सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिकाबासी भन्छन्, ‘अवकासपछिको तलब भत्ता फिर्ता राज्यलाई गर्नुपर्छ’

नरैनापुर गाउँपालिकामा अवकास प्राप्त कर्मचारी पुनःनियुक्ति प्रकरण

बाँके । बाँकेको नरैनापुर गाउँपालिकाले अवकास प्राप्त कर्मचारीलाई पुनः नियुक्त गरेको रहस्य बाहिर आएपछि स्थानीयहरुले अवकाशपछि लिएको सेवासुविधा फिर्ता गर्न माग गरेका छन् । साविकको नरैनापुर गाविसमै सचिव रहेका रहेका नायब सुब्बा मोहम्मद इस्माइल खाँले अवकासपछि पनि गाउँपालिकामा पुनःनियुक्ति लिई तलब भत्ता लगायतका सेवा सुविधा लिएको भन्दै स्थानीयहरुले अवकासपछिको तलब भत्ता राज्यलाई फिर्ता गर्न माग गरेका छन् ।

निजामति सेवा ऐन, २०४९ को दफा ३३ बमोजिम व्यक्तिगत विवरण (सिटरोल) मा उल्लेखित जन्ममिति अनुसार २०७५ मंसीर ३ गते ५८ बर्ष पुरा भएपछि अनिवार्य अवकास पाएका खाँ अवकासलगत्तै पुनः गाउँपालिकामै नियुक्त भएर बुझेको तलबभत्ता फिर्ता गर्नुपर्ने माग स्थानीयहरुको छ । अनिवार्य अवकासपछि पनि हालसम्म नरैनापुर गाउँपालिकामै कार्यरत रहेको पुष्टि भएसँगै स्थानीयहरुले हालसम्म बुझेको तलब भत्ता फिर्ता गर्नुपर्ने भन्दै त्यसो नगरे कानुनी प्रक्रियामा जाने बताएका छन् ।

नरैनापुरका एक स्थानीयले भने, ‘अवकासपछि पनि बदमासी गरेर जनताको करबाट पाएको तलब भत्ता फिर्ता गर्नुपर्छ । त्यसो नगरे अख्तियार तथा अन्य निकायमा उजुरी गरेरै भए पनि तलब भत्ता फिर्ता गराइन्छ । आम नागरिकलाई झुक्याएर दोहोरो सुविधा किन लिइयो ।’ अवकास प्राप्त कर्मचारी खाँ अहिले पनि गाउँपालिकाको जिन्सी प्रशासन तथा खरीद इकाई प्रमूखका रुपमा कार्यरत छन् । यसबाट उनले राज्य कोषको चरम दुरुपयोग गर्दै दोहोरो सुविधा लिइरहेका छन् ।

उनले अवकासपछि पाउने पेन्सन, औषधोपचार र अन्य सुविधाहरुका साथै गाउँपालिकाको कर्मचारीका रुपमा तलब भत्ताका साथै अन्य सेवा सुविधा लिँदै आएका छन् । स्थायी कर्मचारीलाई पन्छाएर अवकास लिइसकेका कर्मचारीलाई पुनः नियुक्त गरी महत्वपूर्ण जिम्मेवारी दिएपछि गाउँपालिकाका कर्मचारीहरुसमेत रुष्ट बनेका छन् । कार्यालय स्रोतले भन्यो, ‘स्थायी कर्मचारीलाई जिम्मेवारी नदिएर अवकास लिइसकेका कर्मचारीलाई पुनः नियुक्ती गरेर महत्वपूर्ण शाखामा हालीमुहाली गर्न दिएको छ ।’

कर्मचारी संकेत नम्बर १२२३३६ रहेका खाँ अनिवार्य अवकास भएको भन्दै मिति २०७५ बैशाख ७ गते नै जिल्ला समन्वय समितिलाई जानकारी पत्र पठाइसकेको छ । उक्त पत्र मिति २०७५ बैशाख २६ गते जिल्ला समन्वय समितिमा दर्ता भएको देखिन्छ । तर उनी हालसम्म पनि नरैनापुर गाउँपालिकामै कार्यरत रहेका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले अवकास प्राप्त कर्मचारी खाँ गाउँपालिकामै कार्यरत रहेको स्वीकार गरे पनि थप जानकारी दिन चाहेनन् । उनले यस विषयमा जनप्रतिनिधिहरुसँग बुझ्न भन्दै पन्छिए ।

गाउँ कार्यपालिकाले निर्णय गरेको तर्फ संकेत गर्दै उनले भने, ‘जनप्रतिनिधिसँगै बुझ्नुस्, उहाँहरुले गरेको निर्णयबारे मलाई थाहा भएन ।’ गाउँपालिकाका एक जना वडाध्यक्षले भने, ‘अहिलेसम्म भएको व्यवस्था अनुसार ५८ वर्षमा अनिवार्य अवकास हुनुपर्छ । उहाँले काम गरिरहनुभएको छ, मलाई थाहा भएको त्यतिमात्रै हो । नियुक्ती कहिले र कसरी हुनुभयो मलाई थाहा छैन ।’ कार्यालय स्रोतका अनुसार कर्मचारीले दोहोरो सुविधा लिन नपाउने व्यवस्था भए पनि इस्माइल खाँले पेन्सनसँगै गाउँपालिकाबाट पाउने सेवा सुविधा लिइरहेका छन् ।

‘अझ गाउँपालिकामा उहाँकै हालीमुहाली छ, उहाँले जे भन्यो त्यही हुन्छ,’ स्रोतले भन्यो । यस विषयमा मोहम्मद इस्माईल खाँले अवकासपछि अहिले पनि कर्मचारीको रुपमा काम गरिरहेको स्वीकार गर्दै दोहोरो सेवा सुविधा लिन पाइने कि नपाइने भन्नेमा प्रमूख प्रशासकीय अधिकृतलाई कानुनी कुरा थाहा होला मलाई थाहा छैन । प्रमूख प्रशासकीय अधिकृतलाई नै सोध्नुहोला ।’ उनले अवकासपछिको तलब भत्ता फिर्ता नगर्ने संकेत गरेका छन् । यस विषयमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहसँग सम्पर्क गर्न खोज्दा उनको मोवाइल नम्बर ९८६८९३७१९८ मा सम्पर्क हुन सकेन ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार १८:२९