सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालमा मुटुरोग उपचार सेवा प्रभावित

बाँके । मुटुरोग उपचारका लागि २०७४ असारदेखि क्थाथ ल्याब सेवा सुरु गरेको भेरी अस्पतालको सेवा पछिल्लो समयमा प्रभावित हुँदै गएको छ । विशिष्टिकृत स्वास्थ्य सेवा अन्तरगतको मुटुरोग उपचार सेवा सञ्चालनका स्थापना गरिएको भेरी अस्पतालको क्थाथ ल्याब सेवा बजेट र जनशक्तिको अभावका कारण प्रभावित हुँदै आएको हो ।

भेरी अस्पताल मुटुरोगको उपचार सेवा दिने नेपालको एकमात्र पूर्ण सरकारी अस्पताल हो । रु.६ करोड ५० लाखको लागतमा अस्पतालमा क्थाथ ल्याब मेसिन जडान गरिएको छ । तर क्याथ ल्याव सञ्चालन गर्न अस्पतालमा नवौं तहका एक जना मात्रै मुटुरोग बिशेषज्ञ चिकित्सकको दरबन्दी खाली भएसँगै सेवा प्रभावित हुन थालेको छ ।

अस्पतालमै दरबन्दी भएका नवौ तहका मुटुरोग विशेषज्ञ डा.कृष्ण अधिकारीको बढुवा भएर एघारौ तह (खुल्ला प्रतिस्पर्धाबाट)मा पुगेपछि नवौं तहको मुटुरोग विशेषज्ञ पद खाली भएको छ । बढुवा भएका डा.अधिकारीको समायोजनका क्रममा बीर अस्पतालमा सरुवा भइसकेको छ । तर स्वास्थ्य मन्त्रालयले उनको ठाउँमा मुटुरोग विशेषज्ञ नपठाएपछि मुटुरोग उपचार सेवा प्रभावित हुने निश्चित भएको छ ।

सेवा सञ्चालन गर्नकै लागि भेरी अस्पतालले मेडिकल अफिसर, स्टाफ नर्स र कार्यालय सहयोगी गरी १६ जना कर्मचारी करारमा छन् । सेवा सञ्चालनका लागि बजेट निकासा भएर नआएको भन्दै अस्पताल ब्यवस्थापनले करारमा राखिएका मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई यो महीनादेखि तलबभत्ता दिन नसक्ने जनाएको छ । बजेट र जनशक्ति अभावले क्याथ ल्याब सेवा सञ्चालनमा समस्या भएको अस्पतालका प्रमुख डा.रुपानन्द अधिकारीले बताए ।

‘क्याथ ल्याव सञ्चालन भएको दुई बर्ष बितिसक्दा पनि आवश्यक जनशक्ति र बजेटको ब्यवस्था नहुँदा मुटुरोग उपचार सेवा संकटमा परेको छ,’ अस्पतालका प्रमुख डा.अधिकारीले भने, ‘क्याथ ल्याव सेवामा कार्यरत मेडिकल अफिसर, स्टाफ नर्सहरुलाई तलब भत्ता दिन र अत्यावश्यकीय सामाग्रीहरु खरिद गर्न बार्षिक रु.१ करोड ५० लाख बजेट आवश्यक पर्छ । यसका लागि सरकारले समयमै जनशक्ति र बजेट व्यवस्था गर्नुपर्छ ।’

‘मुटुरोग जस्तो अत्यन्त संवेदनशील उपचार सेवामा बजेट र जनशक्ति नहुँदा यसअघि पनि तनावपूर्ण अवस्थामा काम गर्नुपर्ने बाध्यता थियो,’ सरुवा भएका अस्पतालका प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा.कृष्ण अधिकारीले बताए । अस्पतालले मुटुरोगका बिरामीहरुको उपचारलाई थप प्रभावकारी बनाउन एन्जियोप्लाष्टि, एन्जियोग्राफी, अस्थायी पेश मेकर राख्ने सेवा पनि सञ्चालन गर्दै आएको छ ।

अस्पतालले हालसम्म १०० जनाभन्दा बढीको एन्जियोग्राफी, १८ जना बिरामीको एन्जियोप्लाष्टि तथा ८ जना बिरामीमा अस्थायी पेश मेकर राखेर उपचार गरिसकेको छ । भेरी अस्पतालले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय ह्दयरोग केन्द्रले लिने बराबरकै शुल्क लिएर बिरामीहरुलाई मुटुरोगको उपचार सेवा प्रदान गर्दै आएको छ । अस्पताल मुटुरोगसँग सम्बन्धित दैनिक ४० जना बिरामी उपचारका लागि आउने गरेको जनाएको छ ।

तीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी रहेका छन् । अस्पतालमा मुटुको नशा साँघुरो भएका र हृदयघात सम्बन्धी समस्या भएका करिब १० प्रतिशत बिरामीहरुका साथै जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको बरिपरी पानी भरिएका, मुटुको बाथ रोगसम्बन्धी समस्या भएका बिरामीहरु रहेको अस्पतालले जनाएको छ । अस्पतालले करारमा राखेका मेडिकल अफिसर, स्टाफ नर्स गरी १६ जनालाई २०७६ साउनदेखि तलबभत्ता दिन नसक्ने पत्र थमाएपछि उपचार सेवा थप प्रभावित हुने निश्चित भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७६, आइतवार १४:१५