सूचनाको शक्ति - The Power Of Information

        

प्रहरीलाई ओत लाग्न कतै बिट नभएर हैरान, कतै झाडीमा बेवारिसे

बाँके । नेपालगन्ज बजार क्षेत्रका भित्रि सडकहरु फराकिला पारिँदै छन् । जीर्ण सडक, पुलपुलेसा र नाला निर्माणको काम लगातार चलिरहेको छ । शहरमा विकासको गतिमा तीव्ररुमा अघि बढिरहेको छ । एकपछि अर्को गरी सुरक्षा चुनौति पनि थपिँदै गएको छ । सुरक्षा चुनौतिलाई ध्यान दिएरै नेपालगन्जका मुख्य चोकहरुमा प्रहरी बिट राखिएका छन् ।

चोकचोकमा राखिएका रंगरोगनसहित चिटिक्क पारेर राखिएका प्रहरी बिट भने बेकामे बनेका छन् । बिटमा प्रहरी छैनन् । सडक निर्माणका क्रममा कतिपय बिटहरु ढालेर झाडीमा फालिएको छ । बिटको सदुपयोगमा अहिलेसम्म कसैले चासो देखाएको छ । स्थानीयलाई भने सडकमा प्रहरीका गाडी दौडिएपछि मात्रै सुरक्षा दिइरहेको महसुस हुन्छ ।

नेपालगन्जका कारकाँदो, न्यूरोड, त्रिवेणी मोड, भेरी अस्पताल अगाडि, बाँके गाउँ, घरबारी टोलका प्रहरी बिट रित्तै छन् । नेपालगन्जको सेतु विक चोकमा चिटिक्क परेको प्रहरी बिट छ तर त्यहाँ एक महीनायता प्रहरी छैनन् । वडा प्रहरी कार्यालयले मुख्यमुख्य बिटमा मात्रै प्रहरी राख्ने गरेको छ ।

दरबन्दी अभावका कारण सबै बिटमा प्रहरी राख्न नसकिएको वडा प्रहरी कार्यालय नेपालगन्जका इन्चार्ज प्रहरी निरीक्षक हरिबहादुर बस्नेतको भनाई छ । धम्बोझी, वीपीचोक, पुष्पलाल चोक, त्रिभुवनचोक, पुरैना, बसपार्कको प्रहरी बिट भने खाली छैनन् । वडा प्रहरीका अनुसार न्यूनतम् संख्यामा ड्यूटीमा खटाउन पनि कम्तीमा ४० जना प्रहरी अपुग रहेका छन् ।

नेपाल खानेपानी संस्थान नेपालगन्ज कार्यालय नजिकै बेवारिसे अवस्थामा प्रहरी बिट झाडीमा फालिएको छ । प्रहरीलाई ओत लाग्न कतै बिट नभएर दिनरात घाम, पानी, धुलोले हैरान ब्यहोर्नुपरेको छ भने कतै भएका बिटहरुको पनि सही सदुपयोग हुन सकेको छैन । सडक तथा विभिन्न चोकमा डिउटीमा खटिने प्रहरीलाई यसको सदुपयोगले थोरै भए पनि राहत दिने थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६, शुक्रबार १८:३४