बाँके । सिलबन्दी गरेर विक्रीका लागि बजारमा पठाइएको प्रशोधित खानेपानीको बोतलमा कुहिएको पात भेटिएपछि पानी उद्योगको चरम लापर्वाहीको रहस्य खुलेको छ । नेपालगन्जबाट उत्पादन हुँदै आएको ‘क्रिष्टिलो’ खानेपानीको सिलबन्दी बोतलमा कुहिएको पात भेटिएपछि उद्योगले पानी प्रशोधनका क्रममा गर्ने लापर्वाही बाहिर आएको हो ।
प्रसोधन गरी बजारमा ल्याइने दाबी गरे पनि कुहिएको पातसहित पानीको बोतल उपभोक्तासम्म पुग्दा पानी उद्योगको ‘प्रशोधन’को चरम लापर्वाही देखिएको छ । उपचारका क्रममा भेरी अस्पतालमा आएका विरामीका आफन्त डिलप्रकाश घर्तीमगरले पिउन भन्दै किनेको ‘क्रिष्टिलो’ ब्राण्डको पानीको बोतलमा कुहिएको पात भेटिएको थियो ।
सल्यानबाट विरामीको उपचारमा नेपालगन्ज आएका घर्तीमगरले भने, ‘पिउनका लागि ‘क्रिष्टिलो’ ब्राण्डको पानी किनेर ल्याए, अस्पतालकोे इमरजेन्सीमा पुगेर पानी पिउन लाग्दा बोतलमा कालो देखे हेर्दा कुहेको पात रहेछ ।’ उनले उद्योग सञ्चालकलाई समेत सम्पर्क गरेर जानकारी गराउँदा ‘प्राविधिक त्रुटी हुनसक्छ’ भन्ने जवाफ मात्र पाएको बताए ।
उद्योग सञ्चालक चन्द्रकान्त आचार्यले प्राविधिक त्रुटीका कारण भएको हुनसक्ने बताए । उनले बोतल फिलिङ्गको बेलामा विद्युत अनियमिता हुँदा यस्तो समस्या आउने दाबी गरे । उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्ष वसन्त गौतमले पानी उद्योगले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्ने गरी उत्पादन गरेको पानी ल्याव परिक्षण नै नगरी बजारमा पठाउने गरेको पाइएमा उपभोक्ताको उजुरीको आधारमा कारवाही हुने बताए ।
गत आर्थिक वर्षमा १५ बढी पानी उद्योगमा उपभोक्ताले गरेको उजुरीको आधारमा सिल गरी कारवाही गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँकेका खाद्य निरीक्षक नेत्रा बोगटीले खाद्य ऐन विपरित उत्पादित वस्तु बजारमा भेटिए वा उपभोक्ताले उजुरी गरेको खण्डमा त्यस्ता उद्योगलाई उपभोक्ता संरक्षण ऐन बमोजिम कारवाही हुने जानकारी दिइन् ।
सत्यपाटी - ।