नयाँ शक्ति पार्टी नेपालमार्फत राजनीतिक जीवनको सुरुवात गरेका युवा नेता रवि किरण हमाल छिटो समयमा राजनैतिक उचाइमा पुगेका छन् । पार्टीको जिल्ला सचिवालय, प्रदेश सदस्य, विद्यार्थी युनियन केन्द्रिय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष र निर्वाचन परिचालन कमिटी जिल्ला संयोजकको जिम्मेवारी कुशलतापूर्वक निभाउन सफल उनी अहिले बाबुराम भट्टराई र उपेन्द्र यादवले नेतृत्व गरेको समाजवादी पार्टीमा छैनन्, बाबुराम भट्टराई सँगसँगै रहेर काम गरेका हमाल बौद्धिकरूपमा आफुलाई तिखारिरहेका छन् । उनले आर्थिक विकास र समृद्धिको एजेन्डालाई छायाँमा पारेको, समाजवादी पार्टी निर्माण गर्दै अनुशरण गर्न असफल भएको लगायत बिषयमा बिमति राख्दै बाबुराम भट्टराईलाई राजिनामा बुझाएका थिए । उनै हमालसँग सत्यपाटीले गरेको कुराकानी :
तपाईंले नयाँ शक्ति पार्टीबाट राजीनामा किन दिनुभयो, तपाईका असहमति के हुन् ?
– आर्थिक विकास र समृद्धिको एजेन्डालाई छायाँमा परिसकेपछि हामी पार्टीमा बस्नुको कुनै अर्थ रहेन । हामीले राजिनामा गरेको लामो समय बितिसकेको छ, यस बिचमा बाबुराम भट्टराईले टेलिफोन गरेर राजिनामा स्वीकृत नहुने र असहमतिका बुँदाहरुमा छलफल गर्न तयार भएको बताए पनि त्यसबाट आफैपछि हट्नुभयो ।
असन्तुष्टी र विमत्ती कहाँनिर हो ?
– हामीले नेपालमा नयाँ शक्ति पार्टी नेपालको स्थापना गर्दा सुशासन र सदाचारयुक्त वैकल्पिक राजनीतिमार्फत आर्थिक विकास र समृद्धिको एजेन्डा अगाडि सारेका थियौं । मुलुकमा दिगो शान्ति कायम गर्दै समृद्धि हासिल गर्ने लक्ष्यसहित अगाडि बढेको चार वर्ष नबित्दै थाकेर फोहरी राजनीतिमा अभ्यस्त पुराना दलहरूसँग एकता गर्नु एक हिसाबले आत्मसमर्पण जस्तै हो । हामीले काङ्ग्रेस र कम्युनिष्टको विकल्प शक्ति मात्र नभएर सुशासन र सदाचारयुक्त वैकल्पिक राजनीति चाहेको हो, सत्ता प्राप्तिका लागि शक्ति आवश्यक भए पनि जस्तोसुकै क्रियाकलाप गरेर शक्ति आर्जन गर्दा परिणाम राम्रो आउँदैन । अहिलेको नेकपा शक्ति आर्जनका लागि भ्रष्ट, गुन्डा, दलालहरुको साथ लिएकै कारण जनताभन्दा पनि दलाल पुँजीवादीहरुप्रति बफादार छ ।
त्यसो भए समाजवादी पार्टी वैकल्पिक शक्ति बन्न सक्दैन ?
– मुलुकलाई काँङ्ग्रेस र कम्युनिष्टजस्तै थप अर्को राजनैतिक शक्ति आवश्यक छैन । यी राजनैतिक दलहरूबीच नाममा फरक भए पनि काम एउटै हो । काँङ्ग्रेस वा कम्युनिष्टको सरकारका नीति तथा कार्यक्रममा कुनै भिन्नता छैन, कार्यशैलीमा भिन्नता छैन । भ्रष्टाचारलाई दुवै दल मिलेर संस्थागत गरेका छन् । राजदुत, अदालत, विश्वविद्यालयदेखि संवैधानिक अंगमा भागबन्डाका लागि मरिहत्ते गर्छन् । एउटा भन्ने अर्को गर्ने राजनैतिक बेइमानीको हो । यसमा समाजवादी पार्टी पनि अछुतो रहन सकेन । पार्टी स्थापना गर्दै गर्दा समाजवादका न्यूनतम मुल्य र मान्यतालाई अनुशरण गर्न असफल भयो । समाजवाद ब्यक्तिभन्दा समाज अर्थात् सामुहिक संस्था बलियो बनाउने विचार हो । ब्यक्तिलाई केन्द्रमा राखेर पार्टी निर्माण अधिनायकवादी शैली हो ।
युवाहरू मात्र होइन जिन्दगीको लामो समय निस्वार्थरूपमा समाज र देशको सेवा गरेका मानिसहरू थुप्रै छन् । त्यस्ता मान्छेहरु राजनैतिक पार्टीहरुबाट छायाँमा पारिएका छन् । हामी सबैले पुरानो आस्था र परिपाटीसँग सम्बन्धबिच्छेद गर्न सकेको खण्डमा मात्र नयाँ अध्यायको शुरुवात हुनेछ ।
नेपालमा राजनैतिकरूपमा जरा गाडेर बसेका काँङ्ग्रेस र कम्युनिष्ट लगायतका राजनैतिक दलहरु विस्थापित गर्न सजिलो होला ?
– संघर्षविना स्वतन्त्रता प्राप्त हुँदैन, हामीले काँङ्ग्रेस कम्युनिष्ट लगायत पुराना राजनैतिक दलबाट मुक्ति पाउन क्रान्ति अपरिहार्य छ । जनतालाई झुक्याउने, राजनैतिक लाभका पदहरुमा परिवारका सदस्यहरुलाई व्यवस्थापन गर्ने, सिमित मानिसहरू मिलेर राज्यकोषको दोहन गर्ने र दलाल पूँजीपतिको घेराउमा बस्न रुचाउने फोहरी राजनैतिक अभ्यासविरुद्ध युवाहरु सचेतपूर्वक विद्रोहमा होमिनुपर्छ । पछिल्लो समय सामाजिक सञ्जाल, इन्टरनेट र प्रविधिमा युवाहरू अब्बल हुँदै गएका छन् । चेतनाको विकास सँगसँगै युवाहरू समानता र न्यायका लागि स्वस्फूर्त राज्यसत्ताविरुद्ध विद्रोहमा उत्रन तयार बन्ने छन् ।
भर्खरै मात्र प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउँदा सबै दलका नेताहरूले गणतन्त्र कमजोर हुँदै गएको आशंका गरे, किन होला ?
– राज्यसत्तामा बसेकाहरु गैरजिम्मेवार र अकर्मण्यता बढ्दै जाँदा सिङ्गो ब्यवस्था नै धरापमा पर्न सक्छ । नेपाली जनताले इतिहासकै शक्तिशाली सरकार प्राप्त गरेका छन् । अहिलेका नेताहरू देश र जनताको लागि भनेर कठिन संघर्ष गरेर यहाँसम्म आएका हुन् । यतिधेरै त्याग र बलिदान गरेर आएको राजनैतिक नेतृत्व सरकारमा हुँदा पक्कै पनि जनताले ठुलो आशा गरेका थिए । तर, अहिलेको सरकार सबैभन्दा धेरै भ्रष्ट र अकर्मण्य देखियो । यस्तो कठिन घडीमा नेपाली जनताले लडेर ल्याएको लोकतान्त्रिक ब्यवस्थाविरुद्ध आवाजहरु बाक्लोरूपमा सुनिन सक्छन् । तर, हामीले अग्रगमनको दिशामा समाजलाई डोहोर्याउन सक्नुपर्छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र हो, निरंकुशता होइन ।
युवाहरू एकजुट भएर राज्य सत्ताको रुपान्तरण सम्भव छ ?
– युवाहरू मात्र होइन जिन्दगीको लामो समय निस्वार्थरूपमा समाज र देशको सेवा गरेका मानिसहरू थुप्रै छन् । त्यस्ता मान्छेहरु राजनैतिक पार्टीहरुबाट छायाँमा पारिएका छन् । हामी युवाहरु सबैले पुरानो आस्था र परिपाटीसँग सम्बन्धबिच्छेद गर्न सकेको खण्डमा मात्र नयाँ अध्यायको शुरुवात हुनेछ । त्यसपछि योजनाबद्धरूपमा एकजुट भएर जनताको विश्वास जित्दै राज्यको नेतृत्व गर्ने वातावरण निर्माण हुन्छ । त्यसको रुप अभियान हुँदै राजनैतिक पार्टीसम्म हुन्छ ।
रवि किरण हमाल - ।