सूचनाको शक्ति - The Power Of Information

        

राप्ती नदीको पुल जीर्ण

दाङ । हुलाकी राजमार्ग अन्तरगत दाङको लमही–कोइलावास सडकखण्डको राप्ती नदीमा पर्ने पुल जीर्ण बन्दै गएको छ । समयमै पुल मर्मत नहुँदा पुलको अधिकांश ठाउँको कालोपत्र उप्किएको छ । पुल निर्माणका लागि प्रयोग गरेका फलामका सामग्रीमा खिया लागेका छन् । यसले आवतजावतमा समस्या हुने गरेको स्थानीय भीम ओलीले बताए ।

‘पुलको बीचमा खाल्डाखुल्डी छन्, यसले आवतजावतमा समस्या हुने गरेको छ,’ उनले भने, ‘खाल्डा तत्काल पुर्न आवश्यक छ,’ पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको उनले बताए । विसं २०५६ मा निर्माण भएको उक्त पुलको फलाममा खिया लाग्दा समस्या भएको हो । नदी किनारका क्रसर उद्योगका कारणले पुल जीर्ण बन्दै गएको उनको भनाइ छ ।

नदी किनारमा खुलेका क्रसर उद्योगका सवारीसाधन ओहोरदोहोर गर्नुका साथै पुल नजिक हुने अवैध उत्खननले गर्दा पुल जीर्ण अवस्थामा पुगेको स्थानीय अमृत खड्काले बताए । ‘पुलमा क्रसर उद्योगका ठूलाठूला गाडी आवतजावत गर्छन्,’ उनले भने, ‘पुल नजिकैबाट ढुङ्गा, गिट्टी, बालुवा निकाल्ने गरिएको छ, यसले गर्दा पनि पुल जीर्ण बन्दै गएको छ ।’

निर्माण भएको २० वर्ष पुग्नै लाग्दा मर्मतलाई कुनै निकायबाट पहल नभएको गुनासो छ । लमही–कोइलावास सडकअन्तर्गतको उक्त पुलको चौडाइ चार दशमलव २० मिटर छ । पुलमा १८ मेट्रिकटनभन्दा बढी भारवहनको सवारी चलाउन नपाइने प्राविधिकको भनाइ छ । पुल हुलाकी सडकअन्तरगत रहेकाले हुलाकी सडकले मर्मत गर्नुपर्ने सडक डिभिजन दाङका सूचना अधिकारी क्षितिज पोखरेलले जानकारी दिए ।

त्यस्तै दाङको राप्ती लोकमार्ग अन्तरगत बबई नदीको पुल पनि जीर्ण बनेको छ । तुलसीपुर–अमेलिया सडकखण्डको सित्तलपुरस्थित बबई नदीको पक्की पुलको अवस्था जीर्ण बन्दै गएको हो । पुलमा गरिएको पुरानो कालोपत्र ठाउँठाउँमा खाल्डाखुल्डी परेपछि आवतजावतमा समस्या हुने गरेको छ ।

समयमै मर्मत नहुँदा अहिले ठाउँठाउँमा ठूलाठूला खाल्डाखुल्डी पर्नुका साथै पुलको रेलिङ कमजोर हुँदै गएको स्थानीयवासीले बताएका छन् । पुलको पूर्वतिरको भाग कमजोर हुँदै गएको छ । विसं २०५५ मा उक्त पुल निर्माण गरिएको हो । हाल सो पुल भएर दैनिक ५०० बढी यातायातका साधन आवतजावत गर्छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार १६:१८