख्न सकिने अवस्था नरहेको अस्पतालले जनाएको छ । शैया खाली नहुँदा भेरी अस्पतालमा आएका बिरामीलाई भर्ना गरेर राख्न पनि समस्या भइरहेको छ ।
जसले गर्दा आएका बिरामीलाई अन्य नीजि अस्पतालहरुमा पुग्ने गरेका छन् । यो समयमा आउने ज्वरो अन्य समयको भन्दा जोखिमयुक्त हुने हुँदा समस्या देखिनासाथ स्वास्थ्यकर्मीसँग परामर्श लिएर औषधिउपचारमा लाग्न चिकित्सकहरुको सुझाव छ । भाइरल ज्वरोबाट सबैभन्दा धेरै बालबालिका प्रभावित भएको बाल बिशेषज्ञ डा.रोमा बोराले बताइन् ।
उनका अनुसार नेपालगन्ज मेडिकल कलेजमा दैनिक ५० प्रतिशत भाइरल ज्वरोबाट प्रभावित बालबालिकाहरु आउने गरेका छन् । बालबालिकाहरुमा रुघाखोकी, ज्वरो, श्वास फेर्न गाह्रो हुने समस्या अधिक देखिएको डा.बोराले बताइन् । उनले भनिन्, ‘भाइरल ज्वरोकै कारण बालबालिकामा निमोनिया र स्वाइनफ्लुको खतरा बढ्न सक्ने देखिएको छ ।’
अस्पतालमा भर्ना भएर बसेका ८० प्रतिशतभन्दा बढी भाइरल ज्वरोकै बिरामी रहेको डा.जीवन शर्मा बताउँछन् । उनका अनुसार शहरी क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि यसको संक्रमण उच्च देखिएको छ । खासगरी वर्षाको समयमा पिउने पानीको मुहान दूषित हुने कारणले पनि पानीजन्य ज्वरोको बिरामीको संख्या पनि उत्तिकै बढेको उनको भनाइ छ ।
‘अहिले सिजनलरुपमा भाइरल ज्वरो देखिनु सामान्य मानिय पनि असावधानी र ज्वरोसमेत तत्कालै सर्ने भएकाले अहिले विरामीको संख्या बढ्दै गएको छ,’ डा.शर्माले भने । उनका अनुसार उपचार नगरी धेरैजसो सिटामोलमा मात्र भरपर्ने गरेकाले पनि ग्रामीण क्षेत्रमा विरामीहरुको संख्या बढ्दै गएको हो ।
मौसम परिर्वतन, दुषित पानी र खानपिनमा सर्तकता नअपनाउँदा भाइरल ज्वरोको विरामी बढेको फिजिसियन डा.प्रकाश नागले बताए । उनले विरामीहरुमा शुरुमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने लगायतका लक्षण देखापर्ने गरेको र अहिले यहाँका अस्पतालहरुमा विरामीको संख्या केही बढेको बताए ।
जिल्लाका नीजि तथा सरकारी स्वास्थ्य संस्थाहरुमा दैनिक ३०० बढी भाइरल ज्वरोका विरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । भाइरल ज्वरो तीनदेखि पाँच दिनसम्म आफैं निको हुने मान्यता रहे पनि हाल सात दिनभन्दा पनि बढी समय लिएमा थप जटिलता आउने डाक्टरहरुको भनाई छ ।
सामान्य अवस्थाभन्दा विरामीको संख्या केही बढेको भए पनि भाइरल प्रकृतिको ज्वरो भएकाले अस्पतालमै भर्ना गर्नुपर्ने विरामी कमै संख्यामा रहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुपानन्द अधिकारीले बताए । अस्पताल र क्लिनिकहरुमा समेत भाइरल ज्वरो र टाइफाइडका विरामीको संख्या बढेको छ ।
एक–दुई दिन टाउको दुखाईपछि ज्वरो आउने र त्यसपछि रुघा लागेजस्तो लक्षण देखिने भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुपानन्द अधिकारीले बताए । उनका अनुसार अन्य कुनै कडा लक्षण नदेखिए ज्वरो भएको दुई–तीन दिनसम्म सिटामोल र एन्टिएलर्जीक औषधि उपयोग गर्न सकिन्छ ।
धेरैजसो भाइरल ज्वरो प्रभावितहरुले डाक्टरको सल्लाह बिनै एन्टिबायोटिक औषधि खाने गरेकोले त्यसो नगर्न आग्रह गर्दै डा.अधिकारीले विरामीलाई चिकित्सकको सल्लाह लिएर मात्र औषधि सेवन गर्नुपर्ने बताए । सामान्य ज्वरो भनेर समयमै जाँच नगराए त्यसले खतराको रुप लिन सक्ने हुँदा समयमै स्वास्थ्य जाँच गराएर सतर्कता अपनाउन उनको आग्रह छ ।
‘झोलिलो पदार्थको सेवनमा बढी जोड दिने, झुलको प्रयोग गरेरमात्रै सुत्ने, घरवरिपरि सफा राख्ने र लामखुट्टेको टोकाइबाट बच्न शरीर छोप्ने खालका कपडा लगाउने गरेमा रोगबाट बच्न सकिन्छ,’ उनले भने, ‘सकभर आफूलाई शंका लागेकै भरमा औषधि सेवन गर्नु पनि राम्रो होइन । डाक्टरको सल्लाहबिना कुनै पनि औषधि सेवन नगर्न पनि मेरो आग्रह छ ।’
गर्मी मौसम सुरु भएसँगै भाइरल ज्वरोका विरामी बढेको भए पनि आत्तिनुपर्ने अवस्था नभएको डाक्टरहरुको भनाई छ । हाल देखिएको भाइरल ज्वरोमा रोगीले सबैभन्दा पहिले टाउको दुखाइको समस्या देखिने गरेको छ । यो रोग स्वासप्रश्वासबाट एकअर्कामा सर्ने भएकाले यसबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ ।
सत्यपाटी - ।