सूचनाको शक्ति - The Power Of Information

        

विपद् पूर्वानुमानका लागि कोहलपुर र बैजनाथमा अत्याधुनिक सेन्सर जडान

बाँके । विपद् ब्यवस्थापनका लागि बाँकेको कोहलपुर र बैजनाथमा सेन्सर जडान गरिएको छ । विपद्सम्बन्धी पूर्व जानकारी दिन बाँकेका दुई स्थानीय तहमा अत्याधुनिक सेन्सर जडान गरिएको हो । स्थानीय तहसँगको समन्वयमा ताइवानी संख्था नेशनल साइन्स एण्ड टेक्नोलोजी सेन्टर फर डिजास्टर रिडक्सन (एनसिडिआर)को आर्थिक सहयोगमा कोहलपुर र बैजनाथका १२ स्थानमा सेन्सर जडान गरेको हो ।

जडान गरिएका सेन्सरलाई नियन्त्रण गर्नका लागि कोहलपुर नगरपालिका परिसरमा प्राविधिक कक्षसमेत स्थापना गरिएको छ । सेन्सरबाट प्राप्त सूचनाहरुलाई अध्ययन गर्दै सोही कक्षबाट विपद् सम्बन्धी पूर्वानुमान लगाउन सकिने एनसिडिआरका निर्देशक डा.चेङ होङले जानकारी दिए । एनसिडिआरका निर्देशक डा.चेङ होङका अनुसार सेन्सरले विपद् आउनुअघि साइरनमार्फत जानकारी दिनेछ ।

सेन्सरमार्फत विपद्सम्बन्धी सबै सूचना संकलन गरी सर्वसाधारणलाई जानकारी दिने व्यवस्थासमेत मिलाइएको छ । मोवाइल एप्लिकेसनमार्फत मोवाइलबाटै जानकारी लिन सकिने उक्त प्रविधिले सेन्सरबाट ३ रेक्टर स्केलभन्दा बढीको भूकम्प आउँदा, वर्षाको पानी र हावाहुरीसमेत मापन गर्ने जनाइएको छ । करिब ३ महिना लगाएर दुईवटा स्थानीय तहमा सेन्सर जडान गरिएको कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले जानकारी दिए ।

प्राकृतिक विपद् भूकम्प, बाढी, डुवान, वर्षा र हावाहुरीबारे पूर्वसूचना प्रणालीका लागि कोहलपुर नगरपालिकाका ६ स्थान र बैजनाथ गाउँपालिकाकाका ६ ठाउँमा सेन्सर जडान गरिएको मेयर लुटबहादुर रावतले बताए । बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचालले सेन्सर जडानपछि विपद्बाट हुने सम्भावित जोखिम न्यूनीकरणमा मद्दत पुग्ने बताए ।

उनले भूकम्प, बाढी र विपद्बारे पूर्व जानकारी दिन अत्याधुनिक मेसिन जडान गरिएकोमा खुसी ब्यक्त गरे । सेन्सर जडानका लागि कोहलपुर नगरपालिकाका प्रमुख रावत र बैजनाथ गाँउपालिकाका प्रमुख रुचाल केही समयअघि ताइवान पुगेर ताइवानी संस्था एनसिडिआरसँग सहमति गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलवार २०:१७