बाँके । अवकाश प्राप्त भइसकेका एक कर्मचारी नरैनापुर गाउँपालिकामा अचेल कमिशन संकलनकर्ताको भूमिका रहेको खुलेको छ । नरैनापुर गाउँपालिकाले खरीद गरेको डोजर, दमकलसहित हालसम्म खरीद गर्दै आएको विभिन्न सामाग्रीहरुमा अवकाश प्राप्त कर्मचारी हाल गाउँपालिकाका जिन्सी इन्चार्ज मोहम्मद इस्माइल खाँको हालीमुहाली छ ।
नरैनापुर गाउँपालिका–५ मटेहियास्थित राप्ती नदीमा डुंगा (घाट) सञ्चालन ठेक्का आह्वान गर्दा शुरुमा न्युनतम मुल्य २ लाख ७५ हजार रुपैयाँ मुल्य राखियो । ‘एक सातासम्म उक्त मुल्यमा कुनै टेण्डर खरीद नभएपछि खरीद ऐन अनुसार सोभन्दा घटि मुल्यमा ठेक्का अहवान गर्नुपर्ने हो । तर त्यसो भएन,’ टेण्डर खरीद गर्न पुगेका नरैनापुर ५ बस्ने रमेशकुमार गोडियाले भने, ‘पहिलो पटक इस्माईल खाँले मेरो टेण्डर दर्ता हुन दिएनन्, धरौटी रकम दाखिला गरेको थिए ।’
‘हामी ठेक्का लिने तयारी गरेर गएपछि दोस्रो पटक उनले ठेक्का मुल्य बढाएर ८ लाख पुर्याए,’ गोडियाले भने, ‘मोहम्मद इस्माईल खाँले आफ्नो मान्छेलाई ठेक्का पार्न हदैसम्मको प्रयास गरिरहेका छन् । उपभोक्ता समिति र ठेक्का पट्टाको काम पनि खाँकै जिम्मा रहेकोले कामभन्दा बढि कमिशनको खेल भइरहेको छ ।’ गत आर्थिक वर्षमा ठेक्का स्वीकार गरेका ब्यक्तिहरु अहिलेसम्म ५ लाख रुपैयाँ बुझाएका छैनन् ।
त्यसो त अवकासपछि पनि नायब सुब्बा मोहम्मद इस्माईल खाँ अहिले पनि गाउँपालिकाको जिन्सी प्रशासन तथा खरीद इकाई प्रमूखका रुपमा कार्यरत छन् । यसबाट उनले राज्य कोषको चरम दुरुपयोग गर्दै दोहोरो सुविधा लिइरहेका छन् । कार्यालय स्रोतले भन्यो, ‘सामान नै खरीद नगरेर बील मिलाएर लाखौं रकम हिनामिना भइरहेको छ । सामान खरीद गर्ने जिम्मेवारी उहाँलाई छ, सामान नै खरीद नगरेर बील मिलाएर रकम लिइन्छ ।’
आर्थिक समितिको अनुमति विना, गाउँ कार्यपालिकामा निर्णय नै नभएर धेरै सामानहरु खरीद भएको स्रोतले बतायो । अवकाश हुनुअघि उनले कमिशनकै कारण महंगो मूल्यका मेसिनरी सामानहरु खरीदसमेत गरेका छन् ।’ आवश्यक नभएका सामान पनि खरीद गरिएको बताउँदै स्रोतले भन्यो, ‘यसमा कार्यकारी अधिकृत र लेखा अधिकृतले चासो नदिनुको कारण मिलेमतो हुनसक्छ ।’
उल्टै कामै नलाग्ने समान ल्याएर बील मिलाउने मनसायका साथ जनप्रतिनिधीलाई समेत बेवास्ता गर्दै सामान खरीद गर्ने गरिएको एक जना वडाध्यक्षले बताए । उनले भने, ‘खरीद ऐन विपरित सामानहरु खरीद गरेका बील देखाएर गाउँपालिकाबाट रकम बुझ्नु उहाँको नियमित प्रक्रियाजस्तै हो ।’ मोटो रकम कमिशन खाने मनसायका साथ निर्णय विनैसमान खरिद गर्ने गरिएको स्रोतको दाबी छ ।
सत्यपाटी - ।