सूचनाको शक्ति - The Power Of Information

        

अझै भेटिइनन् २६ दिनदेखि हराएकी दुर्गा

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको अपराध अनुसन्धान हेर्ने डिएसपी होविन्द्र बोगटी आइतबार दिउँसो आफ्नै कार्यकक्षमा थिए । उनी एउटा फाइलमा घोत्लिरहेका देखिन्थे । त्यो फाइल २७ दिनदेखि काठमाडौं चावहिलबाट हराएकी ३४ वर्षे दुर्गा शर्मा खोजतलासका लागि संकलित प्रमाण र जानकारीसँग सम्बन्धित हो ।

‘भौतिक र प्राविधिक दुवै साधन प्रयोग गर्दै उहाँको खोजी गरिरहेका छौं,’ डिएसपी बोगटीले भने, ‘सोधपुछ र खोजीमा हामी सक्रिय छौं ।’ चावहिलस्थित डेराबाट सुतिरहेका श्रीमान् र छोरा छाडेर नेपालगन्जकी दुर्गा शर्मा ३ साउन २०७६ को एकाबिहानै घरबाहिर निस्किइन् । त्यसपछि उनी सम्पर्कबिहीन भइन् । घर छोडेर हिँड्ने राति साउन २ गते उनी एक्लै सुतेकी थिइन् ।

श्रीमान् कपिल शर्मा र छोरासँगै सुतेका थिए । अध्यापन पेशामा संलग्न कपिल बिहान पाँच बजे उठ्दा दुर्गा कोठामा थिइनन् । घरको मूल ढोका बाहिरबाट बन्द थियो । उनले भाई करुण शर्मालाई फोन गरेर ढोका खोल्न लगाए । दुर्गाका श्रीमान कपिल उनी हराएकै बिहान खोजतलासका लागि महानगरीय प्रहरी वृत्त गौशाला पुगे । त्यहाँ निवेदन दिए ।

उनले दुर्गाले ‘तीतो सत्य शीर्षक’मा लेखेको विदाई पत्रसमेत प्रहरीलाई बुझाए । कपिलले प्रहरीमा खबर गर्नुअघि दुर्गाको माइती पक्षलाई समेत खबर गरेका थिए । ‘उहाँले लेखेको पत्रका आधारमा प्रहरीले उपत्यकामा बग्ने सबै नदीका किनारदेखि गहिरो स्थानसम्म खोजी गरेका छौं,’ डिएसपी बोगटी भन्छन्, ‘कुनै दुर्घटना भए त अहिलेसम्म बाहिर आउनुपर्ने हामी आफैँ अचम्ममा छौं ।’

दुर्गाले लेखेको पत्रमा आफूलाई श्रीमान् र उनका परिवारले यातना दिने गरेको विषय उल्लेख छ । पत्रमा उनले आफू ‘पानीमा डुबुल्की लगाउन’ जाने उल्लेख गरेकी छिन् । यही सन्दर्भ पछ्याउँदै प्रहरीले उपत्यकामा रहेका नदीनालामा विशेष खोजी गरिरहेको हो । प्रहरीले अनुसन्धानका लागि दुर्गाले प्रयोग गर्ने दुई वटै मोबाइलमा रहेका नम्बरको कल डिटेल निकालेको छ ।

श्रीमान् कपिल र दुर्गाकी दिदी लक्ष्मी समेतको कल डिटेल निकालेर विश्लेषण गरिरहेको छ । प्रहरीले दुर्गा शर्मा खोजीबारे तयार गरेको लामो प्रतिवेदनमा ३ गतेदेखि खोजी जारी रहेको उल्लेख छ । खोजीका लागि कल डिटेलसहित दुर्गाले चलाउने सामाजिक सञ्जाल फेसबुक र म्यासेञ्जरको समेत विज्ञ समुहले विश्लेषण गरेको छ ।

‘प्राविधिक विश्लेषणबाट समेत कुनै शंकास्पद कुरा भेटिएन,’ डिएसपी बोगटी भन्छन्, ‘जंगल, खोलानाला र आफन्त केही बाँकी राखेनौं खोजी गर्न तर भेटिनुभएको छैन ।’ प्रहरीले दुर्गाको खोजीका लागि मैजुबहालबाट ओरालो गौरीघाट जाने बाटोमा रहेको ए वन क्याफे र गौरीघाटबाट चावहिल पीपलबोट अगाडिको सिसिटिभी फुटेज समेत मगाएर हेरेको थियो ।

दुवै क्यामरामा दुर्गा हिँडडुल गरेको देखिएको छैन । प्रहरीले उपत्यकाका भन्डारखाल, विश्वरुपा र शिवपुरी जंगलमा तालिम प्राप्त कुकुर र परिवारका सदस्यसहित खोजतलास गरेको छ । ‘अमेरिका जाने बिषयबाहेक बाहेक अन्य विषयमा विवादसमेत देखिएन,’ डिएसपी बोगटीले भने, ‘हामी अझै खोजीमै छौं, परिवारसमेत खोजीमा सक्रिय हुनुहुन्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १८:३६