सूचनाको शक्ति - The Power Of Information

        

दुवै मृर्गौला फेल भएपछि अमितको उपचारमा समस्या, परिवारमा रुवाबासी

बाँके । घरको आर्थिक अवस्था कमजोर भएपछि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका अमित दर्जीको दुवै मृर्गौला फेल भएपछि उपचारमा समस्या भएको छ । वैदेशिक रोजगारीमा जानका लागि स्वास्थ्य परीक्षणका क्रममा डाक्टरले दुवै मृर्गौला फेल भएको रिर्पोट दिएपछि दर्जीलाई उपचार अभावमा समस्या भएको छ ।

बाँकेको खजुरा गाउँपालिका–३ निवासी दर्जी गत कातिक महीनामा वैदेशिक रोजगारी जानका लागि भन्दै मेडिकल परिक्षण गर्ने क्रममा काठमाडौं पुगेका थिए । स्वास्थ्य परिक्षणका क्रममा डाक्टरले दुवै मृगौला फेल भएको बताएपछि उनको परिवारसमेत बिक्षिप्त बनेको छ । उनको परिवारमा रुवाबासी चलेको छ ।

दुवै मृगौला फेल भएपछि उनलाई अहिले उपचारमा आर्थिक अभाव भएको छ । घरको आर्थिक अवस्था निकै नै दयनीय छ । आर्थिक अभावकै कारण नौ महिनादेखि उपचारमा समस्या भइरहेको पीडित दर्जीले बताए । ३० वर्षिय दर्जीलाई अहिले हिँड्डुल गर्नै समस्या भएको छ । छिमेकीहरुले संकलन गरेको रु.५० हजारले सामान्य उपचार गरे पनि थप उपचारमा आर्थिक अभाव भएको उनले बताए ।

हालसम्म करिब रु.चार लाख खर्च भइसकेको उनले बताए । श्रीमानले कमाएर परिवार पाल्ने समयमा आफैं विरामी परेपछि परिवारमा थप संकट परेको उनकी २७ वर्षीया श्रीमती माया दर्जीले बताइन् । मायाले तीन बर्षदेखि खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा काम गर्दै आएकी छन् । आफ्नो कमाईले श्रीमानको औषधि र परिवारको खर्च धान्नै मुस्किल भएको उनले बताइन् ।

श्रीमती मायाले भनिन्, ‘उहाँको डायलोसिस गर्नकै लागि रु.१२ हजार र औषधिमा रु.४ हजार गरी प्रतिहप्ता रु.१६ हजार खर्च हुने गरेको छ । थप उपचारका लागि निकै गाह्रो भएको छ ।’ उनको उपचारमा संलग्न डा.पारस श्रेष्ठले उनलाई मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् । त्यसका लागि उनका सालाले एउटा मृगौला दिन तयार भए पनि प्रत्यारोपण गर्नका लागि आवश्यक रकमको अभाव भएको पीडितले बताए ।

दर्जी परिवारले उनको उपचारमा सहयोगका लागि सबैसँग आग्रह गरेको छ । उनको मृगौला प्रत्यारोपणसँगै थप उपचारका लागि डाक्टरले करिब रु.१५ लाख खर्च लाग्ने बताएपछि आर्थिक अभावकै कारण उपचारमा समस्या भएको दर्जीले बताए । उनले सहयोगका लागि फोन न. ९८०४५४९११६ र एनआइसी एसिया बैंकको खाता नम्बर ‘बी १८७०३८८१७५२४०१’ मा सहयोग गर्न सकिने जनाएका छन् ।

प्रकाशित मिति : २७ श्रावण २०७६, सोमबार १०:३३