सूचनाको शक्ति - The Power Of Information

        

भेरीमा एन्टिरेबिज भ्याक्सिन अभाव, बिरामी महंगो शुल्क तिर्न बाध्य

बाँके । भेरी अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिनको अभाव भएको छ । एन्टिरेबिज भ्याक्सिन अभावले बिरामी प्रभावित भएका छन् । रेबिजविरुद्धको भ्याक्सिन अभाव भएपछि सर्वसाधारण महँगो शुल्क तिरेर उपचार गराउन बाध्य भएका छन् ।

अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिँदै आएको थियो । अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएपछि बाहिरको क्लिनिकमा गएर महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणहरु बताउँछन् । अस्पतालमा आउने बिरामी बढे पनि भ्याक्सिनको मात्रा नबढाउँदा समस्या भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.रुपानन्द अधिकारीले बताए ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा स्वास्थ्य सेवा विभाग र क्षेत्रीय मेडिकल स्टोरले भ्याक्सिन सप्लाईमा कोटा प्रणाली लगाउँदा सेवा प्रभावित भएको हो । स्वास्थ्य सेवा विभागले भ्याक्सिन पठाउन ढिलाइ गर्दा अभाव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा.अधिकारीको भनाई छ ।

साउनको शुरुवातदेखि नै अस्पतालमा रेबिजविरुद्धको भ्याक्सिन सकिएको उनले जानकारी दिए । भ्याक्सिन बोक्ने एसीसहितको भ्यान बिग्रिएकाले पनि भ्याक्सिन ल्याउन ढिलाइ भएको भन्दै डा.अधिकारीले केही दिनभित्रै सेवा उपलब्ध हुने बताए । अस्पताललाई मासिक १५ सयदेखि दुई हजार भायल एन्टिरेबिज भ्याक्सिन आवश्यक पर्छ ।

यसअघि एकैपटक आपूर्ति हुँदै आएकोमा पछिल्लो समय सीमित मात्रामा आपूर्ति भएको अस्पतालले बताएको छ । जनावरको टोकाइबाट लाग्ने प्राणघातक रोग रेबिजको भ्याक्सिन अभाव हुँदा आमनागरिक समस्यामा परेका छन् । समयमा भ्याक्सिन लगाउनेबाहेक रेबिज लागिसकेपछि मृत्यु टार्न सक्ने उपचार सम्भव छैन ।

यस्तो संवेदनशील र निर्विकल्प भ्याक्सिनको अभाव भएमा आकस्मिक रूपमा भवितव्यमा पर्ने जनावरको टोकाइका बिरामीको जीवनसँग खेलबाड हुने निश्चित भएको सेवाग्राही गोपाल खत्रीले बताए । अस्पतालले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिइने भ्याक्सिन सकिएपछि नीजि क्लिनिकमा गएर लगाएको राप्तीसोनारी गाउँपालिका–६ टेपरीका श्याम थारुले बताए ।

मानिसलाई कुकुर, स्याल, बाँदरलगायत जनावरले टोकेमा रेबिजविरुद्धको भ्याक्सिन तुरुन्त लगाउनुपर्ने हुन्छ । भेरी अस्पतालमा दैनिक १५ देखि २० जना कुकुरले टोकेका बिरामी आउने गरेको अस्पताल प्रशासनले जनाएको छ । निजी क्लिनिकमा एउटा सुईको कम्तीमा रु.५०० पर्छ । कुकुरले टोकेका बिरामीले चार वटा भ्याक्सिन लगाउनुपर्ने हुन्छ ।

भेरी अस्पतालमा एन्टीरेबिज भ्याक्सिन अभाव भएको यो पहिलो पटक भने होइन । प्रायः यस अस्पतालमा भ्याक्सिनको अभाव भइरहेकै हुन्छ । भ्याक्सिन अभावले सदरमुकामका मात्र होइन कुकुर, बिरालो, स्यालको टोकाइबाट पीडित भएर ग्रामीण क्षेत्रबाट सदरमुकाम धाएर सरकारी अस्पतालमा भ्याक्सिन खोज्दै आउनेहरु पनि निराश भएर फर्कने गरेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार ०८:२४