सूचनाको शक्ति - The Power Of Information

        

जम्मू–कश्मीरमा आक्रमणको जोखिम, सरकारद्वारा सुरक्षा सतर्कता जारी

कश्मीर । भारत प्रशासित जम्मू–कश्मीरमा केही दिनयता डर र भयको वातावरण छ । प्रदेश सरकारले आक्रमणको आशंका रहेको भन्दै तिर्थयात्री तथा पर्यटकका लागि सुरक्षा सर्तकता जारी गरेसँगै जम्मू–कश्मीरमा भयको अवस्था सिर्जना भएको हो ।

अमरनाथ यात्रामा रहेका हजारौँ हिन्दु तिर्थयात्री तथा पर्यटकहरुलाई चाँडो कश्मीर छोड्न भनिएको छ । अहिले तिर्थयात्री तथा पर्यटकहरु कश्मीरबाट फर्किरहेका छन् । भारतीय अधिकारीले आतंककारी आक्रमणको जोखिम रहेको भन्दै सुरक्षा सर्तकता जारी गरेको हो ।

पाकिस्तानको साथ पाएका चरमपन्थीले अमरनाथ यात्रामा रहेका हिन्दु तिर्थयात्रीलाई लक्षित गरी आक्रमणको तयारी गरेको सरकारी अधिकारीले बताएका छन् । तर पाकिस्तानले त्यसलाई ठाडै अस्वीकार गरेको छ ।

अमरनाथ तिर्थयात्रा गएको जुलाई १ देखि सुरु भएको हो । यो तिर्थयात्रा ४५ हजारसम्म जारी रहन्छ । हरेक वर्ष तीन लाख तिर्थयात्रीले अमरनाथको यात्रा गर्ने गरेका छन् । कश्मीर सरकारले सबै यात्रीलाई जति सक्दो चाँडो फिर्ता हुन भनेको छ ।

सरकारको सतर्कता सूचनापछि झण्डै २० हजार हिन्दु तिर्थयात्री तथा पर्यटक एमव् दुई लाख भन्दा बढी श्रमिकहरु कश्मीरबाट फिर्ता हुने तयारीमा रहेको सरकारी अधिकारीले समाचार संस्था रोयर्टसलाई बताएका छन् ।

कश्मीरमा सुरक्षा सतर्कता पनि बढाइएको छ । हाल केन्द्र सरकारले त्यहा १० हजार थप सुरक्षाकर्मी खटाएको छ । शनिबार बेलायत तथा जर्मनीले पनि आफ्ना नागरिकका लागि कश्मीरको भ्रमण नगर्नका लागि सुरक्षा सतर्कता जारी गरेको छ ।

सरकारले जारी गरेको सुरक्षा सतर्कताका कारण मुख्य पर्यटकीय सिजनमा प्रभाव परेको स्थानीय नेता तथा पर्यटन व्यवसायीले बताएका छन् । कश्मीरको अर्थव्यवस्थाको ठूलो हिस्सा पर्यटन क्षेत्रले ओगट्ने गरेको छ । पछिल्लो घटनाक्रमले यो वर्षको कश्मीर पर्यटन व्यवसाय पूर्ण रुपमा तहसनहस भएको स्थानीय व्यवसायीको भनाई छ ।

प्रकाशित मिति : १९ श्रावण २०७६, आइतवार १०:२२