सूचनाको शक्ति - The Power Of Information

        

संसदमा उर्जामन्त्री बोल्दा बोल्दै बत्ती निभेपछि…

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बिहीबार संसदमा बत्ती निभेको छ । जुम्लामा विद्युतीकरणको विषयमा सांसद गजेन्द्र महतले उठाएको प्रश्नको जवाफ दिन रोष्टम पुगेका मन्त्री पुन बोल्दा बोल्दै बत्ती निभेको हो । मन्त्री पुनलाई प्रश्न सोध्ने क्रममा केही सांसदले देशको अवस्था उक्त संयोगले दर्शाइदिएको बताए ।

सुरुमै प्रश्न राख्न पुगेका नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले विद्युतसँग सम्बन्धित मन्त्री बोल्दा संसदमा पटक–पटक बत्ती जानुले विद्युतको अस्तव्यवस्ता देखाएको बताए । उनले भने, ‘विद्युत आपूर्तिसँग सम्बन्धित कुरा उठिरहँदा संसदमा विद्युत आपूर्ति पटक–पटक बन्द हुनुले नै देखाउँछ । देशको विद्युत आपूतिको अस्तव्यवस्तता कस्तो छ ?’

अर्का सांसद कृष्णगोपाल श्रेष्ठले परिस्थितिले देशभरिको स्थिति जताइदिएको भन्दै ऊर्जामन्त्रीको ध्यान आकृष्ट गराए । संसदमा उनको भनाइ थियो, ‘आजै गजब भयो । विद्युत् र जलस्रोत मन्त्री बोलिरहँदा ठ्याक्कै बत्ती ठ्याक्कै निभ्यो । आजै जस्तै कहिल्यै भएको थिएन । देशभरिको स्थितिका बारेमा संसदमार्फत् जानकारी दिइएको हुन सक्छ !’ प्रश्न गर्ने मध्य एक सांसद लक्ष्मी परियारले सदनमा तस्बिर आफैं बोलेको बताइन् ।

उनले भनिन्, ‘धेरै ठाउँमा लेखेको देख्छु, तस्बिर आफैं बोल्छ नो क्याप्सन ! आज संसदमा तस्बिर आफैं बोलेको छ ।’ संसदको बत्ती लोडसेडिङ कारण नभइ एमसिभी झरेर निभेको स्पष्टिकरण सांसद पदम गिरीले दिए । उनले उज्यालो नेपालका लागि पहल कदमी लिइरहेको भन्दै मन्त्री पुनलाई धन्यवाद दिए । उनले भने, ‘एमसिभी गिरेका कारण विद्युत आपूर्ति असहज भयो । तर, लोडसेडिङ भनेर कुरा उठाइयो । यस्ता हल्काफुल्का विषयले मर्यादा घटाउँछ ।’

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका थिए । सांसद महतको प्रश्नको जवाफ दिँदै मन्त्री पुनले जुम्लाको समस्या समाधानका लागि पहल गरिरहेको बताए ।

उनले जुम्लामा बत्ती बाल्न तत्काल ३०० केभीएको डिजेल प्लान्ट पठाउने तयारी भइसकेको बताए । जुम्लामा सञ्चालित २४० किलोवाटको लघु जलविद्युत आयोजना बिग्रिएकाले बत्ती नबलेको हो । मन्त्री पुनले उक्त आयोजना मर्मत सम्भार गर्ने र जुम्लासहित कर्णाली प्रदेशमा केन्द्रीय प्रशारण लाइन पुर्याउन काम सुरु भइसकेको पनि जानकारी गराए ।

सांसद महतको जिज्ञासाको सम्बोधन गर्दै उनले हटलाइन सेवा मार्फत जुम्लाका उपभोक्ताबाट पावर प्लान्ट बिग्रेको जानकारी आफूले पाएको तर सांसद महतले आफूसँग भेट्न गरेको प्रयास बारे जानकार नभएको स्पष्ट पारे । ‘जुन आवेगमा राख्नुभयो त्यही उचाईको आक्रोशमा नराखेर सामान्य ढंगले ध्यानाकर्षण गराउँदा पनि हुन्थ्यो’, मन्त्री पुनले भने ।

प्रकाशित मिति : २३ श्रावण २०७६, बिहीबार १६:५२