काठमाडौं । हिन्दु महिलाहरुको चर्चित पर्व तीज नजिकिँदै छ । तीजलाई लक्षित गरेर धेरै गीतहरु बजारमा आइसकेका छन् । यसो त साउन महिना सुरु हुँदाबाटै हामी तीज गीत सुन्न पाउछौँ । केही प्रेमका भाका त केही बिलौनाका कथा बोकेर तीज गीत घन्कन्छन् ।
यो वर्षको तीजलाई लक्षित गर्दै केही गीतहरु बजारमा आएका छन् । केहीमा गीतार र ड्रम बजाएर पनि गीत पनि आएका छन् भने केही आधुनिक समाजका ‘सासु–बुहारी’का गीत आएका छन् । केही गीतलाई असाध्यै रुचाइएको छ ।
१. हामी पनि नाच्नु पर्छ बीच–बीचमा
गायक दुर्गेश थापाको शब्द र स्वरमा सजिएको ‘हामी पनि नाच्नुपर्छ बीच–बीचमा’ भन्ने गीतले अहिले बजारमा निकै चर्चा बटुलिरहेको छ । यूटुयूबमा यस गीतलाई झण्डै ४० लाखभन्दा धेरै पटक हेरिएको छ ।
२. अष्ट्रेलिया काण्ड (बिर्सिजाने मायालाई के भनौं)
लोकगायक पशुपती शर्माको यो वर्षको तीज गीत ‘बिर्सिजाने मायालाई के भनौँ’ गीत युट्यूबमा सार्वजनिक भएको छ । यो गीतलाई युट्यूबमा २७ लाखभन्दा धेरै पल्ट हेरिएको छ । यो गीत अष्ट्रेलिया जान मरिमेट्ने युवा समुदायमा लक्षित छ ।
३. ‘ठेल न बुढी ठेल’
रविन घर्ति मगर, मदन सेन्चुरी र तीलक लामिछानेको स्वरमा गीत ‘ठेल बुढी ठेल’ गीत पनि यूट्यूबमा सार्वजनिक भएको छ । यो गीतमा विशाल रायमाझीको शब्द छ । गीतमा ससुराली जान लागेका जोडीको कुराकानी समेटिएको छ । यो गीतलाई २८ लाखभन्दा धेरै पल्ट हेरिएको छ ।
४. सौता
गायक सन्तोष केसी, राधिका हमाल र रिता केसीको स्वरमा ‘सौता’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतले बहुविवाह गर्नेहरुले भोगेको समस्यालाई ठट्याइलो तरिकाले प्रस्तुत गरेको छ । गीतमा जिरे खुसानीका हाँस्य कलाकार शिवहरी पौडेल, अन्जु श्रेष्ठ र सविता गुरुङको अभिनय छ । यो गीतलाई १५ लाखभन्दा धेरै पल्ट हेरिएको छ ।
५. सुहायो चौपटै
गायक पशुपती शर्मा, राजु ढकाल र देवी घर्तीको गीत ‘सुहायो चौपटै’ यूट्यूबमा रुचाइएको छ । गीतलाई २८ लाखभन्दा धेरैले हेरेका छन् । यो गीतमा गायक तथा गायिकालाई नै अभिनय गरेको देख्न सकिन्छ ।
६. चल्ती आएको
‘चल्ती आएको’ बोलको गीतमा खुमान अधिकारी र शान्ता परियारको स्वर सुन्न सकिन्छ । यो गीतमा अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले नृत्य गरेकी छन् । यो गीतमा कृष्ण ढकाल शब्द छ ।
७. तीजै रमाइलो
नायिका केकी अधिकारी अभिनित गीत ‘तीजै रमाइलो’ गीत सार्वजनिक भएको छ । गीतमा गोमा (सुजाता) कार्कीको स्वर छ भने राजन पोखरेलको शब्द छ । यो गीतले तीजको बेलमा हुने जमघट, माइती र साथीहरुसँग रमाइलो समयलाई देखाएको छ ।
८. के छ ओई पान पाते ठूली
गायक रविन लामिछाने र रिना केसीको स्वरमा गीत के छ ओई पान पाते ठूली सार्वजनिक भएको छ । यो गीतमा नवराज पन्तको शब्द छ । साउनमा सार्वजनिक भएको गीतलाई धेरै रुचाइएको छ । यो गीतमा चाँडै विवाह गरेर विधवा भएकी युवती र उनको पूर्व प्रेमिको संवादलाई देखाइएको छ । गीतमा प्रकाश सपूत र जुना सुनदासले नाँचेका छन् ।
९. चिटिक्कै भाछु रे
‘चिटिक्कै भाछु रे’ गीत लोक गायिका सिन्धु मल्लले गाएकी हुन् । उनलाई स्वर र शब्द रचनामा राजन बगरले साथ दिएका छन् । सिन्धु मल्लले यो भन्दा अगाडि पनि चिटिक्क भाछु रे भन्ने गीत गाएकी थिइन् । यो गीतलाई यूट्यूबमा ४० लाखभन्दा धेरै पल्ट हेरिएको छ । गीतमा नायिका आँचल शर्माले नाचेकी छन् ।
१०. सासु–बुहारी
गीत सासु–बुहारीले आधुनिक तीजलाई देखाएको छ । यसले परिवारमा कस्तो असर गरेको छ र बुहारीले दर खाने चक्करमा परिवार विशेषगरी सासुलाई गरेको बेवास्तालाई चित्रण गरिएको छ । गीतमा तीजले निम्त्याएको समस्यालाई उजागर गरिएको छ । यो गीतमा सन्तोष केसी, राधिका हमाल र ललिता पौडेलको स्वर छ । गीतलाई सन्तोष केसी र सुष्मा अधिकारीले लेखेका हुन् । यो गीतलाई १७ लाख पल्ट हेरिएको छ ।
।