सूचनाको शक्ति - The Power Of Information

        

मानवतावादी राजाको १४३ औं जन्मजयन्ती मनाइयो, को हुन् जयपृथ्वी ?

सत्यराज सिंह । बझाङ । आज मानवतावादी राजा तथा दोस्रो गौतम बुद्ध जयपृथ्वी बहादुर सिंहको १४३ औं जन्मजयन्तीको अवसरमा बझाङ जिल्लामा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । जयपृथ्वीले नै स्थापना गरेको तथा सबैभन्दा पुरानो सत्यवादी माध्यमिक विद्यालय, जयपृथ्वी बहुमुखी क्याम्पस र पतन्जली योग समितिले विभिन्न ठाउँमा जन्मजयन्तीको अवसरमा कार्यक्रम गरेका छन् ।

दोस्रो गौतम बुद्धका रुपमा चिनिएका सिंहका बझाङ जिल्ला तथा देशको लागि गरिएका योगदानहरुको स्मरण गर्दै कार्यक्रमहरु गरिएका छन् । विश्वमा शिक्षाको विगुल फुक्ने र बझाङ जस्तो विकट ठाउँमा राणाहरुको पालामा नै विध्यालय तथा शिक्षाको सुरुवात गर्ने व्यक्तिका रुपमा चिनिदै आएका छन् ।

को हुन् जयपृथ्वी ?

जयपृथ्वीबहादुर सिंहलाई अहिले मानवतावादी राजा, दोस्रो गौतम बुद्ध, एसियाका तारा भनेर चिनिने गरिन्छ । राणाको कठोर शासनमा जनताको स्वतन्त्रताको लड्ने जयपृथ्वी तत्कालीन् श्री ३ चन्द्र शमशेरका ज्वाँई हुन् । जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते (इ.स.१८७७०) सुदूरपश्चिम प्रदेशको बझाङमा भएको थियो । उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ ।

त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो। जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक अक्षराङ्कमा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए ।

उनको अक्षराङ्क शिक्षा नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उल्लेख छ । जयपृथ्वीले अक्षराङ्क शिक्षा लेखेर विसं १९५८ मा प्रकाशित गरेपछि, त्यो पुस्तक कोसेढुङ्गोको रूपमा स्थापित भएको छ । सर्वे भवन्तु सुखिनस् सर्वे सन्तु निरामयास् सर्वे भद्राणि पश्यन्तु मा कश्चिद दुस्ख भाग्जनस् गोरखापत्र दैनिकमा प्रकाशित हुने यो संस्कृत श्लोक नपढ्ने नेपालीहरू सायदै होलान् । अहिलेको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ नाराको भावसँग मेल खाने यो श्लोकलाई आजभन्दा १०७ वर्ष १९५८ पहिलो पटक गोरखापत्रको सञ्चालक तथा सम्पादक जयपृथ्वी बहादुर सिंहले प्रचलनमा ल्याएका थिए ।

त्यस्तै एसियाका मुलुकलाई संस्कृतभाषामय बनाउन पनि जयपृथ्वीको विशेष इच्छा थियो । उनी जुनजुन भूमि टेक्न पुग्थे शिक्षाबारेकै प्रायः जानकारी लिन्थे । साथै उनी जहाँजहाँ जान्थे शान्ति, मानवता र भतृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे । जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । त्यसैले उनले विश्वभ्रमण पनि गरे । उनी जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे । पछि उनैको संरक्षकत्व एसियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले ।

साथै उनले मानवतावादी पुस्तकहरू पनि प्रकाशित गरे । विश्व एकता उनको मुल मन्त्र थियो । संयुक्त राष्ट्रसङ्घ यिनैको समेत प्रभावले स्थापना भएको हो भनिन्छ । राजा जयपृथ्बी बहादु सिंहले वि.स. १९६२ मा शैक्षिक विकासका लागि नक्सालको नाग पोखरी देखि उत्तरपूर्वमा रहेको ८३ रोपनी आफ्नै घर जग्गामा आफै प्रधानाध्यापक नियुक्त भई सत्यवादी पाठशाला खोले । सोही जग्गामा गोरखापत्रको प्रकाशन गरेको रफाज नेपालको जयपृथ्बी जिवन यात्रा पुस्तकमा उल्लेख छ ।

सोही समयमा जयपृथ्वीले निजामति सेवामा प्रवेश गर्दा परिक्षा लिने व्यवस्था मिलाए । जसलाई ‘जयपृथ्वी पास’ भनिन्थ्यो यो नै लोकसेवा आयोगको पहिलो अवधारण हो । गोरखापत्रको प्रकाशक र सम्पादक भएकै हैसियतले वि.सं. १९६५ सालमा बेलायत जाँदा उनको काम तथा प्रतिभासँग प्रभावित भई बेलायतका सप्तम् सम्राट एडवर्डले मानार्थ ‘कर्णेल’को उपाधिले सम्मान गरेका थिए । न्यायका प्रतिक, दर्शनमा दार्शनिक, धर्ममा बुद्ध, दयालु साथै जनप्रेमी राजा हुँदा हुदै पनि आफ्नो बझाङ्ग राज्य, नेपाल तथा भारतको मात्र चिन्ता लिएनन् ।

विश्व एक घर हो, हामी सबै एक घरका सदस्य हौ मानव–मानवबीचको वैमनश्यता कसरी अन्त गर्न सकिन्छ भन्ने विषयको खोज गर्न र विश्व भाइचाराको नाता जोड्न विश्वका विभिन्न मुलुकहरुमा मानवतावादी संस्थाहरु खोल्दै आफ्नो विचारहरु ति संस्थामार्फत जनसमक्ष अपिल पुर्याउँदै साइपाल, सम्पूर्ण बझाङ्गबासी, र मानवअधिकार कर्मिलाई सदाका लागी टुहुरो पार्दै भारतको बंलोरस्थित श्री जयभवनमा विसं. १९९७ साल असोज १ गते ६३ वर्षको उमेरमा रानी खगेश्वरी सिंह र मानवतावाद नामक दर्शनयुक्त किताबलाई काखमा राखी रानीलाई मेरो क्रिया तिमी आफैले गर्नु, तर शारीरिक पिडा नहुने गरी भन्दै सदाका लागि यो संसारबाट बिदा लिए ।

बझाङको लागि जयपृथ्वीको योगदान

सानै उमेरदेखि नेपालको सामाजिक रूपान्तरणमा चिन्तनशील रहने जयपृथ्वीले संवत् १९५५ सालमा दलित परम्परागत पेसाको आधुनिकीकरण प्रयास गरेका थिए । साविकको कडेल–७, मुम्ला गाउँका रनी लुहार, सोही गाविसको मण्डिदयका कलु भुल (सार्की), चैनपुरका रविदास दमाईलगायतका ८ जनालाई विभिन्न सीप सिकाउन उनले काठमाडौं लगेका थिए ।

कृषि औजार, छालाजुत्ता, हातेकागज उद्योग, निगालाको काम, तामा तथा ढलौट प्रशोधनसम्बन्धी तालिम दिलाई बझाङमा उद्योग खोल्ने वातावरण उनले बनाएका थिए । जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन गरे । विक्रम संवत् १९५६ सालमा बझाङी जनतालाई कानुनी अधिकार दिलाउन अदालत स्थापना गरी यसको प्रचारमा गाउँगाउँमा सूचना प्रकाशित गर्न लगाएका थिए । राजा, महाराजा र दरबारीया कर्मचारीविरुद्ध कुरा पनि गर्न नपाइने त्यो बेला ‘यदि दरबारले समेत अन्याय गरेमा त्यसविरुद्ध फिराद गर्ने प्रणालीको स्थापना’ गरेका थिए ।

जयपृथ्वीले १९५८ मा ‘अक्षरांक शिक्षा’ नामक पुस्तक लेखेर पाठशालामा पढाउने व्यवस्था गरे । नेपाली भाषामा लेखिएको यो पुस्तक पहिलो भएको इतिहासकारको दाबी छ । उनले १९६२ सालमा काठमाडौं, नक्सालमा रहेको आफ्नै निवासमा सत्यवादी माध्यमिक विद्यालयको स्थापना गरी सर्वसाधारणलाई पनि पढ्ने व्यवस्था मिलाएका थिए । सर्वसाधारणलाई शिक्षा दिने उनको यो कदम राणाहरूले मन नपराएपछि सोही नाममा उनले बझाङको मेल्लेकमा विद्यालय खोली पठनपाठन सुरु गरेका थिए ।

बालबोध, ज्ञानमाला, श्रेस्ता दर्पण, पदार्थ तत्वबोध, भूगोल विद्या, प्राकृत व्याकरण, शिक्षा दर्पण, तत्व प्रशंसा, व्यवहारमालाजस्ता थुप्रै पुस्तकहरू आफैंले लेखेर विद्यालयमा पढाउने व्यवस्था उनले गरेका थिए । त्यसपूर्व नेपाली भाषामा कुनै पनि पाठयपुस्तकहरू लेखिएका थिएनन् । सर्वसाधारण नागरिकलाई शिक्षा दिनका लागि उनले एक गाउँबाट चार जनालाई निःशुल्क शिक्षा दिने व्यवस्था गरेका थिए । सत्यवादी विद्यालयमा यो नियम २०२६ सालसम्म पनि कायमै रहेको जयपृथ्वीको जीवनबारे जानकार विष्णुभक्त जोशी बताउँछन् ।

त्यसताका सत्यवादी स्कुल नजिकै खोलिएको नेपाली हातेकागज उद्योगमा शिक्षक र विद्याथीहरू आफैंले कागज उत्पादन गरी त्यसैमा लेखपढ गर्ने गरिन्थ्यो । जयपृथ्वीले बंगलादेशबाट बझाङमा चिकित्सक ल्याएर रानी खगेश्वरीको नामबाट खगआयुर्वेद औषधालयको स्थापना गरेका थिए । १९६३ देखि लगातार चार वर्षको समय बझाङमा बिताएका जयपृथ्वीले भूमिसुधार व्यवस्था लागू गरी सर्वसाधारणका नाममा दर्ता गर्ने चलन पनि चलाएका थिए । उनले बझाङबाट डोटी हुँदै भारतको टनकपुरसम्म जाने घोडेटो बाटो निर्माण गर्न लगाएका थिए ।

बझाङ सदरमुकाम चैनपुरदेखि तिब्बतको मानसरोवर जाने बाटो पनि उनैको पहलमा बनेको थियो । उनले यो अवधिमा खनिज सम्पदाको पनि उत्खनन गर्न लगाएको देखिन्छ । साविकका व्यासी र कैलाशमा रहेका तामाखानी, कडेल, धमेना र पिलकोटमा रहेको फलाम खानीको उत्खनन र स्थानीय स्तरमै प्रशोधन गरी भाँडाकुँडा बनाउने उद्योग उनले स्थापना गराएका थिए । उनले भारतबाट बाणा (सुनको काम गर्ने मान्छे) मगाएर साविकको सुर्मा गाविसमा रहेको सुनखानी उत्खनन–प्रशोधन गर्न लगाएका थिए । उनले मेल्लेक (हालको जयपृथ्वीनगर) मा हावाबाट चल्ने बिजुलीघट्टको समेत निर्माण गर्न लगाएका थिए । उनले बझाङमा हुलाक, कारागार आदि पनि स्थापना गरेर यहाँको सामाजिक सुधारमा काम गरेका थुप्रै लेख भेटिन्छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार १९:२७