सूचनाको शक्ति - The Power Of Information

        

जवान महिलाहरुमा बढ्दै हृदयघात

वाशिङ्टन । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् । पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग सबैभन्दा धेरै वृद्धि भएको पाइएको छ ।

पाँच वर्षको अनुसन्धानमा जवान पुरुषहरुमा हृदयघातको दर केबल ३ प्रतिशतले वृद्धि भएको छ भने यता युवतीहरुमा चाहिँ यही रोग २१ प्रतिशतबाट ३१ प्रतिशत पुगी १० प्रतिशत वृद्धि भएको देखिएको हो । अनुसन्धान प्रमुख मेलिसाका अनुसार हाम्रो जनसंख्या बुढो हुँदै गइरहे पनि युवा बिरामीहरुमा हृदयघात बढी देखिनु असामान्य कुरा हो । यसकारण पनि यो विषयलाई चिन्ताजनक मानिएको उनी बताउँछिन् ।

मुटुले पर्याप्त रगत प्राप्त गर्न नसक्दा नै मानिसलाई हृदयघात हुने गर्दछ । हरेक वर्ष अमेरिकामा मात्र करिब ८ लाख मानिसलाई हृदय सम्बन्धी रोगका कारण हृदयघात हुने गरेको छ जसलाई मृत्युको सबैभन्दा प्रमुख कारण मानिन्छ । विश्वव्यापीरुपमा पनि हृदय सम्बन्धी रोगबाट हुने ८५ प्रतिशत मृत्यु हृदयघात या स्ट्रोककै कारण हुने गरेको विश्व स्वास्थ्य संगठनको भनाइ छ । यसरी अमेरिकामा गरिएको विश्लेषणपछि ३० प्रतिशत अस्पताल भर्ना हुने बिरामी ३४ देखि ५४ वर्षको हुने गरेको पाइएको हो ।

सो समुहमा हृदयघातका कारण भर्ना हुने युवकहरुको दर भने १९९५ देखि २०१४ का बीच कम भएको देखिएको छ तर यता जवान महिलाको संख्यामा भने उल्लेखनीय वृद्धि भएको हो । यसरी यो नतिजालाई वैज्ञानिकहरुले आश्चर्यजनक मानिरहेका छन् र यसको कारणबारे विभिन्न विवाद भइरहेको बताइएको छ । कसैले यसमा मोटोपना जस्ता कारक जिम्मेवार हुन सक्ने अनुमान गरेका छन् भने निद्राको कमी, उच्च रक्तचाप र तनाव लगायतका कारण पनि यस्तो भइरहेको हुन सक्ने बताएका छन् ।

पछिल्लो समय मानिसहरु शारीरिकरुपमा सक्रिय नभएर आफ्नो टेबलमै बढी समय बिताउने गरेकाले पनि शारीरिक अभ्यासको कमीका कारण यस्तो नतिजा निस्किएको बताइएको छ । गत वर्ष प्रकाशित एक जर्नलमा ५५ वर्ष भन्दामुनिका युवामा, पुरुषहरुको तुलनामा महिलाहरुमा हृदयघातको लक्षण बढी देखा पर्ने गरेको बताइएको थियो । तर छाति दुख्ने जस्ता लक्षण देखिए पनि अधिकंश महिलालाई यसबारे थाहा नहुने गरेको बताइएको छ । सीएनएन

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०९:३०