सूचनाको शक्ति - The Power Of Information

        

‘चार वर्षभित्र सबै घरधुरीमा बिजुली’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आगामी चार वर्षभित्रमा देशका प्रत्येक घरधुरीमा बिजुली पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ । आफ्नो ३४ औं वार्षिकोत्सवका अवसरमा आइतबार विद्युत् प्राधिकरणले आफ्ना गतिविधि सार्वजनिक गर्दै सरकारको मार्ग निर्देशन अनुरूप सन् २०२३ सम्ममा प्रत्येक घरधुरीमा विद्युत् सेवा पुर्याउन देशभरि नै विद्युत् वितरण सञ्जाल विस्तारलाई व्यापक बनाइएको उल्लेख गरेको हो ।

मुलुकको दीर्घकालीन विद्युत् मागलाई दृष्टिगत गर्दै प्राधिकरणले १ हजार ६० मेगावाटको अपर अरुण र ६३५ मेगावाटको दूधकोसी जलविद्युत् आयोजनालाई प्राथमिकताका राखी निर्माण प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । विद्युत् प्राधिकरणको कूल जनसंख्या हाल ३९ लाख १० हजार पुगेको छ । तीमध्ये ७८ प्रतिशतलाई राष्ट्रिय विद्युत् प्रणालीको विद्युत् उपलब्ध गराउन सफल भएको प्राधिकरणले जानकारी दिएको छ ।

विद्युत प्राधिकरणले पूरा गरेका र निर्माण गरिरहेका आयोजना

प्राधिकरणका अनुसार ६० मेगावाटको त्रिशूली ३ ए जलविद्युत् आयोजना सम्पन्न भई सञ्चालनमा आएको छ । साथै १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको प्रारम्भिक परीक्षण सम्पन्न भई सञ्चालनको अन्तिम तयारी चरणमा छ । १३२ केभी र सोभन्दा माथिल्लो भोल्टेजको कूल ७५८ किमि प्रसारण लाइन निर्माण पूरा भएका छन् भने ६०६ सर्किट किमि प्रसारण लाइनहरू चार्ज भई सञ्चालनमा आएका छन् । साथै ७३८ एमभीए क्षमता बराबरका २० वटा ग्रिड सबस्टेसन प्रणालीमा थप भएका छन् ।

हाल १३२ केभी र सोभन्दा माथिल्लो भोल्टेजको कूल ३ हजार २६१ सर्किट किमि प्रसारण लाइन र ९ हजार ५०० एभीए बराबरका सबस्टेसन निर्माणाधीन छन् । १८० एमभीए बराबरका २० वटा ३३÷११ केभी वितरण सवबस्टेसशन निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् । साथै ३३ केभी, र ४००–२३० भोल्टका गरी कूल ९ हजार ७२० किमि वितरण लाइन निर्माण पूरा भएका छन् । यसैगरी कूल ७०० एभीए क्षमता बराबरका ७ हजार थान वितरण ट्रान्सफर्मर जडान भएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतवार १३:३२