सूचनाको शक्ति - The Power Of Information

        

जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुँदै

बझाङ । बझाङमा आइटी फर्म हिमालयाज आइसीटी प्रतियोगिता–२०१९ हुने भएको छ । आइटी फर्म हिमालयाज आइसीटीको आयोजनामा दुई दिने जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जिल्लाभित्र रहेका सामुदायिक बिद्यालयहरुको सहभागिता रहने आयोजकले जनाएको छ । आगामी कार्तिक ७ र ८ गते हुने प्रतियोगितामा एसइइमा सामेल नभएका विद्यार्थीहरुमात्र सहभागी हुन पाउने आइटी फर्म हिमालयाज आइसीटीका अध्यक्ष अक्कल बिष्टले जानकारी दिए ।

उनका अनुसार बझाङका सामुदायिक विद्यालयमा अध्यनरत अन्डर एसइइका बिद्यार्थीहरुलाई लक्षित गरी स्थानीय तह, संघसंस्था र स्वदेश तथा बिदेशमा बस्नु हुने बझाङबासीको सहयोगमा ‘आइटी फर्म हिमालयाज’ बुङ्गल विकास समाजद्वारा आयोजना गरिएको हो । आइटी फर्म हिमालयाज आइसीटीले बिगत केहि बर्षदेखि हाजिरी जवाफ प्रतियोगिता गर्दै आएको छ । सूचना र प्रविधिको वर्तमान समाजमा विद्यार्थीहरुको बौद्धिक ज्ञान विकास गरी उनीहरुमा शिक्षाप्रतिको सकारात्मक धारणा जगाउन प्रतियोगिता आयोजना गरिएको अध्यक्ष बिष्टले बताए ।

विद्यालयभन्दा बाहिरबाट सहभागिता जनाउन नपाउने, टिममा चार जना सहभागी हुनुपर्ने, एसइइमा सामेल नभएको, जिल्लाभित्रै स्थायी बसोबास भई जिल्लाभित्रकै सामुदायिक तथा नीजि विद्यालयमा अध्ययनरत हुनुपर्ने मापदण्ड राखिएको छ । आयोजकका अनुसार १५ सय रुपैयाँ टिम दर्ता शुल्क तोकिएको छ । साथै प्रतियोगितामा प्रथम हुनेलाई कपसहित चार वटा ल्यापटप, द्वितिय र तृतियलाई कपका साथै प्रमाण पत्र र उचित पुरस्कारको ब्यवस्था गरिएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७६, मंगलवार ०८:०६