सूचनाको शक्ति - The Power Of Information

        

बिहे भएको ४८ दिनमै दिपाको खुसी खोसिएपछि…

बाँके । राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका अर्जुन बुढामगर र दाङ तुलसीपुरकी दिपा बुढाबीच असार १७ गते विवाह भयो । लामो समयसम्म प्रेम गरेका उनीहरुको निर्णयलाई घरपरिवारले पनि नकार्न सकेन र उनीहरुको असार १७ गते धुमधामका साथ विवाह भयो ।

बिहे भएको एक महिनापछि (गत साउन १७ गते) मजदुरीका लागि अर्जुन भारतको हिमाचल प्रदेशको नारकान्द जिल्ला गए । स्याउ टिप्नका लागि अर्जुनसँगै ३२ जनाको टोली नारकान्दतिर लाग्यो । अर्जुन त्यहाँ रहँदा समयसमयमा श्रीमती र घर परिवारसँग कुराकानी गर्थे र काम निकै अप्ठ्यारो भएकोले घर फर्किने बताउँथे ।

गाउँमा अहिले धान, मकै लगायतका बर्खे बाली गोडमेल गर्ने चटारो छ । त्यही चटारोमा भदौं १ गते अर्जुनकी श्रीमतीसहित घरका सदस्यहरु जुटिरहेका थिए । त्यही दिउँसो एक्कासी घरमा अर्जुन वितेको खबर आयो । रातीको समयमा आएको पहिरोले सुकेको रुख खस्दा अर्जुन र उनीसँगै रहेका ४७ वर्षिय सनबहादुर बुढामगरको ज्यान गएको हल्ला गाँउभरी फैलियो ।

‘बिहे भएको दुई महीना पुगेको छैन, कमाई गर्न गएका श्रीमान् लाश बनेर फर्किए । श्रीमान् अर्जुनको मृत्युपछि दिपा विरक्तिएकी छन्, पटक पटक बेहोस् भइरहन्छिन्,’ छिमेकी लालबहादुर पुनले भने । घरको आर्थिक अवस्था कमजोर रहेका कारण स्याउ टिप्ने सिजन चलिरहेका बेला मजदुरीका लागि भारत पुगेका अर्जुनसँगै अर्का सनबहादुर पुनमगरको पनि मृत्यु भयो ।

दुवैको परिवारमा रुवाबासी चलेको छ । खबर पाउने वित्तिकै दिपा अचेत भइन्, सिंगो गाउँमै रुवाबासी चल्यो । बिहे भएको ४८ दिनमै श्रीमान्को मृत्युको खबरले दिपा अहिलेसम्म अचेत छन् । उनी मात्रै होइन सुन्ने देख्ने जो कोही पनि भावुक छन् । सँगै जिउने मर्ने कसम खाएर सुन्दर भविष्य बुन्ने कल्पना गरेको जोडीले एकाएक गरेका दिपाको आँसु थामिएको छैन ।

श्रीमती र घरपरिवारको खुसीका लागि मजदुरी गर्न भारत पुगेका अर्जुन र सनबहादुर चितामा जल्नकै लागि मात्रै नेपाल फर्किने छन् । ‘दैवले मेरो खुसी खोस्यो,’ दिपाले भनिन् । उनलाई बिहे गरेको ४८ दिनमै श्रीमान्ले छोडेर जान्छन् भन्ने लागेको पनि थिएन । ‘मलाई अझै पनि श्रीमान् सकुशल घर फर्किनुहुन्छ भन्ने लागेको छ,’ उनले भक्कानिँदै भनिन्, ‘दैवले नै मेरो आशा पुरा हुने दिने छैन ।’

‘अहिले अर्जुन र सनबहादुरको घरमा रुवाबासी चलेको छ । पुरै गाउँ शोकमा छ,’ नेकपा राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष चिमबहादुर घर्तीले भने । उनले भारतबाट शव ल्याउने प्रयास भइरहेको र भोली मंगलबार रातीसम्म शव आइपुग्ने जनाए । घटनामा उनीहरुसँगै रहेका बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन, कृष्ण थारु लगायत घाइते भएको जनाइएको छ ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार १८:२३