काठमाडौं । उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खड्गबहादुर खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको छ । उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले सोमबार मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको हो ।
सो अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीसहित पाँच जनाले रु एक करोड १० लाख ८० हजारको कीर्ते बैंक ग्यारेन्टी गरेको उल्लेख गर्दै पक्राउ गर्न आदेश दिएको हो । उनीहरुले कृषि विकास बैंक भोजपुरबाट जारी गरेको कीर्ते बैंक ग्यारेन्टी बनाएर जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेश गरेको देखिएको ठहर भएको छ ।
अदालतको आदेशमा मन्त्री खत्री र राजुप्रसाद श्रेष्ठलाई फरार अभियुक्त भनिएको छ । अन्य अभियुक्तहरू छबिलाल ढकाल, रणधिर तुम्बा र देवजंग शाहीलाई अदालतमा उपस्थित गराइएको थियो । उपस्थित भएका तीनै जनालाई बैंकिङ कसुर अन्तरगत अदालतले ६ लाख बराबरको धरौटी मागेको छ । मन्त्री खत्रीलाई भने पक्राउ गरेर तीन दिनभित्र बयानका लागि अदालत पेश गर्न भनिएको छ ।
नेपाल प्रहरी र सरकारी वकीलको काममाथि यो प्रकरणमा शंका व्यक्त गर्दै फैसलाबारे प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र महान्यायाधीवक्ता अग्नी खरेललाई पनि जानकारी दिनू भनिएको छ । मन्त्री खत्रीसहितको स्वामित्वमा केएसके कन्स्ट्रक्सन कम्पनीले अहिले पनि सरकारका दर्जनौं ठेक्का लिइरहेको छ । केएसके कन्स्ट्रक्सन कम्पनीमा उनका भाइ लोकेश र व्यवसायी सूर्य खत्री पनि साझेदार रहेका छन् ।
सत्यपाटी - ।