सूचनाको शक्ति - The Power Of Information

        

हराउँदै तीजको मौलिकता, बढ्दै विकृति

फाइल तस्वीर

बाँके । नेपाली नारीहरुको महान चाड तीजको ऐतिहासिक मौलिकपन दिनप्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाहरुले तीज पर्वलाई पवित्र पर्वको रुपमा मनाउदै आए पनि पछिल्लो समय तीज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको महिलाहरुले गुनासो गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका–५ की मनकुमारी शाहीले विगतका दिनमा आफुले तीज पर्वलाई नेपाली संस्कृति र आफ्नै मौलिकपनमा मनाउने गरेको सम्झँदै भन्छन्, ‘म सानो छँदा गाउँघरमा दिदीबहिनीहरु भेला भएर मादलको तालमा छमछमी नाचेर तीज मनाएको आज पनि झल्झली सम्झना छ ।’

विगतका दिनमा गाउघरमा सबै महिला दिदीबहिनी एकै ठाउमा जम्मा भई दुःखसुखका गीत गाएर, नाचेर वर्षभरिका पीडा भुल्ने गरेको उनको भनाई छ । सानो छँदा तीज पर्व मनाउन आफूले मादलको तालमा छमछमी नाचेको सम्झँदै मनकुमारी भन्छिन्, ‘खै आजभोलि त हामीले मनाउने तीज, तीजजस्तै लाग्दैन, तीजमा उच्छृंखल, तडकभडक र देखासिखी धेरै छ ।’

दिनप्रतिदिन परम्परागत संस्कृति र संस्कार अनुसारको नेपाली मौलिकपन नहु“दा मनकुमारी मात्र होइन नयाँ“ पिढीका महिलाहरु पनि चिन्तित छन् । बर्दिया घर भई हाल नेपालगन्ज महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक अध्ययनरत छायाँ खड्का पनि चाडपर्वको नाममा पछिल्लो समय पश्चिमी संस्कार हावी भएको दावी गर्छिन् ।

सानोमा दर खान पाइन्छ भनेर नै तीजको ब्रत बस्ने गरेको बताउँदै छाँयाले भनिन्, ‘तीज वर्षभरिको दुखसुख साटासाट गर्ने थलो भए पनि अहिले पश्चिमी संस्कारले विकृति ल्याएको छ ।’ नेपालगन्ज–१ की अनिता बोहोरा पनि तीज मनाउने नाममा महिला दिदीबहिनीको भावनालाई ठेस पुर्याउने खालका उच्छृखंल गीतको नियन्त्रण गर्नुपर्ने बताउँछिन् ।

‘चाडपर्व, संस्कृति र पहिचानलाई बचाई राख्न नेपालीपनको भावना, आस्था र विश्वासको खा“ँचो छ,’ उनले भनिन्् । बाँके कोहलपुरका विकास शाहीको सोच भने अलि फरक छ । उनी भन्छन्, ‘तीजजस्तो पर्वमा महिलालाई मात्र होइन पुरुषलाई पनि सार्वजनिक विदा दिनसके सबै परिवार बसेर मनाउनुको रौनक बैग्लै हुन्छ ।’

महिला दिदीबहिनीले आफ्नै भेषभुषामा सजिएर तीज पर्व मनाउन सके संस्कृतिको संरक्षण हुने विकासको धारणा छ । परम्परादेखि तीज पर्वलाई रमाइलो गरी नारीको मनाउँदै आएकोले यो पर्व नेपाली दिदीबहिनीका लागि महत्वपूर्ण मानिन्छ । बाँके बनकटवाकी सुनिता थापा पनि तीज पर्व महिला दिदीबहिनीहरुका लागि दुख बिसाउने पर्व भएको बताउँछिन् ।

उनी भन्छिन्, ‘विगतमा झैँ तीज पर्व मनाउने चलन गाउघरतिर पनि विस्तारै हराउँदै गइरहेको छ । तीज आउनु एकमहिना अघिदेखि गाउँघरतिर एकै ठाउँमा जम्मा भई मादलको तालमा नाचगान गर्ने चलन थियो, आज एउटाको घर त भोली अर्को घरमा तीजको नाचगान गरेर मनाउने गर्दथे । पछिल्लो समययता तीज पर्वको मौलीकपन हराउँदै गइरहेको छ ।’

सुनिताले तीज पर्वलाई रमाइलो गरी मनाइने आफ्नै संस्कृति र परम्पराको गीत नृत्यभन्दा धेरै महिलाहरु टिभी सिरियलप्रति आर्कषित भएको उनले बताइन् । बाँके चिसापानीकी सरिता विक पनि नेपाली नारीहरुको लागि तीज पर्वको महत्व रहेको बताउँछिन् । तीज मनाउन अरुको देखासिकी, तडकभडकभन्दा संस्कृति बचाउँनका लागि अघि बढ्नुपर्ने उनको तर्क छ ।

महिलाले तीज मनाउन पश्चिमा संस्कृति छोड्नुपर्ने बताउनुहुन्छ, बाँके बागेश्वरीकी नविना सापकोटा । उनी भन्छिन्, ‘आजभोलि तीजमा राम्रो देखिन महिला फजुल खर्च गरेर पश्चिमी संस्कृतितिर आकर्षित भइरहेका छन् । यसले नेपाली संस्कृतिको पहिचान नै हराउने त होइन भन्ने डर पनि उत्तिकै छ ।’

तीजमा विवाहिता महिलाहरु आफ्ना श्रीमानको दीर्घायुको कामना गर्दै त्यस दिन पानीसमेत नखाई ब्रत बस्ने गर्दछन् भने अविवाहिता महिलाहरु राम्रो श्रीमान् पाउने आशमा यो पर्व मनाउने गरेको धार्मिक विश्वास रहँदै आएको बताउँछिन्, बाँके चिसापानीकी पवित्रा परियार । विगतमा महिलाहरुले भोग्नुपरेका समस्याहरुलाई गीतको माध्यमबाट भन्ने गर्दथे ।

उनी भन्छिन्, ‘आजभोलिका गीतमा हाँसो ठट्यौली र रत्तौली खेलेजस्तो लाग्छ । तीजमा महिला आफूलाई अरुको सामु राम्रो देखाउन चाहिनेभन्दा धेरै खर्च गर्छन् । तीजलाई संस्कृतिसँग जोड्न अरुको देखासिखी गर्नुहुँदैन ।’ पवित्राले परम्परादेखि मनाउँदै आइरहेको तीजको अस्तित्व नमेटियोस् भनेर सबैले आफ्नो भाषा, संस्कृति र संस्कारको जगेर्ना गर्न लाग्नुपर्ने बताइन् ।

प्रकाशित मिति : ८ भाद्र २०७६, आइतवार १४:२१