सूचनाको शक्ति - The Power Of Information

        

आज जनैपूर्णिमा, रक्षाबन्धन तथा राखी पर्व, किन लगाउने जनै अर्थात् ब्रह्मासुत्र ?

काठमाडौं । हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व बिहीबार देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ । यसैदिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।

यसका लागि श्रावण शुक्ल चतुर्दशीदेखि कपाल मुण्डन गरी एक छाकमात्र खाएर चोखोनीतो गरी बसिन्छ । यसरी व्रत बसेका तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई श्रावणी स्नान पनि भनिन्छ । स्नानपछि जौ, तिल र कुशद्वारा ऋषिलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै (यज्ञोपवीत) फेरिन्छ ।

अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको हो । वैदिक गुरु परम्परा अनुसार यज्ञोपवीत अर्थात जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागोसमेत भनिन्छ । रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोकविनायक लगायत बाग्मती नदीको किनार र मठ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

जनैपूर्णिमाका दिन एघार थरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाइन्छ । यसरी क्वाँटी बनाइ खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ । नेपालको तराईक्षेत्रमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधेर मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइकाबिचमा प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

काठमाडौंको उत्तरपूर्वी भेगमा रहेको मणिचूड, रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गङ्गासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायतका ताल, पोखरी र कुण्डमा बिहानैदेखि मेला लागेको छ । यस पर्वका अवसरमा विभिन्न शैक्षिक संस्था एवं स्थानीय सरकारले सार्वजनिक बिदासमेत दिएका छन् ।

लगाउनैपर्छ त जनै ? के छ यसको महत्व ?

आजभोलि मनाइने जनैपूर्णिमालाई प्राचीनकालमा उपाकर्म भनिन्थ्यो। यो वर्षा ऋतुको पहिलो पूर्णिमामा गरिने कर्म हो । उपाकर्म वेद अध्ययन गर्नका लागि प्रारम्भ गरिने एउटा अनुष्ठान हो । यस अनुष्ठानलाई शास्त्रीय रुपमा गुरु–शिष्य मिलेर गर्ने कर्मका रुपमा व्याख्या गरिएको छ । यो वेद पढाउने गुरु र वेद पढ्ने शिष्यबीचको कर्म हो । पछिल्लो समयमा उपाकर्म ओझेलमा परेको छ। कताकतै मात्रै यो अनुष्ठान गरिएको पाइन्छ ।

अहिले उपाकर्मलाई जनैपूर्णिमा, रक्षाबन्धन भनेर एउटा सांस्कृतिक चाडको रुपमा मनाउने प्रचलन आयो । जनैपूर्णिमा विशेषगरी ब्राह्मण वर्गले मान्छन् । यो मुख्यतयाः वेद पढ्ने कर्म हो । जनैपूर्णिमा वेद पढ्ने उपाकर्मकै वैकल्पिक स्वरुपमा आएको चाड हो । शास्त्रीय भाषामा जनैलाई यज्ञोपवित भनिन्छ । यज्ञका निम्ति प्राचीन रुपमा मानिसले लगाइने वस्त्रलाई उत्तरीय र अधोवस्त्र भनिन्थ्यो ।

अधोवस्त्र भनेको धोती जुन शरीरको तल्लो भागमा लगाइन्छ र उत्तरीय भन्नाले माथि लगाउने वस्त्र भन्ने बुझिन्छ । शास्त्रका अनुसार उत्तरीय लगाएर मात्रै यज्ञको अनुष्ठान हुन्छ । उत्तरीय नलगाइकन व्यक्ति शून्य हुन्छ, रित्तो हुन्छ । यही उत्तरीयको विकल्पमा जनै अथवा यज्ञोपवितको प्रयोग हुन थालेको हो । यज्ञ लगाउन प्रयोग हुने उत्तरीयको विकल्पका रुपमा जनै लगाउन थालिएको हो । यज्ञ अनुष्ठानका लागि व्यक्ति पवित्र हुनुपर्ने भएकोले जनै लगाएको व्यक्ति त्यसको लागि तयार हुन्छ। जनै नलगाएको व्यक्ति अपवित्र मानिन्छ ।

त्यसैले पनि यज्ञ अनुष्ठान गर्दा जनैको प्रयोग अनिवार्य भयो । ब्राह्मणले उपनयन गरेपछि वेद पढ्नुपर्ने र वेद पढ्नका लागि जनै (ब्रह्मसूत्र) लगाएरै पढ्नुपर्ने हुन्छ । जनै नलगाइकन गरेको कर्म निष्फल हुन्छ । वेदको अध्ययन गर्न, धार्मिक अनुष्ठानका गर्न जनै अनिवार्य हुन्छ ।

तागाधारी जसले उपनयन वा व्रतबन्ध गरेर जनै लगाएका हुन्छन्, उनीहरुलाई गुरुले गायत्री मन्त्र दिएका हुन्छन् । मन्त्र जप्नका लागि जनै लाउनुपर्ने हुन्छ । अहिले पछिल्लो समयमा विभिन्न व्यवहारिक कारणले धेरै कुरा छोडे पनि जनै धारण गर्नाले मानिसलाई ‘धार्मिक अनुष्ठानसँग मेरो सम्बन्ध छ, म धार्मिक अनुष्ठान गर्नुपर्ने मान्छे हुँ, म जनै लगाएर पवित्र भएको छु,’ भन्ने स्मरण गराइरहन्छ । यसले मान्छेलाई सांस्कृतिक रुपमा निरन्तर अनुशासित बनाउँछ ।

‘म एउटा व्रतमा बाँधिएको छु, नियममा बाँधिएको छु’ भन्ने कुरा झक्झक्याइरहन्छ । गुरुले दिएका आचरण र उपदेशहरुको स्मरण गराउँछ । जनैपूर्णिमा मुलतः धार्मिक पर्व हो । तर अहिले सबैले त्यही किसिमले धार्मिक अनुष्ठान नगर्ने, गर्न नसक्ने हुनाले यो पर्वलाई धार्मिक तथा सांस्कृतिक पर्वको रुपमा लिन सकिन्छ । यो विशुद्ध सांस्कृतिक पर्व भने होइन् । यसमा धार्मिक पक्ष पनि जोडिएको छ । रक्षाबन्धनलाई भने धार्मिकभन्दा पनि सांस्कृतिक परम्पराको रुपमा लिन सकिन्छ । जनैलाई वैदिक मन्त्रले मन्त्रेर त्यसमा एउटा शक्ति छ, पवित्रता छ भनेर धारण गरिन्छ ।

त्यस्तै रक्षाबन्धनलाई पनि वैदिक मन्त्रले मन्त्रेको हुन्छ । ब्राह्मणबाट रक्षाबन्धन बाँध्ने कुरा शास्त्रीय हो तर दिदीबहिनीले दाजुभाइलाई बाध्ने रक्षाबन्धन भने शास्त्रसँग जोडिएको देखिँदैन । यो शास्त्रीयभन्दा पनि सांस्कृतिक पक्ष हो। शास्त्रीय रुपमा धार्मिक कर्तव्य, सांस्कृतिक कर्तव्य र अनुशासनमा बस्नु पर्ने कर्तव्य स्मरण गराउनको लागि जनैलाई एउटा धार्मिक तथा सांस्कृतिक चिन्हको रुममा धारण गरिएको हो । प्राचीनकालमा जनैलाई विजायनी भनिन्थ्यो। जनै विजायनीकै अपभ्रंश शब्द हो । मानव रक्षाका लागि जप, तप र पूजागरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाँहिने नाडीमा बाँधिदिने गरिन्छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहीबार ०७:३८