सूचनाको शक्ति - The Power Of Information

        

पहिलो पटक एकल पुरुषलाई भत्ता !

सत्यराज सिंह । बझाङ । बझाङमा पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता दिइएको छ । जयपृथ्वी नगरपालिका वडा नं. ७ वडा कार्यालयले पहिलो पटक एकल पुरुषलाई प्रोत्साहन भत्ता दिएको हो । राज्यले एकल महिला, दलित, बालबालिका लगायतका लक्षित वर्गलाई प्रोत्साहन भत्ता विरण गर्दै आएको भए पनि एकल पुरुष भने सेवाबाट बञ्चित बन्दै आइरहेका थिए ।

राज्यले एकल पुरुषका समस्या समाधान गर्नका लागि ठोस नीति र पहल नभएको र एकल पुरुषका विभिन्न समस्या समाधान गर्ने उद्देश्यका साथ वडामा रहेका प्रोत्साहन भत्ता दिएर सम्मान गरिएको वडा अध्यक्ष हरिचन्द जोशीले जानकारी दिए । वडामा रहेका एकल पुरुषको तथ्याङ्क संकलन गरि प्रतिव्यक्ति २५ सय रुपैयाँका दरले रकम वितरण गरिएको अध्यक्ष जोशीको भनाइ रहेको छ ।

राज्यले एकल महिला, जेष्ठ नागरिक, बालबालिकालाई सामाजिक सुरक्षा भत्ता दिँदै आइरहेको भए पनि आफुहरुलाई बञ्चित गरेको एकल पुरुष लालबहादुर बिकले बताए । स्थानीय सरकारले आफ्ना समस्या बुझेर सम्मान गरि प्रोत्साहन भत्ता दिएकोमा ६० वर्षीया पदमबहादुर बमले खुसी व्यक्त गरे । उनले यसलाई निरन्तरता दिनमा जयपृथ्वी नगरपालिका कार्यालयलाई अनुरोध गरेका छ्न ।

हाललाई ७ नम्बर सुबेडामा मात्रै समेटिएको र अन्य वडाहरुमा समेत एकल पुरुषलाई प्रोत्साहन भत्ता अघि बढ्ने नगरपालिका मेयर बिरेन्द्र खड्काले बताए । एकल पुरुषको घरदैलोमै गएर उनीहरुलाई सम्मान गरिएको वडा कार्यालयका सचिव कुम्भराज सुवेदीले जानकारी दिए । आफ्ना नागरिकलाई स्थानीय सरकारले घरदैलोमा पुगेर सेवा दिन लागेको नगरपालिकाका उपमेयर जुना जाग्रीले बताइन् । नगरपालिकामा करिब ३०० एकल पुरुष रहेका छन् ।

प्रकाशित मिति : १३ श्रावण २०७६, सोमबार ०९:२७