बाँके । सीमापारिबाट पशुचौपाया धमाधम नेपाल भित्रिरहेका छन् । सिमापारिबाट दैनिकजसो ४०/५० वटा पशुचौपाया सिमावारि भित्रिने गरेका छन् । त्यसरी भित्रिएका पशुचौपायाले सीमावारि हैरानी व्यहोर्नुपरेको छ । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लागेपछि त्यहाँ छाडा छाडिएका पशुचौपाया नेपाल भित्रिन थालेपछि नेपालगन्ज उपमहानगरका लागि चुनौती बनेका हुन् ।
नेपाल प्रहरीको सहयोगमा सडक तथा बजार क्षेत्रबाट छाडा चौपायालाई नियन्त्रणमा लिइ कान्जी हाउसमा राख्ने गरिएको भए पनि भारतमा आउने क्रम नरोकिँदा ब्यवस्थापनमा समस्या आएको नेपालगन्ज उपमहानगरपालिका सूचना अधिकारी शरद पौडेलले भनाई छ । वडा कार्यालयको सिफारिस लिएर पालन पोषण गर्ने गरी कोही ब्यक्ति आएको खण्डमा त्यस्ता व्यक्तिलाई उपमहानगरपालिकाले चौपाया उपलब्ध गराउने गरेको छ ।
‘यति गर्दा पनि नियन्त्रणको चुनौती कम भएको छैन,’ सूचना अधिकारी पौडेलको भनाई छ । बजार क्षेत्रमा रहेका छाडा पशु चौपायाहरुलाई नियन्त्रणमा लिएर कान्जी हाउसमा राख्नु दीर्घकालिन समाधान नभएकोले यसमा पशु धनीहरुले नै सहयोग गर्नुपर्ने सूचना अधिकारी पौडेलको भनाइ छ । चौपाया सडकमा छाड्ने पशु धनीहरुलाई उपमहानगरले कुनै कारबाही गर्न नसक्दा लापर्वाही दोहोरिने गरेको बुझाई स्थानीयको छ ।
उपमहानगरभित्र छाडा पशुचौपाया नियन्त्रण निकै चुनौतीपूर्ण बन्दै गएको छ । छाडा पशुचौपायाका कारण नगरको सौन्दर्य मात्र बिग्रिएको छैन, सडक दुर्घटना पनि उत्तीकै बढेको छ । लामो समयदेखि छाडा पशु चौपायाको ब्यवस्थापनमा लागेको नेपालगन्ज उपमहानगरले ब्यवस्थापनका लागि पटक पटक अनेक प्रयास गरे पनि सफल हुन सकेको छैन । छाडा पुशचौपाया हुंँदासहरको सुन्दरता बिग्रिएको छ भने दिनहुँ सवारी दुर्घटना बढ्न थालेका छन् ।
बजार क्षेत्रको मुल सडकमै जथाभावीरुपमा साँढे, गाई, खच्चड, भुस्याहा कुकुरका कारण सडकमा आवतजावत गर्ने सवारीसाधनलाई समस्या बनाएको छ भने ट्राफिक व्यवस्थापनको समस्या थप बल्झिएको छ । छाडा भेटिएका चौपायाहरुलाई लैजानका लागि उपमहानगरले पशु धनीलाई पटकपटक सूचना गर्ने गरेको छ । सम्बन्धित पशु धनीहरुले बेवास्ताका कारण छाडा पशुचौपायालाई कान्जी हाउसमा पठाइने गरिएको उपमहानगरले जनाएको छ ।
बजार क्षेत्रका छाडा चौपायालाई जंगलमा समेत लगेर छाडिएको जानकारी दिँदै उपमहानगरपालिकाका सूचना अधिकारी पौडेलले भने, ‘समस्या समाधान भइरहेको छैन ।’ जथाभावीरुपमा पशुचौपाया बजारमा छाड्नाले धेरै सर्वसाधारण र ब्यापारीहरुले समेत सास्ती खेप्नुपरेको छ । लामो समयदेखि रहेको छाडा पशुचौपायाको समस्या समाधान गर्न उपमहानगरले दिर्घकालीन उपायको खोजी गर्न जरुरी रहेको स्थानीयहरुको भनाई छ ।
साँझ तथा रातीको समयमा सडकका मुख्य चोक तथा बीच सडकमै अस्तब्यस्त अवस्थामा पशुचौपाया छरिएर बस्दा सवारी साधन सञ्चालनमा असहज हुनुका साथै दुर्घटनामा समेत वृद्धि भएको छ । कान्जी हाउसमा लगेर राख्नु समस्या समाधान नभएको कतिपयकोे भनाइ छ । कान्जी हाउसमा राखेका जनावर मर्ने समस्या भएकाले विकल्प खोज्नुपर्ने नेपालगन्ज उपमहानगरपालिका–१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदीले बताए ।
‘कान्जी हाउसमा थुनेर राख्दैमा समस्या समाधानको हुँदैन । छाडा पशुचौपायालाई टाढै लगेर छोड्ने र अन्य विकल्पको खोजिमा लाग्नुपर्छ,’ उनले भने । गाईको संख्या बढ्दै गएसँगै स्थानीय सरकारले उचित व्यवस्थापन गर्न नसक्दा समस्या झन् बढेको गाई बचाउ अभियानका अभियन्ता विवेक श्रेष्ठले बताए । पशुचौपायालाई काञ्जी हाउसमा राखेपछि आवश्यक आहार तथा औषधी उपचारमा स्थानीय सरकारले बेवास्ता गरेको उनले बताए ।
उनले भने, ‘गाईको आहारा तथा औषधी उपचारका लागि युवाहरु आफै जुटेका छन् ।’ गाई बचाउ अभियान नै सञ्चालन गरेर अभियन्ता विवेक श्रेष्ठ, समिरमान श्रेष्ठ, महेश श्रेष्ठ लगायतको टोलीले सामाजिकरुपमा अपिल गर्दै घाँस, दाना, पानी तथा आवश्यक औषधीको व्यवस्था गर्दै छाडा पशुचौपायाको दीगो समाधानका लागि प्रयास गरिरहेको छ । यस विषयमा स्थानीय सरकार जानकार रहे पनि बेवास्ता गरिएको अभियन्ता समिरमान श्रेष्ठले बताए ।
धेरै किसानले दुध दिन छोडेका तथा बिरामी भएका पशुचौपाया सडक तथा सार्वजनिक स्थानमा छोड्ने गरेको र सीमापारिबाट उत्तीकै संख्यामा नेपाल भित्रिने चौपायाका कारण समस्या जटिल बनेको अभियन्ताहरुको भनाई छ । जसका कारण क्षमताभन्दा चार गुणा बढी पशुचौपाया कान्जी हाउसमा राख्नु परेपछि पशुचौपायाहरु दिनदिनै मर्न थालेका छन् । काञ्जी हाउसमा राखिएका पशुचौपायाले भुस, घाँस र पानीसमेत पाएका छैनन् ।
अलपत्र र बेवारिसे अवस्थामा छाडिएका, भारतबाट आएका, दुर्घटनामा परेका पशुलाई नगरले पुरैनास्थित बिर्तामा रहेको कान्जी हाउसमा राखेको छ । तर, पर्याप्त खाना नपाएपछि ती पशु मर्न थालेका छन् । हालसम्म ५० भन्दा बढी गाई मरिसकेको स्थानीयहरु बताउँछन् । १०० पशुचौपाया अट्ने कान्जी हाउसमा ४०० पशुचौपाया राखिएपछि यस्तो समस्या देखिएको कान्जी हाउसका कर्मचारी हरि चौधरीले बताए ।
काञ्जी हाउसमा २१ वटा खच्चरसहित गाई, गोरु र बाच्छाबाच्छी गरेर ३९५ चौपाया रहेका उहाँले जानकारी दिनुभयो । तर उपमहानगरले दिनहुँ छाडा पशु समातेर ल्याउने गरेका कारण यो संख्या दिनहँु बढ्दै गएको छ । स्थानीयका अनुसार नेपालगन्जमा बेवारिसे छाडिएका केही गाई तथा अन्य पशुचौपाया खान नपाएर त, केही सडक दुर्घटनामा परेर मरेको सामाजिक अभियन्ता श्याम शाक्यले बताए ।
नेपालगन्जको अत्याधिक गर्मीमा खुला र छाना नभएको ठाँउमा पशुचौपायाहरू राखिएका छन् । तिनले पानीसमेत पर्याप्त पाएका छैनन् । पशुचौपायाको अवस्था नाजुक रहेको अभियन्ताहरुको भनाई छ । थुनेर राख्ने र समयमा पानीसम्म खाना नदिँदा पशुचौपायाहरू मर्ने क्रम बढेको छ । बजारमा छाडा छोडिएका पशुचौपायालाई कान्जीहाउसमा पुर्याउने र खाना नदिएर मार्ने गरिएको भन्दै यहाँका स्थानीयहरुले स्थानीय सरकारसँग आक्रोश व्यक्त गरिरहेका छन् ।
कान्जी हाउसमा धमाधम गाई मरिरहेको खबरहरु बाहिर आउदा नेपालगन्ज मेयर धवलशमशेर राणाप्रति रोष प्रकट गर्नेको संख्या बढिरहेको छ । चुनाव चिन्ह गाई नै रहेका मेयर राणाको पार्टी राप्रपाले हिन्दु धर्म हुनुपर्छ भनेर लबिङ गरिरहेको छ । त्यसमा पनि गाईलाई हिन्दु धर्ममा माता नै मानिन्छ । त्यही गाई माता मरिरहँदा मेयर राणाले उचित व्यवस्थापन गर्न नसकेको भन्दै अभियन्ताहरुले गुनासो गरेका छन् ।
सामाजिक सञ्जालमा अभियान
‘गाई बचाउ अभियान’का अभियन्ताहरुले सामाजिक सञ्जाल ‘नेपालगन्ज ग्यालरी’मार्फत अभियान चलाइरहेका छन् । ८५ हजार बढी सदस्य रहेको ‘नेपालगन्ज ग्यालरी’का विवेक श्रेष्ठ, समिरमान श्रेष्ठ लगायतको टोलीले दुई हप्तादेखि कान्जी हाउसमै पुगेर पशुचौपायालाई घाँस, दाना लिएर खुवाउने गरेको छ । नेपालगन्ज ग्यालरीको अभियानमा थपिनेहरुको संख्या दिन प्रतिदिन बढिरहेको अभियन्ता समिरले बताए ।
सधैंजसो बेलुका घाँस लिएर टोली पुग्ने गरेको छ । शनिबार त विहान–बेलुका नै घाँस लिएर ठूलो संख्याका अभियान्ताहरु कान्जीहाउस पुग्ने गरेको छन् । अभियन्ता समिरले घाँस पाइएको ठाउँमा मजदुर लगाएर काट्ने र कान्जी हाउसमा लिएर पशुचौपायालाई खुवाउने गरेको बताए । उनले भने, ‘बलियोले घाँस र पानी मज्जाले खाना पाउँछ । कमजोरले राम्ररी खाना पाउँदैन । खाना नपाएपछि कमजोर पशुहरु बिरामी परेर मर्न थालेका छन् ।’
नेपालगन्जमा सक्रिय फेसबुक ग्रुप नेपालगन्ज ग्यालरीमार्फत सदस्यलाई गाई बचाउन सहयोग आह्वान गरेसँगै दुई हप्तादेखि अभियन्ताहरुले निरन्तर पशुचौपायालाई घाँस, दाना, पानी खुवाउँदै आएका छन् । ग्यालरीका सदस्य विवेक श्रेष्ठले काञ्जी हाउसमा पशुचौपायाको अवस्थाका बारेमा फेसबुक स्टाटस लेखेपछि अहिले १०० भन्दा बढी युवाहरु अभियानमा जुटेको बताए ।
‘कसैले घाँस, कसैले केही रकम उपलब्ध गराएकाले दैनिकरुपमा यस कार्यलाई निरन्तरता दिएका छौं,’ ग्यालरीका सक्रिय सदस्य महेश श्रेष्ठले भने । मानिसले तिहारमा गाई खोजीखोजी पुजा गर्ने तर अघिपछि वेवास्ता गर्ने गरेकोमा उहाँको दुखेसो छ । सडकमा छाडा छोडिएका पशु चौपाया व्यवस्थित गर्ने काम उपमहानगरको भएको भन्दै अभियन्ता महेशले पशुचौपायाको बाँच्न पाउने अधिकारको पनि ख्याल गर्न स्थानीय सरकारसँग माग गरे ।
योजना बुन्दै उपमहानगर
नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमसेर राणाले भारतबाट आएका पशु चौपायका कारण पनि यसको नियन्त्रण चुनौतीपूर्ण बनेको बताए । भारतको उत्तरप्रदेशमा गौहत्यामा रोक लागेपछि त्यहाँबाट छाडा छाडिएका पशुचौपाया सीमानाका हुँदै नेपालगन्ज आउने गरेको बताइएको छ । जसका कारण नेपालगन्जमा छाडा पशुचौपाया व्यवस्थापनमा समस्या हुँदै आएको मेयर डा.राणाले बताए ।
मेयर डा.राणाले पशुचौपायाको व्यवस्थापनका लागि कान्जीहाउस निर्माण भइरहेको बताउनुभयो । तर भारतबाट छाडा पशुचौपाया नेपालगन्ज आइरहेकाले यो समस्या समाधानका लागि ठुलो चुनौती देखिएको उनले बताए । उनले भने, ‘यहाँका युवाको सहयोग पाएको छु । यसको दीर्घकालीन समाधान गर्न योजना बुनिरहेको छु । कुनै व्यक्ति वा संस्थाले यसको उपयोग गर्ने इच्छा देखाएमा हामीलाई अझै सहज हुनेथियो ।’
छाडा छाडिएका बहुउपयोगी गाईलाई कुनै सामाजिक संघसंस्थामार्फत् उनीहरुको पालनपोषण गरेर गहुँत, गोबर लगायतका वस्तु प्रयोग गर्नुपर्नेमा स्थानीयको ध्यान जान जरुरी रहेको नेपालगन्जका स्थानीय विन्दु शर्माले बताए । छाडा पशुचौपायालाई बन्ध्याकरण गर्न सके तिनको सन्तानोत्पादन केही हदसम्म घटाउन सकिने उनको सुझाव छ । उनले नियमित रुपमा घाँस खान नपाएर पशुचौपाया मरेकोले यसतर्फ ध्यान दिन आग्रह आग्रह गरे ।
कान्जी हाउसमा पशुलाई पानी खुवाउन दुई वटा र घाँस खुवाउन तीन वटा डुढ रहेका छन् । एकपटकमा एउटा डुढमा चारैतिरबाट मिलेर खाए पनि ३० भन्दा बढीले पशुले खाना सक्दैनन् । मिलेर खाने पशु कमै हुन्छन् । कान्जी हाउसमा ४०० गाईगोरुको रेखदेख गर्न तीन जना कर्मचारी खटिएका छन् । तीमध्येका एकजना राकेश भारतीलाई सामान किन्न र ल्याउन ठिक्कै हुन्छ भने अरु दुई जनाले त्यतिधेरै गाईलाई दाना र पानी खुवाउन भ्याएका छैनन् ।
काञ्जी हाउसमा पशुलाई पानी खुवाउनका लागि एउटा मात्रै मोटर जडान गरिएको छ । त्यही मोटर पनि केही दिनअघि मोटर बिग्रिएपछि एक हप्तासम्म पशुचौपायाले पानीसम्म खाना पाएनन् । उपमहानगरले गत माघदेखि सडकमा छाडा छोडिएका गाई, गोरु, खच्चर लगायतका पशुचौपाया कान्जी हाउसमा राख्न सुरु गरे पनि थोरै ठाउँमा धेरै संख्यामा पशुचौपाया भएपछि आहार, बस्ने ठाउँ अभाव भएको कर्मचारीहरु बताउँछन् ।
सत्यपाटी - ।