सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली पुलमा सेल्फी खिच्न पर्यटकको भीड

कैलाली । पछिल्लो समयमा कैलालीको चिसापानीमा रहेको कर्णाली पुल आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको छ । विद्यार्थीदेखि अन्य विभिन्न क्षेत्रका मानिसहरु कर्णाली पुलको अवलोकन गर्न आउने गरेका छन् । सुदूरपश्चिम प्रदेशका जिल्लाबाट मात्रै नभई अन्य प्रदेशबाट समेत विद्यार्थीहरु पुलको अवलोकन भ्रमण तथा पिकनिकका कार्यक्रमका लागि चिसापानी आउने गरेका हुन् ।

कर्णाली पुलको डिजाइन पनि आकर्षक भएका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ । कर्णाली पुलले पूर्व–पश्चिम राजमार्ग अन्तरगत कैलाली र बर्दिया जिल्लालाई जोडेको छ । जुन सुदुरपश्चिम प्रदेशलाई देशका अन्य भागसँग जोड्ने मुख्य मार्ग हो । यो पुल सन् १९९३ मा बनेको हो । पुलको बीच भागमा एउटा ठूलो खम्बा छ र त्यसमा स्टीलका तारहरु बाँधेर ट्रसलाई अड्याइएको छ ।

पुल पाँच सय मिटर लामो तथा १० मिटर चौडा छ । पुलको खम्बाबाट एकपट्टी ३२५ मिटर लम्बाई छ भने अकातर्फ १७५ मिटर लम्बाई छ । यसको निर्माणमा ३,८७० टन स्टील प्रयोग गरिएको छ । जसका निर्माण जापानको कावासाकी हेवी इन्डस्ट्रिजले गरेको हो । ‘खासगरी युवायुवतीहरु यस पुलमा सेल्फी खिच्नैका लागि पनि पुग्ने गरेका छन्,’ चिसापानीका व्यापारी कर्ण बुढाले भने । उनले २ वर्षयता यो क्रम निकै बढेको बताए ।

यस्तै कतिपयले त कतै यात्रामा जाँदासमेत एकछिन गाडी रोकेर भए पनि पुलमा फोटो खिचाउने गरेको चिसापानीका अर्का व्यापारी रामचन्द्र सिंहले बताए । ‘कर्णाली पुलमा सेल्फी खिच्नेको भीड हुनुका साथै पुल हेर्न आउने मानिसका कारण यहाँको व्यापार बढेको छ,’ उनले भने, ‘कर्णालीका माछा र पुल नै चिसापानीका आकर्षण हुन् ।’ व्यापारी सिंहले केटाकेटीदेखि बुढाबुढीसम्म कर्णाली पुल हेर्न आउने गरेको बताए ।

चिसापानी घुम्ने क्रममा भेटिएका सुर्खेतका रेशम मगरले भने, ‘यो पुल निकै आकर्षक र फरक प्रविधिको छ भनेर हेर्न आयौँ, ठाउँ पनि रमाइलो रहेछ ।’ उनले आफूसहित १० जनाको समूहमा क्याम्पस पढ्ने साथीहरु घुम्न आएको बताए । ‘‘कर्णाली पुलमा रमाउनुका साथै ताजा माछा पनि खान पाइन्छ भनेर धेरै मानिस यहाँ आउने गरेका छन्,’ चिसापानी प्रहरी चौकीका ईन्चार्ज दिपेन्द्र केसीले भने, ‘पुलमा फोटो खिच्न मात्रै दैनिक सयौं मानिस आउने गरेका छन् ।’

विद्यार्थी, कर्मचारीसँगै पारिवारिक भ्रमणमा समेत धेरै मानिस आउने गरेको उनले बताए । खासगरी सुदूरपश्चिम प्रदेश लगायत कर्णाली प्रदेश र ५ नम्बर प्रदेशका स्थानीय पुल हेर्न आउने गरेको प्रहरी निरिक्षक केसीले बताए । उनका अनुसार विभिन्न चाडवाडका वेला र कर्णालीमा पानीको मात्रा बढेपछि पुल हेर्नको संख्या बढने गरेको छ । खासगरी असोजदेखि मंसिरसम्म कर्णाली पुल हेर्न आउनेको संख्या धेरै हुने गरेको स्थानीय व्यापारी बताउँछन् ।

सामाजिक सञ्जालमा पोष्ट गर्नकै लागि पनि धेरै युवा युवतीहरु कर्णाली पुलमा फोटो खिचाउने गरेका छन् । चिसापानीमा बालबच्चा सहित भेटिएका धनगढीका रामप्रसाद जोशीले भने, ‘धेरै पहिलेदेखि नाती–नातिनाले कर्णाली पुल हेर्न जाने भनेपछि अहिले स्कुलको छुट्टी भएकाले यहाँ आयौँ, राम्रो रहेछ ।’ उनले चिसापानीमा अरुभन्दा पनि पुल हेर्नलायक रहेको बताए । कर्णाली चिसापानी कर्णाली नदीले पहाड छिचोलेर तराईमा निस्कने स्थान हो । यो स्थान कैलाली जिल्लाको साविक सुँगरखाल गाविस र बलिया गाविसको सिमानामा पर्दछ ।

प्रकाशित मिति : २४ श्रावण २०७६, शुक्रबार ०७:०६