बाँके । भेरी अस्पतालमा उपचार गर्न भनेर आएका सुर्खेत सिम्ता गाउँपालिका–२ का रमेश बुढा अस्पताल पुग्नै पाएनन् । उनलाई भेरी अस्पतालको गेटबाटै दुई/तीन जना युवाले सोझै नेपालगन्ज मेडिकल कलेजमा पुर्याए । पथ्थरी सम्बन्धी चेकजाँजका लागि आएका बुढा सरकारी अस्पतालमा जेकजाँच गर्नै नपाउँदै निजी अस्पतालको ‘अतिथि’ बन्न पुगे ।
सरकारी अस्पतालको सहुलियत सेवा लिन आएका बुढा ‘सस्तोमा छिटो, छरितो र राम्रो उपचार पाउने’ प्रलोभनमा फसेर निजी अस्पतालमा पुगे । ‘रु.२० हजार बोकेर सरकारी अस्पतालमा उपचार गर्न आएको थिएँ तर निजीमा पुग्दा ४१ हजार सकियो,’, उनले भने, ‘पैसा नपुगेर घरबाट मगाउनुपर्यो ।’ सरकारी अस्पतालको सेवा लिन आउने बिरामी यसैगरी दैनिक दलालको प्रभावमा परी निजी अस्पताल र क्लिनिकबाट ठगिन्छन् ।
बिरामी तान्न केही निजी अस्पताल र क्लिनिकले यसरी दलाल नै परिचालन गरेको यो एउटा उदाहरण हो । दुर्गम गाउँ र जिल्लाबाट सरकारी अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याउँदै निजी अस्पतालमा पुर्याउने कार्यमा यस्ता धेरै युवाहरु संलग्न रहेका छन् । निजीमा राम्रो उपचार र डाक्टर छन् भन्दै लैजाने उनीहरुको दैनिकी नै हुन्छ । जसका कारण विरामीलाई दुई गुणाबढी आर्थिक व्ययभार थपिन्छ ।
डाक्टरको कार्यकक्षमै गएर विरामीका आफन्तलाई तानरै निजी क्लिनिक तथा अस्पतालसम्म पुर्याउनु भेरी अस्पतालभित्रको नयाँ दृष्य होइन । अस्पतालमा सक्रिय दलाल तथा विचौलियाले दैनिक यस्तो धन्दा चलाइरहन्छ । दलाल र अस्पतालका डाक्टर तथा कर्मचारीबीच कमिशनमा सेटिङ् भएकाले त्यहाँ दलाललाई कुनै रोकतोक हुँदैन । ‘सिधैं कार्यकक्षमा जान्छन् तानेर ल्याउँछन्, उनीहरुले भनेकै ठाउँमा औषधि किन्नुपर्छ,’ बिरामी कुरुवाहरुको गुनासो छ ।
जाजरकोटबाट उपचारमा आएका बिरामीका कुरुवा नरेन्द्र पुनले अस्पताल व्यवस्थापनले नियन्त्रण गर्न नसक्दा विचौलियाको बिगबिगी बढेको बताए । फितलो व्यवस्थापनले अस्पतालका चिकित्सकदेखि कार्यालय सहयोगी र विचौलियासमेत सक्रिय रहेका छन् । अस्पतालमा दलाल तथा विचौलियाको दबदबा बढेसँगै उपचारका लागि अस्पतालमा आउने विरामी विचौलियाका कारण दैनिक सास्ती भोग्दै आएका छन् ।
अस्पताल प्रशासनले भने यस विषयमा चासो नदेखाएको उपचारका लागि अस्पतालमा आएका बिरामी तथा कुरुवाहरु बताउँछन् । सरकारी अस्पतालमा आएका बिरामी दलालमार्फत निजीमा पुगेको बारे भेरी अस्पताल प्रशासन बेखबर भने छैन । नेपालगन्जमा आधा दर्जन ठूला निजी अस्पताल छन् । १५० को हाराहारीमा क्लिनिक छन्, ती क्लिनिकमा एकदेखि सात जनासम्म विशेषज्ञ चिकित्सकको बोर्ड झुन्ड्याएका छन् ।
सरकारीमा राम्रो सेवा नपाइने, राम्रा चिकित्सक नहुने, उपचारमा समस्या भएर रोग झन् थपिने, ल्याब परीक्षण गर्ने आवश्यक चिकित्सक र उपकरण नहुने, रोगअनुसार औषधि नदिने, झन् बिरामी बढ्दै जानेलगायत समस्या हुने भन्दै डर देखाएर झुक्याउँदै निजी अस्पताल र क्लिनिक पुर्याउने गरेको पीडितहरुको गुनासोे छ । बिरामी कुरुवा पुनका अनुसार विचौलियाले काउण्टरबाट त होइन अस्पतालको गेट र फार्मेसी नजिकबाट दलाली गर्ने गरेका छन् ।
‘अस्पताल र यहाँका कर्मचारी तथा चिकित्सक यस बिषयमा चिन्तित छैनन्,’ बिरामी कुरुवा पुनले भने । विचौलिया हाबी हुँदा विगतमा डाक्टरको काउण्टरदेखि वार्डमै गएर विरामीका आफन्तलाई समातेर निजी क्लिनीक तथा अस्पतालमा लैजाने गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.रुपमानन्द अधिकारी स्वीकार गर्छन् । सरकारी अस्पतालमा सामान्य उपचार गर्न आउने बिरामीलाई ‘मुर्गा’ बनाउन दलालको जालो फैलिएको छ ।
विगतमा भन्दा अहिले अस्पतालमा विचौलियाको सक्रियता बढेको स्वीकार गर्दै मेसु डा.अधिकारीले पछिल्लो समय एजेन्टका रुपमा काम गर्नेमाथि निगरानी बढेको बताए । मेसु डा.अधिकारीले अस्पतालमा उपचार गर्न आउने बिरामीलाई झुक्याएर निजीमा लैजाने दलालसँग सजग रहन आग्रह गरे । उनले भने, ‘सरकारी अस्पतालको उपचार सेवा निजीको भन्दा सस्तो र राम्रो छ । बिरामीहरुलाई भ्रममा नपर्न मेरो आग्रह छ ।’
‘अस्पतालले प्रभावकारी पहल र गतिलो कदम चाल्न नसक्दा विचौलियाका कारण विरामी र कुरुवाले सास्ती भोगेका छन् ।’
अस्पतालमा निगरानी बढे पनि विचौलियाको धन्दा भने नरोकिएको विरामीका आफन्त चन्द्र दाहालले बताए । उनकाअनुसार विचौलिया तथा दलालको रोकथाम र नियन्त्रणका लागि अस्पताल प्रशासनले प्रभावकारीरुपमा कदम चाल्न नसकेको र चासोका साथ पहल नगरेको बताउँदै भने, ‘अस्पतालले प्रभावकारी पहल र गतिलो कदम चाल्न नसक्दा विचौलियाका कारण विरामी र कुरुवाले सास्ती भोगेका छन् ।’
दलालले अस्पतालमा राम्रा डाक्टर छैनन्, उपचार सेवा छैन लगायतका भ्रामक जानकारी दिँदै बिरामीलाई निजी अस्पताल र क्लिनिकतिर लैजाने गर्छन् । पीडित बिरामी र तिनका आफन्तको कानमा पुर्याउने र बिरामीलाई निजी अस्पताल र क्लिनिकमा जान बाध्य बनाउने गिरोह अहिले पनि भेरी अस्पतालमा सक्रिय भइरहेको छ । तर अस्पताल प्रशासन भने दलाल र विचौलियाका सामु निरिह देखिएको विरामीका आफन्तहरुको गुनासो छ ।
बिरामीलाई निजी अस्पताल र क्लिनिकतिर पुर्याएवापत राम्रै कमिशन पाउने भएकाले दलालहरुको सक्रियता दिन प्रतिदिन बढ्दो छ । निजी अस्पतालले बिरामीको रोग हेरेर दलाललाई कमिसन दिने गरेका छन् । दलाललाई हाडजोर्नीका बिरामीको रु.तीन हजार, प्रसुतिको रु.पाँच हजार, स्नायु सम्बन्धी बिरामीको रु.दश हजार, भिडियो एक्सरे, इण्डोस्कोपी लगायत जाँचका लागि निजी अस्पताल र क्लिनिकसम्म पुर्याउँदा कमिशन दिने गर्छन् ।
सरकारी अस्पताल व्यवस्थितरुपमा सञ्चालन हुँदा पुरा समय दिनुपर्ने र बिरामीको चाप बढ्ने भएकोले अधिकांश चिकित्सक र कर्मचारी अस्पतालमा अव्यवस्था नै मन पराउँछन् । निजी क्लिनिकमै व्यस्त रहने चिकित्सक र पैसा कमाउने ध्याउन्न बोकेका निजी अस्पताल वा क्लिनिकबीच अघोषित सहमति नै हुने गरेको छ । सोही सम्झौता बमोजिम दलालहरु सरकारी अस्पतालमा सक्रिय हुने गरेका छन् ।
यता भेरी अस्पतालमा कतिपय उपचार सेवामा बिरामीको सुविधाका लागि विद्युतीय टोकन प्रणाली जडान गरिएको छ । तर कर्मचारीको बदमासीले नियमितरुपमा सञ्चालन हुन सकेको छैन । अस्पतालमा बिरामीले उपचार नपाउँदा निजी अस्पताल तथा क्लिनिक चाहार्नुपर्ने बाध्यता रहेको विरामीहरुको भनाई छ । अस्पताललाई दुरुपयोग गर्नेहरु हाबी भएको नागरिक समाजका अगुवाहरु बताउँछन् ।
सरकारी अस्पतालमा बेथिती हुँदा त्यसको भरपुर फाइदा निजी अस्पतालले उठाएका छन् । दलालहरुकै कारण यहाँका निजी अस्पतालको व्यापार निकै फष्टाएको छ । अस्पतालमा नामभन्दा दाम कमाउने चाहना बोकेर आउने डाक्टर र कर्मचारीले मनग्ये कुम्ल्याएपछि सरुवा भएर जान्छन्, अस्पतालको बेथिति जस्ताको तस्तै । अस्पताल सुधार्नुपर्छ भन्नेमा सिमित चिकित्सक र कर्मचारी मात्र छन् ।
सत्यपाटी - ।