सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा मनाइयो बकर इद : मस्जिदमा नअटेपछि सडकमै नमाज

बाँके । मुस्लिम धर्मावलम्बीको ठूलो चाडमध्येको बकर इदमा आज नेपालगन्जको वीपी चोकस्थित मस्जिदमा सामूहिक नमाज पढिएको छ । वीपी चोकमा सामूहिक नमाज पढ्न नगरका विभिन्न ठाउँबाट मानिसहरु जम्मा भएका थिए । वीपी चोकस्थित मस्जिद नअटेपछि सडकमै बसेर नमाज पढिएको थियो ।

घरबाट ल्याएका तन्ना ओछ्याएर ठूलो संख्या बाटोमै बसेको थियो । नेपालगन्ज निवासी शहरी विकास मन्त्री मो. इस्तियाक राईले पनि वीपीचोकमै आएर नमाज पढेका छन् । मन्त्री राईले सबै धार्मिक समुदायका मानिसहरु एक आपसमा मिलेर बसेकाले नेपालगन्जको विशेष महत्व रहेको बताए ।

‘हामी नेपालगन्जवासी एक अर्काको पर्वमा रमाउँछौं, यही नै यहाँको विशेषता हो,’ मन्त्री राईले भने, ‘बकर इदमा आपसी भाइचारा, शान्ति, सद्भाव कायम रहोस् ।’ सामूहिक नमाज सकिएपछि आपसमा शुभकामना साटासाट गर्न हिन्दु समुदायका व्यक्तित्वहरु वीपीचोकमा पुगेका थिए ।

नेपालगन्जका मेयर डा.धवलशम्शेर राणा, नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ लगायतले वीपी चोकमा पुगेर एक अर्कामा ‘गले मिलेर’ शुभकामना साटासाट गरेका थिए । बदर इदमा कुर्बानी दिने गरिन्छ । त्यस्तो कुर्बानी दिएको मासुलाई तीन भाग लगाउने गरिन्छ । पहिलो भाग आफूले खाने, दोस्रो भाग आफन्तीलाई र तेस्रो भाग गरीवलाई दिने गरिन्छ । त्यही भएर बकर इदलाई त्याग अर्थात कुर्बानी गर्ने दिनको रुपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १७:३२