सूचनाको शक्ति - The Power Of Information

        

सम्भव देखियो इबोलाको उपचार

वासिङ्टन । इबोलाको उपचार सम्भव हुने र रोकथाम गर्न सकिने सम्भावना बढेको वैज्ञानिकहरुले बताएका छन् । इबोला विरुद्धका दुई औषधिको परीक्षणमा निकै सकारात्मक नतिजा आएको र रोगको उपचार वा रोकथाम सम्भव देखिएको वैज्ञानिकको भनाई छ । परीक्षण गरिएका औषधिको प्रयोगबाट इबोला संक्रमितलाई निको हुने र बाँच्ने दर राम्रो देखिएको छ ।

अफ्रिकी देश प्रजातान्त्रिक गणतन्त्र कंगोमा हाल इबोलाको महामारी फैलिएको छ । सो क्षेत्र चार प्रकारका औषधि परीक्षण गरिएकोमा दुई औषधिको नतिजा सकारात्मक आएको हो । प्रभावकारी औषधिको प्रयोग गरेर सुरुवाति चरणमै उपचार गरिएमा ९० प्रतिशत भन्दा बढी इबोला संक्रमितलाई निको हुने देखिएको अनुसन्धानमा उल्लेख छ ।

प्रभावकारी नतिजा देखाएका औषधिको प्रयोग अब कंगोका सबै इबोला संक्रमितमा प्रयोग गरिने स्वास्थ्य अधिकारीले बताएका छन् । अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेम्सिअस डिजिजेज (एनआइएआइडी) को सहकार्यमा कंगोमा ती औषधिहरुको परीक्षण भएको हो ।

इबोला विरुद्धको अभियानमा दुई औषधिहरुको नतिजा निकै राम्रो आएको एनआइएआइडीले बताएको छ । आरइजिएन–इबी थ्री र एमएबी १४४ नाम गरेको औषधिको नतिजा राम्रो देखिएको हो । यी एन्टिबायोटिकले इबोला भाइरसलाई आक्रमण गर्ने गरेका छन् । यी औषधिले इबोला भाइरसको प्रभाव मानव कोषमा न्युट्रलाइज गर्ने देखिएको छ ।

अहिलेसम्म भएका परीक्षणमध्ये यी औषधि सबैभन्दा बढी प्रभावकारी देखिएको डा.एन्थोनी फाउकीले बताएका छन् । कंगोमा हाल फैलिएको इबोला संक्रमणका कारण एक हजार ८०० जनाभन्दा बढीको ज्यान गइसकेको छ । परीक्षणमा प्रयोग गरिएका जेडएमएप र रेमडेसिभर नाम गरेका औषधि भने ‘ड्रप’ गरिएका छन् ।

प्रकाशित मिति : २८ श्रावण २०७६, मंगलवार १४:०४