काठमाडौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीको आत्महत्यालाई लिएर प्रहरीमा जाहेरी गरिएको भनी हल्ला गरेर मानमर्दन गरिएको बताएका छन् । शालिकरामले आत्महत्या गर्नुअघि रेकर्ड गराएको भिडियो सार्वजनिक गरेको भन्दै आज काठमाडौं प्रहरी परिसरमा जाहेरी गर्न जाँदा जाहेरी दर्ता गरेको भन्दै सामाजिक सञ्जालमा हल्ला गरेर आफ्नो सामाजिक तथा सार्वजनिक मानमर्दन गरिएको श्रेष्ठले बताएका छन् ।
उनले भनेका छन्, ‘आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राविरुद्ध साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो, पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुद्दा दर्ता हुन्छ भने अब यतिकुरा सोध्नैपर्ने भयो, म यिनका विरुद्ध केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा स्ट्याटस लेखेर दर्तै हुन नसकेको, नपाएको केस दर्ता भैसक्यो भनी होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुविरुद्ध के हुन्छ ?’
उनले थप अगाडी लेखेका छन्, ‘आफूमाथिको आरोपलाई विषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की रुकुको निजी संवाद आफ्नो च्यानलमार्फत छरपष्ट पार्नेहरुविरुद्ध के हुन्छ ?’ प्रेस काउन्सिलका कार्यवहाक अध्यक्षसमेत रहेका श्रेष्ठले शालिकराम प्रकरणको भिडियो उनकै परिवारबाट पाएर निष्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित भई एक साताअघि समाचार प्रकाशन गरेको बताएका छन् ।
यस्तो छ उनको स्टाटस्
मैले एक हप्ताअघि नै भनेको र लेखेको छु, ‘शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन रप्रशासन गरेका हौं !’ हिजो अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ, अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको !
आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुद्ध साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो, पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुद्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो, म यिनका बिरुद्ध केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर,दर्तै हुन नसकेको,हुन नपाएको केस दर्ता भैसकेको होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरु बिरुद्ध अब के हुन्छ ? आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की ‘रुकु’को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुद्ध के हुन्छ ?
हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै Conspiracy Theory अन्तरगत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृतक शालिकराम बिरुद्ध लेख्दै हिंड्नेहरु बिरुद्ध के हुन्छ ? मेरो अमेरिकी पासपोर्ट खोसेर मलाई नेपाली नागरिकता लिन लगाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुद्ध के हुन्छ ? १६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आत्महत्याको केसलाई हत्या नै हो भन्दै आफ्नो च्यानलमार्फत फैसला सुनाउनेहरु बिरुद्ध के हुन्छ ? ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृत्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउने बिरुद्ध के हुन्छ ?
रवि लामिछानेकी पत्नीले ‘क्षेत्राधिकार बाहिर’को उजुरी दिन खोजेपछि प्रहरीले फिर्ता पठायो
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी पत्नी निकिता पौडेलले तीन जना विरुद्ध जाहेरीका लागि दिएको निवेदन प्रहरीले फिर्ता गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीले क्षेत्राधिकार नपर्ने भएकाले जाहेरी अस्वीकार गरिएको जानकारी दिए ।
उनले जाहेरीमा उल्लेख भएका विषय हेरेको तर, आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भएका कारण फिर्ता पठाएको बताएका छन् । प्रहरी अनुसन्धानमा रहेको शालिकरामको आत्महत्यासम्बन्धी भिडियो किर्ते गरेको आरोप निकिताले लगाएकी छन् । उनले निवेदन दिए पनि जाहेरी दर्ता नगरिएको प्रहरीले प्रष्ट पारेको छ । निकिताले महानगरीय प्रहरी परिसर काठमाडौंमा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज डटकमका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरीका लागि निवेदन दिएकी थिइन् ।
नेपाल प्रहरीका एक अधिकारीका अनुसार अनुसन्धानमा संलग्न व्यक्तिलाई छानविन गर्ने भन्ने विपक्षीको माग सम्बोधन गर्दा नेपालमा कुनै पनि घटनाको निरुपण हुँदैन । प्रहरी विधि र प्रकृयासंगत तरिकाले अगाडि बढ्ने उनको भनाई छ । शालिकराम गत साउन २० गते चितवनको नारायणगढ बसपार्कको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
सत्यपाटी - ।