सत्यराज सिंह । बझाङ । बझाङमा बसोबास गर्दै आएका बादी समुदायमा भाडे सङ्क्रान्ति पर्वको रौनक सुरु भएको छ । राजाहरुको पालादेखि मनाउँदै आएका बादी समुदायले मनाउने भाडे सङ्क्रान्ति डेढ महीनासम्म मनाउँदै आएका छन् । भदौ १ गतेदेखि पर्व असोज २० गतेसम्म मनाउने गरिन्छ ।
बादी समुदायमा अरु चाडपर्वभन्दा पनि महत्वपूर्ण मानिने भाडे सङ्क्रान्तिमा मादल र सारङ्गी बजाउँदै विभिन्न किसिमका गीत गाउने र नाचेर रमाइलो गर्ने गरिन्छ । यस पर्वमा अन्य पाहुनाहरुको अगाडी नाच्ने गाउने र त्यसवापत दिएको अन्न र पैसाले आफ्नो घर परिवारको छाक टार्ने गरेको थलारामा बस्दै आएका रङ्गे बादीले बताए ।
उनले भने, ‘पहिले–पहिले थलारी राजाको दरबारमा नाचगान गरिसकेपछि निधारमा सेतो पिठाहा (रंङ्ग), छारो, टिमुरो दलेर ओलक हालेर भदौको महिनाबाट गाउँगाउँमा खानेकुरा माग्न जाने प्रचलन रहेको थियो । सरकारी कार्यालयका साथै अन्य नागरिकहरुको घरदैलोमा परिवारसहित जान्छौं ।’
सबैले आर्शीवादस्वरुप नुन खुर्सानीदेखि पैसासम्म दिने गरेको उनले बताए । उनका अनुसार त्यो पैसाले नयाँ लुगाकपडा किन्ने र मिठा–मिठा परिकार बनाएर खाने चलनसमेत रहेको छ । आफुलाई मनोरञ्जन गराउनकै लागि राजाहरुले हामीलाई दरबारमा ल्याएको बादी समुदायका अगुवाहरु बताउँछन् ।
‘हामी पहिले–पहिले माटाका गमला, सुल्पा, गडेल्ला, चिलिम, मक्कल, सौरोल्या, हुक्काजस्ता माटाका बस्तुहरु बनाउथ्यौं । आजभोली माटोको समेत पैसा तिर्नुपर्ने र प्लास्टिकको भाडाकुँडा आउन थालेपछि हामीले बताएका भाडाकुँडा बिक्न छाडे,’ हर्कुदेवी बादीले भनिन्, ‘हाम्रो आयस्रोत नै बन्द भएपछि नाचगान गर्दै सबैसँग खानेकुरा, पैसा माग्दै गुजारा चलाउँछौं ।’
सत्यराज सिंह - ।